२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

सर्पदंशबाट ८ वर्षीया बालिकाको मृत्युबारे बीपी प्रतिष्ठानको स्पष्टीकरण, ‘गम्भीर अवस्थामा ल्याइएको थियो’

धरान । इटहरी–१ निवासी ८ वर्षीया बालिका अश्वाना चौहानको सर्पदंशबाट भएको मृत्युको विषयमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्पष्टीकरण सार्वजनिक गरेको छ।

प्रतिष्ठानका अनुसार भदौ २४ गते साँझ ६ः४७ बजे देब्रे हातमा सर्पले टोकेपछि बालिकालाई उपचारका लागि बच्चा आकस्मिक कक्षमा ल्याइएको थियो।

आकस्मिक कक्षमा परीक्षण गर्दा बालिकाको अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ। उनको मुटुको धड्कन चलिरहेको र आफैँ श्वासप्रश्वास गरिरहेकी भए पनि उनी अर्धचेत अवस्थामा थिइन्। बोलाउँदा प्रतिक्रिया नदिने तथा आँखाले नहेर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।

बालिकाको गम्भीर अवस्थालाई ध्यानमा राख्दै चिकित्सक टोलीले तत्काल आपत्कालीन उपचार सुरु गरेको प्रतिष्ठानले जनाएको छ।

उपचारका क्रममा चिकित्सकहरूले श्वासप्रश्वास सहज बनाउन इन्टुबेसन गर्नुपर्ने आवश्यकता रहेको विषयमा अभिभावकसँग परामर्श गरेका थिए। त्यसपछि एन्टी स्नेक भेनम (एएसभी) र नर्मल सलाइन सुरु गरिएको तथा अभिभावकको अनुमतिपछि बालिकालाई इन्टुबेट गरिएको प्रतिष्ठानको भनाइ छ।

उपचारकै क्रममा बालिकाको मुटुको धड्कन अचानक कम भएपछि चिकित्सक टोलीले तत्काल सिपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरेको थियो। त्यसपछि मुटुको धड्कन पुनः सामान्य अवस्थामा फर्किएको प्रतिष्ठानका प्रवक्ता प्रा. डा. शमशेर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिष्ठानका अनुसार त्यसबेला बाल सघन उपचार कक्ष (पीसीआईयू) मा बेड उपलब्ध थिएन। बालिकाको ज्यान जोगाउन थप उच्चस्तरीय सघन उपचार आवश्यक रहेको भन्दै उक्त अवस्थाबारे आफन्तलाई जानकारी गराइएको थियो।

त्यसपछि सोही दिन साँझ ७ः१५ बजे अक्सिजनसहितको एम्बुलेन्समा ब्याग एन्ड मास्कमार्फत अक्सिजन दिँदै बालिकालाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको प्रतिष्ठानले स्पष्ट पारेको छ।

प्रतिष्ठानले बालिकालाई अस्पताल ल्याउँदादेखि रिफर गर्दासम्म गरिएको उपचार तथा अपनाइएको प्रक्रियाबारे सार्वजनिक रूपमा स्पष्टीकरण दिएको हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।