काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै जीवन बीमा कम्पनीहरूले २६ अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले कुल २६ अर्ब ६२ करोड २० लाख २९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।
प्राधिकरणले सार्वजनिक गरेको प्रदेशगत तथा बीमालेखको प्रकारअनुसारको विवरणमा जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा सबैभन्दा ठूलो देखिएको छ।
साउनमा सावधिक जीवन बीमाबाट मात्रै १३ अर्ब १९ करोड ३४ लाख १४ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यो कुल बीमाशुल्कको करिब ४९.५६ प्रतिशत हो।
त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ४ अर्ब ८४ करोड ४९ लाख ६१ हजार रुपैयाँ, रूपान्तरित सावधिक जीवन बीमाबाट २ अर्ब ७९ करोड ४८ लाख ३५ हजार रुपैयाँ तथा बालबच्चासम्बन्धी सावधिक जीवन बीमाबाट ३ अर्ब ५५ करोड ६ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट २९ करोड ४९ लाख ६९ हजार रुपैयाँ, आजीवन जीवन बीमाबाट १ अर्ब ५२ करोड ३० लाख ९७ हजार रुपैयाँ र एकल बीमाशुल्क जीवन बीमाबाट ७१ करोड ५२ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।
यसैगरी, म्यादी जीवन बीमाबाट १२ करोड ४० लाख ४२ हजार रुपैयाँ, लघु जीवन बीमाबाट २५ करोड ३४ लाख २५ हजार रुपैयाँ र अन्य जीवन बीमाबाट ३२ करोड ३३ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा
प्रदेशगत रूपमा हेर्दा साउनमा जीवन बीमा व्यवसायमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ। बागमतीमा मात्रै विभिन्न प्रकारका जीवन बीमालेखबाट १३ अर्ब ११ करोड ३७ लाख ३ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
त्यसपछि लुम्बिनी प्रदेशमा ३ अर्ब ६४ करोड २० लाख ५ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
त्यस्तै, कोशी प्रदेशबाट ३ अर्ब ८ करोड ३७ लाख २ हजार रुपैयाँ, गण्डकी प्रदेशबाट २ अर्ब ५३ करोड ८१ लाख ३१ हजार रुपैयाँ र मधेश प्रदेशबाट २ अर्ब १२ करोड ३२ लाख ८९ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।
सुदूरपश्चिम प्रदेशबाट १ अर्ब ३७ करोड ५८ लाख ३९ हजार रुपैयाँ तथा कर्णाली प्रदेशबाट ७४ करोड ५३ लाख ५९ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको तथ्यांकले देखाएको छ।
यसरी चालु आर्थिक वर्षको सुरुवातमै जीवन बीमा व्यवसायले २६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल भएको छ भने कुल व्यवसायमा बागमती प्रदेशको योगदान अन्य प्रदेशको तुलनामा निकै ठूलो देखिएको छ।












