२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएका छन्।

उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले साहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साहले नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १६ हजार ५ सय ८७ मतको फराकिलो अन्तरले पराजित गरेका थिए। निर्वाचनमा साहले ४२ हजार ७ सय ७१ मत प्राप्त गर्दा कार्कीले २६ हजार १ सय ८४ मत पाएका थिए।

४९ वर्षीय साह पेसाले इन्जिनियर तथा ऊर्जा क्षेत्रका विज्ञ हुन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ मा जन्मिएका उनी हाल भक्तपुरको नयाँ थिमिमा बस्दै आएका छन्।

साहको राजनीतिक यात्रा जनमत पार्टीबाट सुरु भएको थियो। उनी उक्त पार्टीको उपाध्यक्षसम्म बनेका थिए। पार्टीभित्र गुटगत गतिविधि सञ्चालन गरेको तथा विधानविपरीत व्यवहार गरेको आरोपमा निलम्बनमा परेका साह पछि पार्टीबाट निष्कासित भएका थिए।

जनमत पार्टीबाट बाहिरिएपछि उनले नयाँ राजनीतिक पहिचान निर्माणका लागि जनस्वराज पार्टी गठनको प्रयास गरेका थिए। उक्त प्रयास सफल नभएपछि विषय अदालतसम्म पुगेको थियो। त्यसपछि नाम परिवर्तन गरी गत मंसिरमा सर्वोदय पार्टी दर्ता गराएर उनी अध्यक्ष बनेका थिए।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा रास्वपासँग सहकार्य गर्दै साह घण्टी चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका थिए। त्यसक्रममा उनले सुनसरी–४ बाट प्रभावशाली कांग्रेस नेता कार्कीलाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका हुन्।

शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिका हिसाबले साह पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक तथा प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर गरेका छन्।

उनले लामो समय जलविद्युत् परियोजनामा इन्जिनियर, ऊर्जा विशेषज्ञ तथा व्यवस्थापकका रूपमा काम गरेका छन्। जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण तथा नीति व्यवस्थापनमा समेत उनको अनुभव रहेको छ।

यसअघि उनले राष्ट्रिय सतर्कता केन्द्रमा टेक्निकल अडिटरका रूपमा काम गर्दै ऊर्जा परियोजनाको प्राविधिक मूल्यांकन, दक्षता परीक्षण तथा संस्थागत सुधारका क्षेत्रमा समेत योगदान दिएका थिए।

ग्रामीण विद्युतीकरण, सडक तथा आधारभूत पूर्वाधार विकास, सामुदायिक सशक्तीकरण र युवालाई प्राविधिक तालिम तथा स्वरोजगारतर्फ प्रेरित गर्ने काममा समेत साह सक्रिय रहँदै आएका छन्।

प्राविधिक तथा ऊर्जा क्षेत्रको अनुभव बोकेका साहका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने नयाँ चुनौतीका रूपमा आएको छ। विशेषगरी पूर्वमन्त्री यादवले ग्यास आपूर्ति व्यवस्थापनको विषयमा आलोचना खेप्दै राजीनामा दिएपछि साहमाथि देशभर ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्ने तत्कालीन दबाब रहेको छ।

नयाँ उद्योगमन्त्रीका रूपमा साहले ग्यास आपूर्ति व्यवस्थापनसँगै उद्योग क्षेत्रको समस्या समाधान, लगानी वातावरण सुधार, व्यापार सहजीकरण र आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने विषयमा समेत काम गर्नुपर्नेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।