निर्जीवन बीमा कम्पनीको सोल्भेन्सी मार्जिन बढ्यो, सानिमा जीआईसी अग्रस्थानमा
काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रको वित्तीय स्वास्थ्यमा सुधार देखिएको छ। बीमा कम्पनीहरूले सम्भावित जोखिम तथा दायित्व बहन गर्न राखेको पूँजी र सम्पत्तिको अवस्थालाई देखाउने सोल्भेन्सी मार्जिन अनुपात गत आवमा समग्रमा बढेको हो।
वित्तीय विवरणअनुसार अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूको औसत सोल्भेन्सी मार्जिन ४.१६ प्रतिशत रहेकोमा गत आवमा बढेर ४.३५ प्रतिशत पुगेको छ। यसले अधिकांश कम्पनीको पूँजीगत अवस्था र जोखिम वहन क्षमतामा सकारात्मक सुधार भएको संकेत गर्छ।
सोल्भेन्सी मार्जिनमा सानिमा जीआईसी इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले ५.८५ प्रतिशत अनुपात कायम गर्दै अघिल्लो वर्षकै स्तरलाई निरन्तरता दिएको छ।
सानिमा जीआईसीपछि प्रभु इन्स्योरेन्स ५.४८ प्रतिशतसहित दोस्रो स्थानमा छ। त्यस्तै नेको इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले समान ५.०६ प्रतिशत सोल्भेन्सी मार्जिन कायम गरेका छन्।
गत आवमा केही कम्पनीले भने अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार गरेका छन्। शिखर इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन ३.६७ प्रतिशतबाट बढेर ४.७४ प्रतिशत पुगेको छ। कम्पनीको अनुपातमा १.०७ प्रतिशतको वृद्धि भएको हो।
त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि उल्लेख्य सुधार गरेको छ। अघिल्लो आवमा ३.३२ प्रतिशत रहेको अनुपात बढेर ४.३८ प्रतिशत पुगेको छ। यसमा १.०६ प्रतिशतको सुधार देखिएको छ।
**सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)**को सोल्भेन्सी मार्जिन पनि २.७५ प्रतिशतबाट बढेर ३.३१ प्रतिशत पुगेको छ।
अन्य कम्पनीतर्फ युनाइटेड अजोड इन्स्योरेन्सले ४.२९ प्रतिशत र एनएलजी इन्स्योरेन्सले ४.२४ प्रतिशत सोल्भेन्सी मार्जिन कायम गरेका छन्। नेशनल इन्स्योरेन्सको अनुपात ४ प्रतिशतमा स्थिर रहेको छ।
यता नेपाल इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन भने सामान्य घटेको छ। अघिल्लो वर्ष ४.३३ प्रतिशत रहेको अनुपात गत आवमा ४.२८ प्रतिशतमा झरेको हो।
यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन ३.८५ प्रतिशत र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको ३.६२ प्रतिशत रहेको छ। सूचीको पुछारमा भने ओरिएन्टल इन्स्योरेन्स २.७३ प्रतिशतसहित रहेको छ।
समग्र तथ्यांक हेर्दा अधिकांश निर्जीवन बीमा कम्पनीहरू नियामकीय सीमाभन्दा निकै माथि देखिएका छन्। केही कम्पनीले अघिल्लो वर्षको तुलनामा जोखिम वहन क्षमता र पूँजीगत अवस्थासमेत बलियो बनाएका छन्।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम १.५० प्रतिशत सोल्भेन्सी मार्जिन अनिवार्य गरेको छ। त्यसैले सूचीमा रहेका सबै कम्पनी उक्त न्यूनतम सीमाभन्दा माथि रहेकाले तत्कालीन दृष्टिले वित्तीय जोखिम वहन गर्न सक्ने अवस्थामा देखिन्छन्।












