काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित र सहज बनाउने उद्देश्यसहित ग्यास उद्योगहरू एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ।
निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार उपभोक्ताको हित प्रवर्द्धन गर्नुका साथै ग्यास आपूर्ति तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउन विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति अघि सारिएको हो।
यसका लागि निगमले सबै एलपी ग्यास उद्योगलाई पत्राचार गर्दै एकीकरणसम्बन्धी कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
निगमको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा एलपी ग्यासको बिक्री वितरण सहज बनाउन तथा उपभोक्ता हित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीतिलाई निरन्तरता दिने उल्लेख छ।
सोही नीतिअनुसार निगमले उद्योगहरूलाई पत्र पठाएर एकीकरणका लागि आवश्यक कार्ययोजना बनाउन र गाभ्ने प्रक्रियालाई प्रोत्साहन गर्दै अघि बढ्न निर्देशन दिएको हो।
ग्यास उद्योगको एकीकरणबाट बिक्री वितरण प्रणाली व्यवस्थित हुने, आपूर्ति व्यवस्थापन सहज बन्ने तथा उपभोक्ताले गुणस्तरीय सेवा प्राप्त गर्ने निगमको अपेक्षा छ।











