काठमाडौं। पूर्णबहादुर खड्का पक्षीय नेताहरूको बैठक काठमाडौंको महाराजगञ्जस्थित होटल स्मार्टमा जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै खड्काले पार्टी एकताका लागि चार वटा शर्त अघि सारेका छन्।

मंगलबार बैठकको सुरुवातमै खड्काले करिब ३० मिनेट सम्बोधन गर्दै पार्टी एकता कायम राख्न सभापति गगन थापा पक्षले कम्तीमा चार शर्त मान्नुपर्ने बताएका हुन्।
उनका अनुसार पहिलो शर्त भनेको विशेष महाविधेशनबाट आएको केन्द्रीय कार्यसमिति र नेपाली कांग्रेसको १४औँ महाधिवेशन बाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई एकीकृत बनाउनु हो। उनले एकीकृत केन्द्रीय कार्यसमितिले नै पार्टीका कामकारबाही सञ्चालन गर्नुपर्नेमा जोड दिए।
दोस्रो शर्तका रूपमा दुवै पक्षलाई समेटेर नेपाली कांग्रेसको १५औँ महाधिवेशन का लागि महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने बताएका छन्।
तेस्रो शर्तका रूपमा महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति पनि दुवै पक्षको सहमतिमा गठन गर्नुपर्ने उनको भनाइ छ।
चौथो शर्त क्रियाशील सदस्यता छानबिन समितिसँग सम्बन्धित छ। यो समिति पनि दुवै पक्षलाई समेटेर सहमतिका आधारमा गठन गर्नुपर्ने खड्काले बताएका छन्।
यी चारै विषय सम्बोधन भएमा पार्टी एकता कायम रहने उनको भनाइ थियो। पार्टी एकता कायम रहने वा नहुने भन्ने निर्णय सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा को हातमा रहेको उनले बताए।
खड्काले विगतको उदाहरण दिँदै २०५९ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला कै कारण कांग्रेस विभाजन भएको र २०६४ सालमा उनकै पहलमा पार्टी एकता भएको स्मरण गराए। अहिले पनि कांग्रेस विभाजनको डिलमा पुगेको र त्यसलाई एकतामा फर्काउने जिम्मेवारी गगन–विश्वकै काँधमा रहेको उनले बताए।

आफू एकता विरोधी नभएको स्पष्ट पार्दै खड्काले अहिले एकता गर्ने वा नगर्ने निर्णय आफ्नो हातमा नभएको बताए।
उनले भने, “सबैले एकता गर्नुहोस् भनिरहेका छन्, तर चाबी उनीहरूले लगाएका छन्, हामीलाई ढोका खोल्नुस् भनेर मात्रै भनिएको जस्तो भइरहेको छ।”
खड्काले सभापति थापासँग भएको पछिल्लो छलफलबारे पनि जानकारी दिएका छन्। वैशाख ८ गते थापा खड्कालाई भेट्न उनकै निवास पुगेका थिए। भेटका क्रममा सरकारका कामकारबाही र राष्ट्रियताको विषयमा सामान्य कुराकानी भएको खड्काले बताए।
त्यस क्रममा थापाले उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गरेर एकताको ठोस प्रस्ताव ल्याउने बताएका थिए। तर त्यसपछि थप संवाद नभएको खड्काको भनाइ छ।
सभापति थापाले ‘कांग्रेसका एक लाख क्रियाशील सदस्य भए पुग्छ’ भन्ने अभिव्यक्तिप्रति पनि खड्काले आपत्ति जनाएका छन्। यस्तो अभिव्यक्तिले पार्टीलाई मुठ्ठीमा राख्ने प्रयास भएको उनको आरोप छ।
सदस्यता नवीकरणका विषयमा पनि उनले असन्तुष्टि व्यक्त गरे। आर्मी र प्रहरीजस्तो लाइन लगाएर सदस्यता दिने शैली अन्यायपूर्ण भएको भन्दै यसले पार्टी कब्जा गर्ने योजना झल्किने उनको भनाइ थियो।
गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा मत फेरेका कार्यकर्तालाई मनाउनुपर्ने आवश्यकता रहेको खड्काले बताए। पार्टी र सरकार सञ्चालनका क्रममा भएका कमजोरीका कारण मत परिवर्तन भए पनि कार्यकर्ताले पार्टीप्रतिको मन नफेरेको उनको भनाइ थियो।
उनले नेता तथा कार्यकर्तालाई घरघरमा पुगेर मत फेरेका मतदातालाई पुनः विश्वासमा लिन आग्रह गरे।
“हामीलाई सजाय दिइसक्नुभयो, अब पार्टी नछोडिदिनुस्, पार्टी तपाईँहरुकै हो भनेर मनाउनुपर्ने दिशामा जानुपर्छ,” उनले भने, “निकाल्ने दिशामा लाग्नु घातक हुन्छ।”
खड्का समूहको बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेश सभापति, काठमाडौंमा उपलब्ध क्षेत्रीय सभापति तथा भ्रातृ संस्थाका पदाधिकारी सहभागी छन्।
बैठकमा सहभागी नेता रामहरि खतिवडा का अनुसार अहिले बैठकमा पार्टी एकताको विषयमै केन्द्रित भएर छलफल भइरहेको छ।
बैठकमा बोल्न जिल्ला सभापति, उपसभापति तथा क्षेत्रीय प्रतिनिधिलाई सात–सात मिनेट समय दिइएको छ। सभापति उपस्थित नभएका जिल्लाबाट उपसभापति बैठकमा सहभागी भएका छन्।











