काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण नेपाल प्रहरीका तीनवटा चौकी बगेका छन् भने ३५ प्रहरी अझै सम्पर्कविहीन छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान ९ः१५ बजेसम्म रसुवागढी गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी र प्रहरी चौकी स्याफ्रुबेसी सम्पर्कविहीन भएका छन्। बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे समेत बगेको प्रहरीले जनाएको छ।
टिमुरेमा कार्यरत २५ प्रहरीमध्ये १२ जना सम्पर्कमा आएका छन्। यस्तै, रसुवागढीमा कार्यरत ९ जनामध्ये एक जना र स्याफ्रुबेसीमा कार्यरत ९ जनामध्ये ४ जना सम्पर्कमा आएका छन्।
यसैबीच, नुवाकोटको त्रिशूली बजारमा पानीको बहाव बढेको छ भने नुवाकोट कारागारमा समेत पानी पसेको प्रहरीले जनाएको छ। धादिङको पृथ्वीराजमार्गस्थित महेशखोलामा समेत डुबान भएको छ।
उद्धार तथा राहतका लागि बागमती प्रदेश प्रहरी गुल्म हेटौँडाबाट एसएसपी पुरुषोत्तम सुवेदीको कमाण्डमा १५ जनाको टोली बुधबार बिहान १०ः५५ बजे रसुवातर्फ प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बाढीको बहाव धादिङको गल्छी गाउँपालिका–२ मलेखुसम्म पुगेको प्रहरीले जनाएको छ।












