काठमाडौँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोट, धादिङ, रसुवा र गोरखाका विभिन्न भूभागलाई राजधानी काठमाडौँसँग जोड्ने सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण प्रमुख सडकमार्ग तथा पुलहरू भत्किँदा त्रिशूली नदी वारिपारिको स्थल सम्पर्कसमेत प्रभावित भएको छ।

बाढीले सडक, पुल, विद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुर्याएपछि रसुवा र नुवाकोटसहित उत्तरी क्षेत्रको यातायात तथा सञ्चार सम्पर्क गम्भीर संकटमा परेको छ। विभिन्न स्थानमा राजमार्ग तथा वैकल्पिक सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रसँगको आवतजावत कठिन बनेको छ।
रसुवा जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म करिब १८ किलोमिटर सडक बाढीले पूर्ण रूपमा बगाएको छ। विद्युत्गृहका पहुँचमार्गमा रहेका दुई पुल तथा त्रिशूली–रसुवागढी सडकखण्डका दुई पक्की पुलसमेत बाढीले बगाएपछि सडक सम्पर्क विच्छेद भएको छ।
रसुवागढी नाकाअन्तर्गत नेपाल–चीन सीमावर्ती बजार तथा बस्तीमा समेत बाढीले ठूलो क्षति पुर्याएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गत टिमुरे र घट्टेखोला क्षेत्र बढी प्रभावित भएका छन्। प्रहरीका अनुसार टिमुरे बजारका करिब १०७ घर तथा घट्टेखोलाका करिब ५० घरमा पूर्ण क्षति पुगेको छ।
बाढीले स्थानीय पालिका भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुख्खा बन्दरगाह तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्याएको छ।
यस्तै, धादिङतर्फ सदरमुकाम जोड्ने केउरिनी–फोस्रेटारको वैकल्पिक पुल तथा मलेखु–फुर्केखोला पुलसमेत बाढीले बगाएपछि सडक सम्पर्क थप प्रभावित भएको छ।
१९ पुलमा क्षति, ४० किलोमिटर सडक प्रभावित
सडक विभागको प्रारम्भिक तथ्यांकअनुसार त्रिशूली नदीमा आएको बाढीबाट कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ। विभागका अनुसार विभिन्न स्थानमा करिब ४० किलोमिटर सडकमा प्रत्यक्ष क्षति पुगेको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा भत्किएको छ।

उत्तरी सीमा जोड्ने सडक तथा पुलहरू क्षतिग्रस्त भएपछि चीनसँग नेपालको प्रमुख व्यापारिक नाका रसुवागढीसँगको स्थल सम्पर्कसमेत विच्छेद भएको छ। यसले दुई देशबीचको व्यापारिक गतिविधिसँगै रसुवा र आसपासका क्षेत्रमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर पार्ने देखिएको छ।
क्षतिग्रस्त सडक, पुल तथा अन्य पूर्वाधार पुनर्निर्माण गर्न ठूलो स्रोत र समय आवश्यक पर्ने देखिएको छ।
४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर
बाढीले ऊर्जा क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको छ।
प्रारम्भिक विवरणअनुसार १२ वटा जलविद्युत् आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको छ। ६ वटा जलविद्युत् आयोजना र एउटा सौर्य आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ भने अन्य आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन।
क्षतिका कारण करिब ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको बताइएको छ।
प्रभावित आयोजनामा रसुवागढी, सान्जेन, अपर सान्जेन, चिलिमे, लाङटाङ, अपर त्रिशूली–३ ‘ए’, अपर मैलुङ, मैलुङ, त्रिशूली, देवीघाटलगायतका जलविद्युत् आयोजना तथा सौर्य प्रणाली रहेका छन्।
बाढीले राष्ट्रिय प्रसारण लाइन तथा हब स्टेसनमा समेत क्षति पुर्याएको छ। विद्युत् आपूर्ति अवरुद्ध भएपछि रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा दैनिक जनजीवन प्रभावित हुनुका साथै सञ्चार सेवा अवरुद्ध हुने जोखिमसमेत बढेको छ।
त्रिशूली नदीमा आएको बाढीले सडक, पुल, ऊर्जा र सञ्चार संरचनामा एकैपटक ठूलो क्षति पुर्याएपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा कनेक्टिभिटी पुनःस्थापनालाई तत्काल प्राथमिकतामा राख्नुपर्ने अवस्था देखिएको छ।










