काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका छन्।
व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्। भट्टको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको करिब २५ लाख रुपैयाँ बराबरको सेयर रहेको समाचार सार्वजनिक भएसँगै भट्टसँग उनको सम्बन्धबारे चर्चा सुरु भएको हो।
हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका व्यापारी भट्टसँग गृह
मन्त्रीको कनेक्सन देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि तरंग उत्पन्न भएको बताइएको छ।
यो विषय सार्वजनिक भएसँगै गृहमन्त्री गुरुङमाथि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठ्न थालेका छन्। सामाजिक सञ्जालमार्फत उनले लघुबीमा कम्पनीमा गरेको सेयर लगानी ऋणमार्फत लिएको भन्दै स्पष्टीकरण दिएका छन्।
तर उक्त सेयर लगानी सम्पत्ति विवरणमा नदेखिएको भन्दै उनको आलोचना भइरहेको छ।
यसैबीच विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न गृहमन्त्री गुरुङ र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता भएको बताइएको छ।









