काठमाडौं । हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा बैंकले ६५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.८४ प्रतिशत कम हो।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ७० करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा आएको गिरावटले नाफामा दबाब परेको देखिन्छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.३० प्रतिशतले घटेर २ अर्ब १९ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ रहेको थियो।
यद्यपि, बैंकको इम्पेयरमेन्ट चार्जमा भने सुधार देखिएको छ। अघिल्लो वर्ष ५७ करोड ८९ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर समीक्षा अवधिमा ३५ करोड ३१ लाख रुपैयाँ कायम भएको छ।
त्यस्तै, बैंकको सञ्चालन नाफा अघिल्लो वर्षको १ अर्ब ५ करोड ६६ लाख रुपैयाँबाट घटेर १ अर्ब ५४ लाख रुपैयाँमा झरेको छ।
असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकले ३ खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको खराब कर्जा (एनपीएल) अनुपातमा भने वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७.३९ प्रतिशत रहेको खराब कर्जा बढेर समीक्षा अवधिमा ७.९८ प्रतिशत पुगेको छ। खराब कर्जामा भएको यो वृद्धिले बैंकको सम्पत्तिको गुणस्तरमा चुनौती थपिएको संकेत गर्छ।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्ष १२ रुपैयाँ ४५ पैसा रहेको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा घटेर ११ रुपैयाँ ६० पैसा कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ भने १८० रुपैयाँ ४२ पैसा रहेको छ।

यसैगरी, बैंकको वितरणयोग्य मुनाफा थप ऋणात्मक बनेको छ। अघिल्लो वर्ष ७ अर्ब ५४ करोड रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा असोज मसान्तसम्ममा बढेर ९ अर्ब ७९ करोड रुपैयाँ ऋणात्मक पुगेको वित्तीय विवरणमा उल्लेख छ।
समग्रमा खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानीमा आएको गिरावटसँगै खराब कर्जा बढ्नु हिमालयन बैंकका लागि चुनौतीका रूपमा देखिएको छ।










