२०८३ भाद्र २९ सोमबार
२०८३ भाद्र २९ सोमबार

रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग

सिन्धुपाल्चोक । नवजागरण युवा समूहले रसुवाका बाढीपीडित परिवारका लागि करिब २ लाख ५० हजार रुपैयाँ बराबरको सहयोग गरेको छ।
समूहका पदाधिकारी, सदस्य तथा विभिन्न सहयोगी दाताबाट रकम संकलन गरी रसुवाका बाढीपीडित तथा मृतक परिवारलाई सहयोग गरिएको हो।
नौकुण्ड गाउँपालिका, रसुवा घर भई हाल गोसाइँकुण्ड गाउँपालिका–धुन्चेमा बस्दै आएका ६ घरपरिवारका ७ जनाको विनाशकारी बाढीमा परी मृत्यु भएपछि परिवारमा काजकिरियासमेत गर्न समस्या भएको थियो। परिवारका जिम्मेवार सदस्य गुमाएपछि आर्थिक रूपमा कमजोर बनेका ती परिवारलाई समूहले प्रति परिवार १५ हजार रुपैयाँका दरले नगदसहित चामल, नुन, तेल, दाल र सिरानीलगायतका खाद्य तथा आवश्यक सामग्री उपलब्ध गराएको समूहका अध्यक्ष सुजन बस्नेतले जानकारी दिए।
त्यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–१० र १२ स्थायी घर भई रोजगारीका क्रममा रसुवामा रहेका दिपेन्द्र गिरी, सन्तोष खत्री, जीवन पुरी र कमल बस्नेतका परिवारलाई पनि आर्थिक सहयोग गरिएको छ।
परिवारको मुख्य अभिभावक गुमाउँदा बालबालिकाको पढाइ तथा आगामी दिनमा आइपर्न सक्ने आर्थिक समस्यालाई ध्यानमा राख्दै उनीहरूका परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँका दरले नगद सहयोग गरिएको समूहका सचिव सरोज बोहराले बताए। आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने समूहले प्रतिबद्धता जनाएको छ।
नवजागरण युवा समूहले यसअघि पनि स्थानीय स्तरमा विभिन्न सामाजिक तथा मानवीय गतिविधि गर्दै आएको छ। चौतारा साँगाचोकगढी नगरपालिका–१४ का विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सडक बत्ती जडान, वृक्षरोपण तथा विभिन्न रोगबाट प्रभावित व्यक्तिलाई आर्थिक सहयोगलगायतका कार्य समूहले गर्दै आएको छ।
‘सामाजिक जागरणका लागि युवा एकता’ भन्ने मूल नाराका साथ २०७० सालदेखि सक्रिय समूहमा २५ सदस्य रहेका छन्। सुजन बस्नेतको अध्यक्षतामा रहेको समूहको कार्यसमितिमा उपाध्यक्ष पद रिक्त रहेको छ भने सचिवमा सरोज बोहरा, सहसचिवमा विवेक बस्नेत र कोषाध्यक्षमा प्रल्हाद बस्नेत रहेका छन्। सदस्यहरूमा अञ्जन बस्नेत, बलाराम मैनाली, रमेश बानियाँ, सुवास बस्नेत, विजय बस्नेत र मोहित बस्नेत रहेका छन्।
समूहका संस्थापक अध्यक्ष मोहन बस्नेत तथा पूर्व अध्यक्ष शहदेव बस्नेत, काजीराम बस्नेत, दीपक बस्नेत, साजन बोहरा, सुमन बस्नेत, रामहरि नेपाल, कमल बस्नेत, दिपेश भण्डारी, मनोज नेपाल, हरिशरण बानियाँ, सबिन बस्नेत, हरि बस्नेत, रामशरण बस्नेत र विष्णु बस्नेतलगायतको पनि समूहमा सक्रिय योगदान रहेको जनाइएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीको स्थलगत अवलोकनसमेत गरेका समूहका सदस्यहरूले विपद्को समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्न सके कठिन परिस्थितिको सामना गर्न सकिने बताएका छन्।
समूहका पूर्व अध्यक्ष शहदेव बस्नेतले अब राहतका नाममा खाद्यान्न र लत्ताकपडा वितरणमा मात्र सीमित नभई बाढीपीडितको पुनःस्थापना र आवास निर्माणमा राज्य तथा सहयोगी निकायले प्राथमिकता दिनुपर्ने बताए।
उनका अनुसार विपद्पछि पीडित परिवारलाई दीर्घकालीन रूपमा सुरक्षित आवास उपलब्ध गराउन सबै पक्ष मिलेर अघि बढ्नु आवश्यक छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।