काठमाडौं । खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरबाट हुँदै आएको ग्यासको प्रत्यक्ष बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।

नेपाल आयल निगमसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले विगत तीन दिनदेखि कार्यालय परिसरमै ग्यास विक्रेतामार्फत ग्यास ल्याएर प्रत्यक्ष बिक्री गर्दै आएको थियो।
सार्वजनिक बिदाका दिन विशेषगरी डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका महिलालाई प्राथमिकता दिँदै ग्यास बिक्रीको व्यवस्था गरिएको थियो।
तर, भदौ २९ गते सोमबारदेखि कार्यालयको नियमित कामसँगै रसुवा बाढीपीडितका लागि राहत व्यवस्थापन तथा बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका शवको व्यवस्थापनमा समेत कार्यालय केन्द्रित हुनुपर्ने भएकाले कार्यालय परिसरबाट ग्यास बिक्री स्थगित गरिएको प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले जानकारी दिए।
कार्यालयका अनुसार ग्यासको बिक्री वितरण भने पूर्णरूपमा बन्द गरिएको होइन। सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत ग्यासको बिक्री वितरण नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।
त्यसैले उपभोक्ताले अब कार्यालय परिसरमा नभई सम्बन्धित ग्यास डिलर तथा खुद्रा विक्रेतामार्फत ग्यास खरिद गर्नुपर्नेछ।











