२०८३ भाद्र २९ सोमबार
२०८३ भाद्र २९ सोमबार

मोदी–सी भेटवार्तामाथि जयराम रमेशका चार प्रश्न, चीनप्रति सरकार नरम भएको आरोप

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका महासचिव जयराम रमेशले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको द्विपक्षीय भेटवार्तालाई लिएर सरकारसँग चार महत्वपूर्ण प्रश्न गरेका छन्।

कंग्रेस महासचिव रमेशले सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गर्दै भारत–चीन सम्बन्ध सामान्य बनाउनु आवश्यक भए पनि सरकारको व्यवहार चीनप्रति अत्यधिक नरम देखिएको टिप्पणी गरेका छन्।

उनले विशेषगरी ‘अपरेसन सिन्दूर’, गलवान उपत्यका, लद्दाख–अरुणाचल प्रदेशमा चीनको गतिविधि तथा भारत–चीन व्यापार घाटाका विषयमा प्रधानमन्त्री मोदीसँग जवाफ मागेका हुन्।

‘अपरेसन सिन्दूरमा चीनको भूमिकाबारे सरकारको अडान के हो?’

रमेशले अपरेसन सिन्दूरका क्रममा पाकिस्तानलाई चीनले गरेको सैन्य सहयोगबारे सरकारको पछिल्लो अडान स्पष्ट हुनुपर्ने बताएका छन्।

उनका अनुसार ४ जुलाई २०२५ मा भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल राहुल सिंहले अपरेसन सिन्दूरका क्रममा पाकिस्तानलाई चीनले गरेको सहयोगलाई गम्भीर र महत्वपूर्ण बताएका थिए।

त्यसैले अपरेसन सिन्दूरमा चीनको वास्तविक भूमिकाबारे सरकार र सुरक्षा प्रतिष्ठानको मूल्यांकन के हो तथा पछिल्ला अभिव्यक्तिका पछाडि कुनै कूटनीतिक रणनीति छ कि छैन भन्ने विषयमा देशले जान्न पाउनुपर्ने रमेशको भनाइ छ।

गलवानबारे मोदीसँग प्रश्न

रमेशले सन् २०२० को गलवान उपत्यका झडपपछि चीनलाई दिइएको भनिएको ‘क्लिन चिट’ ले भारतको वार्ता र कूटनीतिक स्थिति कमजोर बनाएको हो कि होइन भन्ने प्रश्न गरेका छन्।

उनले गलवान घटनामा २० भारतीय सैनिकले ज्यान गुमाएको उल्लेख गर्दै त्यसपछि भारतको सीमामा कोही नआएको र कुनै घुसपैठ नभएको भन्ने अभिव्यक्ति अझै फिर्ता नलिइएको बताएका छन्।

उनका अनुसार यस्तो अभिव्यक्तिले चीनसँगको पछिल्लो वार्तामा भारतको स्थिति कमजोर बनाएको छ।

लद्दाख र अरुणाचलमा चीनको गतिविधि किन?

कंग्रेस महासचिव रमेशले लद्दाख र अरुणाचल प्रदेशमा चीनको क्षेत्रीय गतिविधि तथा लाभलाई सरकारले किन रोक्न नसकेको भन्ने प्रश्न पनि उठाएका छन्।

भारतको सुरक्षा र क्षेत्रीय अखण्डतासँग जोडिएका यी विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने उनको माग छ।

चीनसँग बढ्दो व्यापार घाटामाथि पनि प्रश्न

रमेशले भारत–चीन व्यापार सम्बन्धलाई पनि प्रश्नको घेरामा राखेका छन्।

उनका अनुसार चीनसँग भारतको व्यापार घाटा रेकर्ड स्तरमा पुगेको छ। यस्तो अवस्थामा भारतको व्यापार घाटा किन निरन्तर बढिरहेको छ भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनले बताएका छन्।

भारत–चीन सम्बन्ध सामान्य बनाउनु आवश्यक हुन सक्ने भए पनि सरकारले चीनप्रति अपनाएको व्यवहार अत्यधिक नरम देखिएको उनको आरोप छ।

यसैबीच, दिल्लीमा आयोजित ब्रिक्स सम्मेलनका क्रममा शनिबार भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता भएको थियो। सम्मेलनमा सहभागी भएर सी आइतबार चीन फर्किएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।