







नुवाकोट । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई लायन्स क्लब अफ काठमाडौं शुभ तारा र लायन्स क्लब अफ गड साइबर सिटीले करिब १६ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन्।
“जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने मानवीय सेवाको भावनासहित क्लबका प्रतिनिधिहरूले बाढी प्रभावित परिवारको अवस्था बुझ्दै विभिन्न होल्डिङ सेल्टरमा पुगेर राहत सामग्री वितरण गरेका हुन्।
बाढीपीडित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखी लत्ताकपडा, डसना, तकिया, ब्ल्याङ्केट, झुल, स्याम्पु, सेनिटरी प्याड तथा खाद्यान्नलगायत सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।
राहत सामग्री विदुर नगरपालिका–४ का वडाध्यक्ष तथा त्रिशूली उद्योग वाणिज्य संघका अध्यक्ष गीता अमात्यको रोहबरमा वास्तविक बाढीपीडित परिवारलाई हस्तान्तरण गरिएको थियो।
लायन्स क्लब अफ काठमाडौं शुभ ताराका अनुसार विपद्का कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल राहत पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। विपद्को समयमा गरिएको सहयोगले पीडित समुदायलाई आफूहरू एक्लो नभएको अनुभूति दिलाउने क्लबको भनाइ छ।
राहत वितरण कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं शुभ ताराकी अध्यक्ष सुसिला श्रेष्ठ, चण्डिका श्रेष्ठ, आदित्य जोशी, आकाश श्रेष्ठ, रमिला प्रधान, मिना मानन्धर र महेश श्रेष्ठको सहभागिता रहेको थियो। लायन्स क्लब अफ गड साइबर सिटीका सुवास तामाङ र सुमन तामाङ पनि सहभागी थिए।
कार्यक्रममा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ काठमाडौं शुभ ताराका संस्थापक अध्यक्ष राजेश हिमालयले विपद्को समयमा प्रभावित समुदायको साथमा उभिनु सामाजिक संस्थाहरूको महत्वपूर्ण दायित्व भएको बताए। उनले आवश्यकता र अवस्थाअनुसार आगामी दिनमा पनि मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
राहत सामग्री जुटाउनेदेखि प्रभावित परिवारसम्म पुर्याउन सहयोग गर्ने व्यक्ति तथा संस्थाप्रति आयोजकले आभार व्यक्त गरेका छन्।











