काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको भदौ २५ गते बसेको सञ्चालक समितिको ५६४औँ बैठकले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित बोनस सेयरको रकम ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ रहेको छ भने सोही बराबर ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ नगद लाभांशका लागि छुट्याइएको छ। नगद लाभांशमा बोनस तथा नगद लाभांशबापत लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। यसका लागि ७ करोड ४५ लाख ९९ हजार ४१ रुपैयाँ बराबरको रकम छुट्याइएको छ। अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिनेछ।
सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाको अनुमोदन भएपछि मात्र लाभांश वितरण गरिनेछ।











