२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

सेयर बजार सुधारका लागि आगामी साताभित्र विशेष प्याकेज ल्याइने

काठमाडौँ । पछिल्लो समय निरन्तर दबाबमा रहेको सेयर बजार सुधारका लागि सरकारले आगामी साताभित्र विशेष प्याकेज ल्याउने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानीकर्ताको मनोबल बढाउँदै बजारमा देखिएका समस्या समाधान गर्न पुँजी बजार सुधारसम्बन्धी प्याकेज ल्याउन लागिएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सेयर बजारलाई दीर्घकालीन पुँजी निर्माणको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए।
उनले सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउन तत्कालीन तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताए। निजी क्षेत्रको आत्मविश्वास बढाउने, रोकिएका लगानीलाई गति दिने तथा उत्पादन र रोजगारी विस्तार गर्ने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।
भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीलाई राहत तथा पुनरुत्थानका लागि सरकारले पहिलो चरणको प्याकेज ल्याइसकेको पनि अर्थमन्त्री वाग्लेले जानकारी दिए। बाढीबाट क्षति पुगेका उद्योग तथा व्यवसाय पुनः सञ्चालनमा ल्याउन सहुलियत र आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने सरकारको तयारी रहेको उनले बताए।
त्यस्तै, निजी क्षेत्रको खस्किएको व्यावसायिक आत्मविश्वास फर्काउन छुट्टै प्याकेजसमेत तयार भइरहेको उनले जानकारी दिए। रोकिएका लगानी अघि बढाउने, नयाँ लगानी आकर्षित गर्ने तथा उत्पादन र रोजगारी विस्तार गर्ने उद्देश्यले निजी क्षेत्रसँग सम्बन्धित सुधारका कार्यक्रम अघि बढाइने उनले बताए।
यसैगरी, नेपाललाई वित्तीय अपराधसम्बन्धी एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्न आवश्यक कानुनी तथा नीतिगत सुधारलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको अर्थमन्त्री वाग्लेले बताए। ग्रे लिस्टबाट बाहिरिएपछि अन्तर्राष्ट्रिय वित्तीय कारोबार, विदेशी लगानी तथा निजी क्षेत्रको विश्वासमा सुधार आउने अपेक्षा सरकारले गरेको उनको भनाइ छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।