न्युयोर्क । विश्वलाई दशकौँदेखि देखाइँदै आएको परम्परागत नक्साले अफ्रिकाको वास्तविक आकारलाई सानो देखाएको भन्दै संयुक्त राष्ट्रसंघले विश्वनक्सा परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाले अफ्रिकाको भौगोलिक आकारलाई तुलनात्मक रूपमा सही देखाउने नयाँ नक्सा प्रयोग गर्न समर्थन जनाएको हो ।

‘करेक्ट द म्याप’ नाम दिइएको प्रस्ताव टोगोको पहलमा अघि सारिएको थियो । अफ्रिकी संघका सदस्य राष्ट्रहरूको समर्थन रहेको प्रस्तावको पक्षमा १६४ देशले मतदान गरे । फ्रान्स र बेलायतसहितका देशले प्रस्तावलाई समर्थन गरे भने अमेरिका एक्लैले विपक्षमा मतदान गर्यो । छ देश मतदानमा अनुपस्थित अर्थात् तटस्थ बसे ।
यो प्रस्ताव कानुनी रूपमा बाध्यकारी भने छैन । तर यसले विश्वभरका अन्तर्राष्ट्रिय संस्था, शैक्षिक निकाय र अन्य संस्थाले प्रयोग गर्ने विश्वनक्सामा परिवर्तन ल्याउने बाटो खोल्नेछ । यो निर्णयको केन्द्रमा रहेको बहस केवल नक्सा कसरी बनाउने भन्ने प्राविधिक विषय होइन । यसले विश्वलाई कसरी हेर्ने, कुन भूभाग कति ठुलो र महत्वपूर्ण छ भनेर मानिसको धारणा कसरी निर्माण हुन्छ, तथा औपनिवेशिक इतिहासले ज्ञान र प्रतिनिधित्वमा कस्तो प्रभाव पारेको छ भन्ने गहिरो प्रश्न पनि उजागर गरेको छ ।
किन नक्सामा सानो देखिन्छ अफ्रिका ?
विश्वभर लामो समयदेखि प्रयोग हुँदै आएको विश्व म्याप (मर्केटर प्रोजेक्सन) सन् १५६९ मा फ्लेमिस कार्टोग्राफर जेरार्डस मर्केटरले विकास गरेका थिए । त्यतिबेला यसको मुख्य उद्देश्य विश्वका महासागरमा यात्रा गर्ने युरोपेली अन्वेषकलाई दिशानिर्देशन गर्न सहयोग गर्नु थियो । त्यसका लागि पृथ्वीको गोलाकार सतहलाई समतल कागजमा उतार्दा केही भौगोलिक स्वरुप बिग्रन्थ्यो ।
समस्या के हो भने मर्केटर नक्सामा भूमध्यरेखानजिकका भूभाग तुलनात्मक रूपमा साना र ध्रुवतर्फका भूभाग निकै ठुला देखिन्छन् । यसै कारण ग्रीनल्यान्ड र अफ्रिका लगभग उस्तै आकारका देखिन्छन्, जबकि वास्तविकतामा अफ्रिका ग्रीनल्यान्डभन्दा करिब १४ गुणा ठुलो छ ।
अफ्रिकाको क्षेत्रफल करिब ३ करोड ४ लाख वर्ग किलोमिटर छ भने ग्रीनल्यान्डको क्षेत्रफल करिब २२ लाख वर्ग किलोमिटर मात्र छ । नक्सामा देखिने यो भिन्नता केवल आँखाको भ्रम होइन । दशकौँसम्म विद्यालयका पाठ्यपुस्तक, कार्यालय, सञ्चारमाध्यम र डिजिटल माध्यममा एउटै प्रकारको नक्सा प्रयोग हुँदा यसले मानिसको भौगोलिक बुझाइमा समेत प्रभाव पार्न सक्छ ।
‘नक्सा कहिल्यै तटस्थ हुँदैन’

टोगोका विदेशमन्त्री रोबर्ट डुसेले संयुक्त राष्ट्रसंघमा प्रस्ताव अघि सार्दै एउटा महत्वपूर्ण राजनीतिक तर्क गरेका छन्, ‘नक्सा कहिल्यै तटस्थ हुँदैन ।’ उनका अनुसार नक्साले मानिसले विश्वलाई कसरी बुझ्ने भन्ने धारणा निर्माण गर्छ र विश्वमा विभिन्न भूभाग तथा जनताको स्थानबारेको बुझाइलाई प्रभावित गर्छ । उनको भनाइमा, न्यायपूर्ण विश्वको सुरुवात न्यायपूर्ण नक्साबाट हुन सक्छ ।
यही तर्कले अहिलेको नक्सा बहसलाई कार्टोग्राफीभन्दा धेरै पर पुर्याएको छ ।
अफ्रिकामा अभियान चलाउने समूहहरूले मर्केटर प्रोजेक्सनले महादेशको विशालता, स्रोतसाधन, जनसंख्या र आर्थिक सम्भावनालाई अप्रत्यक्ष रूपमा कम आँकलन गर्न योगदान गरेको तर्क गरेका छन् । ‘अफ्रिका नो फिल्टर’सँग आबद्ध लेराटो मोगोएथ्लेले अफ्रिकाको गलत प्रतिनिधित्वलाई केवल कार्टोग्राफिक त्रुटि नभई एउटा कथ्यको समस्या भनेकी छन् ।
उनका अनुसार अफ्रिकाबारे विश्वमा लामो समयदेखि निर्माण गरिएको गलत धारणा पनि नक्साबाट प्रभावित भएको छ ।
‘इक्वल अर्थ’तर्फ विश्वको मोड
मर्केटर प्रोजेक्सनको विकल्पका रूपमा सन् २०१८ मा कार्टोग्राफरहरूको एउटा समूहले ‘इक्वल अर्थ प्रोजेक्सन’ विकास गरेको थियो । यसको मुख्य उद्देश्य पृथ्वीका महादेशहरूको क्षेत्रफललाई तुलनात्मक रूपमा सही देखाउनु हो । आकार र दूरीमा केही सम्झौता गर्नुपरे पनि यसले कुनै भूभागलाई केवल ध्रुवबाट टाढा भएकै कारण अस्वाभाविक रूपमा सानो वा ठुलो देखाउँदैन । अफ्रिकी संघका ५४ सदस्य राष्ट्रले यसै वर्ष फेब्रुअरीमा इक्वल अर्थ प्रोजेक्सन अपनाएका थिए । त्यसपछि संयुक्त राष्ट्रसंघमा पनि यसलाई विश्वव्यापी रूपमा प्रयोग गर्ने बहस अघि बढेको हो । अफ्रिकाको विशालता बुझाउन अभियानकर्ताहरूले एउटा रोचक तुलना गर्छन्ः अमेरिका, चीन, भारत, जापान, मेक्सिको र युरोपको ठुलो हिस्सा समेत अफ्रिकी महादेशभित्र अटाउन सक्छन् र अझै केही भूभाग बाँकी रहन्छ ।
यसले अफ्रिका कति ठुलो छ भन्ने मात्र देखाउँदैन, विश्व अर्थतन्त्र र जनसांख्यिक संरचनामा महादेशको वास्तविक सम्भावनाबारे पुनर्विचार गर्न पनि बाध्य पार्छ ।
अमेरिका किन विपक्षमा ?
प्रस्तावको पक्षमा १६४ देश उभिँदा अमेरिका भने विपक्षमा रह्यो । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि यारिना फेरेन्सेभिचले महासभाले ‘अन्तर्राष्ट्रिय शान्ति, समृद्धि र सम्बन्ध’ जस्ता आफ्नो मूल उद्देश्यबाट ध्यान हटाएर १६औँ शताब्दीको नक्सा बहसमा समय खर्च गरिरहेको आरोप लगाइन् । अमेरिकी पक्षले प्रस्तावलाई ‘क्षतिपूर्ति’ र ‘कग्निटिभ जस्टिस’ अर्थात् ज्ञान तथा धारणासम्बन्धी न्यायको राजनीतिक बहससँग जोडिएको भन्दै आलोचना गरेको छ ।
यो विरोधलाई अफ्रिकाको औपनिवेशिक इतिहास र क्षतिपूर्तिसम्बन्धी पछिल्लो अन्तर्राष्ट्रिय बहसको पृष्ठभूमिमा पनि हेर्न सकिन्छ । मार्चमा संयुक्त राष्ट्रसंघले ट्रान्स–एटलान्टिक दास व्यापारलाई मानवताविरुद्धको गम्भीर अपराध घोषणा गर्ने प्रस्ताव पारित गर्दा पनि अमेरिकाले आलोचना गरेको थियो । त्यसैले नयाँ नक्सासम्बन्धी बहस भौगोलिक प्रतिनिधित्वसँगै औपनिवेशिक इतिहास, दास व्यापार र ऐतिहासिक अन्यायको स्मृतिसँग पनि जोडिएको छ ।
नक्साले विकासको धारणा बदल्न सक्छ ?
नक्साले मानिसको सोच बदल्छ भन्ने तर्कलाई पूर्ण रूपमा प्रमाणित गर्न कठिन भए पनि यसको प्रभावलाई नकार्न सकिँदैन । केन्याली भूगोलविद् किओको मुएन्डोका अनुसार मर्केटर नक्साले अफ्रिकी महादेशको विशाल प्राकृतिक स्रोत, ठुलो जनसंख्या र लगानीको सम्भावनालाई मानिसको अवचेतनमा कम महत्त्वपूर्ण देखाउन योगदान गरेको हुन सक्छ ।
यो प्रश्न विशेषगरी विकासशील देशका लागि महत्वपूर्ण छ । यदि विश्वको मानसिक नक्सामा अफ्रिका सानो देखिन्छ भने के त्यसले महादेशलाई पनि आर्थिक र राजनीतिक रूपमा ‘सानो’ ठान्ने सोचलाई बल पुर्याउँछ ?
यहि नक्साकै कारण अफ्रिकाको विशाल बजार, प्राकृतिक स्रोत, युवा जनशक्ति र भविष्यको आर्थिक सम्भावनालाई समेत नजरअन्दाज गरिन सक्छ । यही कारणले ‘करेक्ट द म्याप’ अभियानका लागि नयाँ नक्सा एउटा डिजाइन परिवर्तन मात्र होइन, विश्वको मानसिक नक्सा सच्याउने अभियान पनि हो ।
फ्रान्सका विदेशमन्त्री जाँ–नोएल बारोले फ्रान्सेली विदेश मन्त्रालयले मर्केटर नक्साको प्रयोग बन्द गर्ने बताएका छन् । उनको तर्क सरल छ, ‘नक्सा बदल्दैमा वास्तविक संसार परिवर्तन हुँदैन, तर संसारलाई झुटो तवरले गरिएको प्रस्तुतिलाई सच्याउनु सत्यतर्फको एउटा कदम हो ।’










