रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको पीडामा मलम लगाउन प्रगति अंग्रेजी माध्यमिक विद्यालयको नेतृत्वमा सिन्धुपाल्चोकका विद्यालयहरूले अनुकरणीय तत्परता देखाएका छन्। ‘विपत्तिमा कसैलाई एक्लो हुन नदिने’ भावना जगाउँदै विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनको सामूहिक प्रयासमा १ लाख ९१ हजार ११ रुपैयाँ राहत रकम संकलन गरी हस्तान्तरण गरिएको छ।
सहयोग संकलनको विवरण:
प्रगति अंग्रेजी माध्यमिक विद्यालय: रु १,५१,००० (विद्यार्थी, शिक्षक र व्यवस्थापन टोली)
न्युटन बोर्डिङ स्कुल (मेलम्ची–१२): रु २०,००१
सुनकोशी बोर्डिङ स्कुल (मेलम्ची–४): रु २०,००१
तीनवटै विद्यालयबाट संकलित उक्त रकम बाढीपहिरोका मृतकहरूप्रति आयोजित श्रद्धाञ्जली सभाका बीच प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धिप्रसाद आचार्यलाई हस्तान्तरण गरिएको हो।
किताबी ज्ञानभन्दा माथि सामाजिक उत्तरदायित्व



कार्यक्रममा प्रगति अंग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषि नेपालले शिक्षा कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र सीमित नभई विपत्तिमा मानवीय संवेदना प्रदर्शन गर्नु पनि यसको मुख्य पक्ष भएको बताउनुभयो। “दुःखमा परेका मानिसको पीडा बुझ्न र समाजप्रति उत्तरदायी बन्न सिकाउनु नै सच्चा शिक्षा हो,” उहाँले भन्नुभयो।
श्रद्धाञ्जली सभामा प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धिप्रसाद आचार्य, प्रगति अंग्रेजी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विजयकृष्ण श्रेष्ठ र रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले शोक वक्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले संकटको समयमा राज्यका निकायसँगै शैक्षिक क्षेत्र र नागरिक समाजको यस्तै ऐक्यबद्धताले बाढीपीडित परिवारलाई पुनर्जीवनको आशा र राहत दिने विश्वास व्यक्त गरे।











