काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको व्यावसायिक आचरणलाई व्यवस्थित गर्न विभिन्न स्पष्ट व्यवस्था गरेको छ। प्राधिकरणले २०८३ वैशाख १० गते जारी गरेको बीमा अभिकर्तासम्बन्धी निर्देशनको अनुसूची–१ मा अभिकर्ताले पालना गर्नुपर्ने आचारसंहिता समेटिएको छ।
तर, आचारसंहिताले स्पष्ट रूपमा निषेध गरेका केही गतिविधि अझै पनि बीमा बजारमा देखिने गरेका छन्। विशेषगरी सामाजिक सञ्जालमार्फत गरिने प्रचार, ग्राहकलाई दिइने विभिन्न प्रलोभन, अनधिकृत रूपमा बीमा व्यवसाय सञ्चालन तथा कागजातसम्बन्धी अनियमितताले बजारको व्यावसायिकतामाथि प्रश्न उठाएको छ।
कमिशन फिर्तादेखि उपहारसम्मको प्रलोभन
अभिकर्ताले बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा गर्न, अर्को अभिकर्ताको व्यवसायमा अनावश्यक हस्तक्षेप गर्न वा ग्राहकलाई बीमा गराउन कमिशन फिर्ता दिने, उपहार दिने अथवा बीमालेखमा उल्लेख नभएका गैरकानुनी सुविधा दिने कबोल गर्न पाइँदैन।
तर, पछिल्लो समय सामाजिक सञ्जालमा ‘डिस्काउन्ट’, ‘छुट’ लगायतका शब्द प्रयोग गर्दै ग्राहक आकर्षित गर्ने गतिविधि देखिने गरेका छन्।
लाइसेन्सबिनै अभिकर्ताको भूमिका
अभिकर्ताको वैध इजाजतपत्रबिना वा इजाजतपत्र नवीकरण नगरी बीमालेख बिक्री गर्नसमेत रोक लगाइएको छ।
तर, कतिपय अवस्थामा श्रीमान–श्रीमती, छोराछोरी, बुहारी वा दाजुभाइको नाममा जारी भएको अभिकर्ता लाइसेन्स प्रयोग गरी सम्बन्धित व्यक्ति आफैँ अभिकर्ताका रूपमा प्रस्तुत हुने गरेको गुनासो छ। यसले इजाजतपत्रको वास्तविक प्रयोगकर्ता को हो भन्ने प्रश्नसमेत उठाउने गरेको छ।
बीमितको व्यक्तिगत विवरण सामाजिक सञ्जालमा
बीमितको स्वास्थ्य अवस्था, उपचारसम्बन्धी अभिलेख, उमेर, आयस्रोत तथा अन्य व्यक्तिगत विवरण गोप्य राख्नुपर्ने व्यवस्था छ। बीमकबाहेक अन्य व्यक्ति वा संस्थालाई यस्तो विवरण अनधिकृत रूपमा उपलब्ध गराउन पाइँदैन।
तर, केही अभिकर्ताले बीमितको पहिचान खुल्ने विवरण र तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका छन्। यसले ग्राहकको गोपनीयताको अधिकारमाथि प्रश्न उठाएको छ।
ग्राहकलाई करकाप र अनावश्यक दबाब
अभिकर्ताले ग्राहकसँग दुर्व्यवहार गर्न, अनावश्यक दबाब दिन वा बीमितको इच्छाविपरीत बीमालेख परिवर्तन गर्न उत्प्रेरित गर्न हुँदैन।
ग्राहकलाई बीमाको वास्तविक आवश्यकता र सुविधाबारे जानकारी दिनुको सट्टा जबर्जस्ती निर्णय गराउने प्रवृत्तिले अभिकर्ता पेशाको विश्वसनीयता कमजोर पार्न सक्छ।
दाबी भुक्तानीका नाममा अनधिकृत शुल्क
बीमालेखबाट प्राप्त हुने रकमको कुनै अंश बीमित वा हकवालाबाट लिन तथा प्रस्ताव स्वीकृत नभएसम्म बीमाशुल्कको रकम बुझिलिनसमेत आचारसंहिताले रोक लगाएको छ।
विशेषगरी वैदेशिक रोजगार बीमाको दाबी भुक्तानी गराउन पहल गरिदिने भन्दै केही व्यक्तिबाट अनधिकृत सेवा शुल्क लिने गरेको गुनासोसमेत सुनिने गरेको छ।
बीमकसँग दोहोरो भूमिका
अभिकर्ताले कुनै बीमकको तलबी कर्मचारी, परामर्शदाता, सर्भेयर, सल्लाहकार वा लेखापरीक्षकका रूपमा समेत काम गर्न नपाउने व्यवस्था छ।
यस्तो व्यवस्था हुँदाहुँदै अभिकर्ता र बीमकबीचको व्यावसायिक सम्बन्धमा स्वार्थको द्वन्द्व सिर्जना हुन सक्ने अवस्थाप्रति पनि प्रश्न उठ्दै आएको छ।
बीमालेखमा नभएका सुविधा दिने आश्वासन
निर्धारित बीमादरभन्दा फरक दरमा व्यवसाय गर्ने, बीमाशुल्क आफैँ निर्धारण गर्ने वा बीमालेखमा उल्लेख नभएका सेवा–सुविधा दिने आश्वासन दिनसमेत पाइँदैन।
तर, कतिपय अभिकर्ताले बीमालेखमा नभएका सुविधा तथा सर्तलाई ग्राहकसमक्ष छुट वा अतिरिक्त लाभका रूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ। उदाहरणका रूपमा बीमांकको निश्चित प्रतिशत रकम वार्षिक रूपमा अग्रिम भुक्तानी हुने सुविधालाई नै बीमाशुल्क छुटका रूपमा व्याख्या गरी ग्राहकलाई भ्रममा पार्ने गतिविधि देखिएको छ।
प्रतिस्पर्धी बीमकविरुद्ध भ्रामक प्रचार
आफूले प्रतिनिधित्व नगर्ने बीमक वा आफू आबद्ध बीमकको क्षमता र सेवाका सम्बन्धमा गलत, भ्रामक वा अतिरञ्जित प्रचार गर्न पनि आचारसंहिताले रोक लगाएको छ।
तर, सामाजिक सञ्जालमा अन्य बीमकलाई नकारात्मक देखाउने सामग्री भेटिएमा त्यसलाई पुनः साझा गर्ने प्रवृत्तिसमेत देखिएको छ। यस्तो गतिविधिले स्वस्थ प्रतिस्पर्धाको वातावरण बिगार्न सक्ने देखिन्छ।
फर्जी कागजात प्रयोगको जोखिम
बीमा व्यवसायमा जालसाजी वा कीर्ते गरी गलत विवरण तथा कागजात तयार गर्ने कार्य गम्भीर रूपमा निषेध गरिएको छ।
तर, बीमितको आयस्रोत पुष्टि गर्न नक्कली सिफारिसपत्र तयार गर्ने, अन्डरराइटिङका लागि फर्जी स्वास्थ्य परीक्षण प्रतिवेदन प्रयोग गर्ने वा उपलब्ध गराउने जस्ता गतिविधि हुन सक्ने अवस्था देखिएको छ। यस्ता कार्यले बीमक र बीमित दुवैलाई दीर्घकालीन जोखिममा पार्न सक्छ।
स्वामित्वमा समेत बन्देज
कुनै बीमकको अभिकर्ता भएर काम गर्ने व्यक्ति, संस्था, सञ्चालक वा निजको एकाघर परिवारका सदस्यले सोही बीमकको संस्थापक, सञ्चालक वा आधारभूत शेयरधनी बन्न नपाउने व्यवस्था पनि आचारसंहितामा छ।
यसको उद्देश्य अभिकर्ता र बीमकबीच हुने सम्भावित स्वार्थको द्वन्द्वलाई नियन्त्रण गर्नु हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन उल्लंघन गर्न नपाइने
अभिकर्ताले आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गर्दा बीमा कानुनसँगै भ्रष्टाचार निवारण ऐन, सम्पत्ति शुद्धीकरण निवारण ऐनलगायत प्रचलित कानुनको समेत पालना गर्नुपर्छ।
स्रोत नखुलेको सम्पत्तिलाई जीवन बीमामार्फत व्यवस्थापन वा शुद्धीकरण गर्ने उपाय सुझाउने तथा बीमकलाई दबाब दिएर त्यस्ता व्यक्तिको बीमालेख जारी गराउने गतिविधि भएमा त्यो गम्भीर कानुनी प्रश्न बन्न सक्छ।
आचारसंहिता पालनामा कडाइ आवश्यक
बीमा व्यवसायमा अभिकर्ता ग्राहक र बीमकबीचको महत्वपूर्ण सम्पर्क व्यक्ति हुन्। त्यसैले अभिकर्ताको व्यवहारले समग्र बीमा क्षेत्रप्रतिको जनविश्वासमा प्रत्यक्ष प्रभाव पार्छ।
आचारसंहितामा स्पष्ट रूपमा निषेध गरिएका गतिविधि नियन्त्रण गर्न प्रभावकारी अनुगमन, उजुरीमाथि छानबिन तथा आवश्यक कारबाहीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ। व्यावसायिक मर्यादा कायम राख्दै पारदर्शी र स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन अभिकर्ता स्वयं पनि आचारसंहिता पालनामा जिम्मेवार बन्नुपर्ने देखिन्छ।












