प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक र कर्मचारीको एक दिनको पारिश्रमिकसहित रकम जम्मा
काठमाडौं । भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि महालक्ष्मी विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले २०८३ भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाटलगायतका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको बैंकले जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले बैंकको तर्फबाट तथा बैंकमा कार्यरत कर्मचारीको एक दिन बराबरको पारिश्रमिकसमेत समेटेर कुल ५१ लाख रुपैयाँ सहयोग गरिएको हो।
बैंकले बाढी तथा विपद्का कारण ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
महालक्ष्मी विकास बैंकले विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार र पुनःस्थापनाका लागि भइरहेका प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।












