२०८३ भाद्र २१ आईतवार
२०८३ भाद्र २१ आईतवार

भोटेकोशी बाढी : १ हजार ३३१ शव फेला, ५ हजार अझै सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको छ भने करिब ५ हजार जना अझै सम्पर्कविहीन रहेका छन्।

बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा १५६, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२२, नवलपरासीपश्चिममा २१९ तथा चितवनमा ३६० रहेका छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त अद्यावधिक विवरणअनुसार करिब १ हजार ९६७ जना र नुवाकोटबाट करिब २ हजार ३४० जना रहेका छन्। यस्तै, ५८९ जना विदेशी नागरिक तथा १०० जना सुरक्षाकर्मी र कर्मचारी समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

बेपत्ताको सङ्ख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार अभियानबाट हालसम्म १३ हजार १०१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ६८ तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा ४ हजार ८७१ जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ।

यस्तै, हालसम्म ९८ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ।

बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म ५ हजार ९२९ जनाको उपचार गरिएको प्रवक्ता महतले जानकारी दिए। विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनाबाट ३ हजार २९७ जना र सशस्त्र प्रहरी बलबाट २ हजार ३१६ जनाले स्वास्थ्योपचार सेवा लिएका छन्।

बाढी प्रभावितका लागि काठमाडौं, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ४१ वटा होल्डिङ सेन्टरमा ३ हजार ९८२ जनाले सुरक्षित आश्रय लिइरहेका छन्।

विस्थापित तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका छन्।

भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी तथा गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन्।

प्राधिकरणले सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाइएको जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।