काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी तथा आसपासका क्षेत्रमा ठूलो जनधनसँगै सडक तथा पुल पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ।

सडक विभागका अनुसार धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक तथा ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा करिब ३० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ।
बाढीका कारण अवरुद्ध राजमार्ग तथा रणनीतिक सडक तत्काल सञ्चालनमा ल्याउन सरकारले आपत्कालीन पुनर्निर्माण र बेलिब्रिज व्यवस्थापनको काम तीव्र पारेको छ। क्षतिग्रस्त सडकमा नयाँ ट्र्याक खोल्ने तथा भत्किएका पुलको स्थानमा बेलिब्रिज जडान गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको सडक विभागले जनाएको छ।
देवीघाटमा बेलिब्रिज जडान सुरु
नुवाकोटको विदुरस्थित देवीघाटमा बाढीले पुल बगाएपछि अवरुद्ध यातायात सञ्चालनमा ल्याउन नेपाली सेनाले बेलिब्रिज जडानको काम थालेको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पुलको सिभिल संरचना निर्माणको काम विभागले गरिरहेको छ भने पुल जडानको प्राविधिक काम नेपाली सेनाले सम्हालेको छ।
देवीघाटस्थित तादी खोलामा ६० मिटर लामो एक्रो ब्रिज जडान सुरु भएको सेनाले जनाएको छ।
भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले यहाँको करिब ५५ मिटर लामो पक्की पुल बगाएको थियो। सोही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान गर्न थालिएको हो। पुल निर्माण सम्पन्न भएपछि रसुवातर्फको यातायात पहुँच सहज हुने अपेक्षा गरिएको छ।

यस्तै त्रिशूली बजार र बेत्रावतीमा पनि बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ। यी स्थानमा करिब ४८ मिटर लामो पुल आवश्यक पर्ने देखिएको विभागले जनाएको छ।
क्षतिग्रस्त ३५ पुलमध्ये तत्काल तीन स्थानमा बेलिब्रिज जडान गरी गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
स्याफ्रुबेँसीमा ७५ मिटरको बेलिब्रिज आवश्यक
रसुवाको स्याफ्रुबेँसीमा समेत पुल बगाएकाले करिब ७५ मिटर लामो बेलिब्रिज आवश्यक पर्ने देखिएको छ।
सडक विभाग र नेपाली सेनासँग बेलिब्रिज उपलब्ध भए पनि तल्लो खण्डको सडक अवरुद्ध रहेकाले सामग्री घटनास्थलसम्म पुर्याउन समस्या भएको छ। सडक खुल्नेबित्तिकै बेलिब्रिजका सामग्री पुर्याएर जडान सुरु गरिने विभागले जनाएको छ।
चीन सरकारले समेत कोराला नाकामा बेलिब्रिजका सामग्री उपलब्ध गराएको छ। ती सामग्री नेपाल ल्याएर आवश्यकता अनुसार रसुवागढी वा अन्य क्षतिग्रस्त स्थानमा जडान गर्ने तयारी भइरहेको छ।
विभागका प्रवक्ता न्यौपानेका अनुसार अहिले मुख्य चुनौती नै बेलिब्रिज लैजानुपर्ने स्थानसम्म सडक पहुँच पुर्याउनु हो। सडक खुलेपछि क्षतिग्रस्त स्थानमा बेलिब्रिज जडानको कामले गति लिनेछ।
स्थानीय अवरोधका कारण अस्थायी सडक निर्माणमा ढिलाइ
बाढीले थुपारेको लेदो र गेग्रानका कारण पुरानै सडकबाट तत्काल यातायात सञ्चालन गर्न कठिन भएको छ। त्यसैले बेत्रावतीसम्म वैकल्पिक अस्थायी सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
तर विदुर नगरपालिका–१० मा स्थानीयको अवरोधका कारण काममा केही ढिलाइ भएको सडक विभागले जनाएको छ।
पुरानो सडकमा तीनदेखि चार मिटरसम्म लेदो र गेग्रान थुप्रिएकाले त्यसलाई हटाउन लामो समय लाग्ने भएपछि विभागले वैकल्पिक रूपमा खेतको बाटो प्रयोग गरी तत्काल ट्र्याक खोल्ने प्रयास गरेको थियो। तर स्थानीयले मुआब्जा नपाएसम्म काम गर्न नदिने अडान राखेपछि समस्या भएको विभागको भनाइ छ।
विवाद समाधान भए दुई दिनभित्रै बेत्रावतीसम्म सडक जोड्ने विभागको योजना छ। बेत्रावती पार गरेपछि धुन्चेसम्मको पहुँच सहज हुने अपेक्षा गरिएको छ।
कृष्णभीरमा नयाँ ट्र्याक खोलियो
त्रिशूलीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक कटान गरेपछि भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम भइरहेको छ।
नेपाल जियोटेक्निकल सोसाइटीको प्राविधिक परामर्शमा ५.५ देखि ८ मिटर चौडाइको ट्र्याक खोल्ने तयारी गरिएको छ।
भित्तो काटेर करिब २५२ मिटर ट्र्याक खन्ने काम सम्पन्न भइसकेको छ। यससँगै मेसिन आवतजावत गर्न सक्ने अस्थायी ट्र्याक तयार भएको सडक विभागले जनाएको छ। अब केही दिन मर्मत गरेपछि सवारी सञ्चालनमा ल्याउने तयारी छ।
यसैगरी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर खण्डमा आज सवारी आवागमन पूर्ण रूपमा बन्द गरी मर्मत कार्य भइरहेको सडक विभागले जनाएको छ।
बाढीबाट क्षतिग्रस्त सडक तथा पुललाई प्राथमिकताका आधारमा पुनर्निर्माण गर्दै अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउने प्रयास भइरहेको विभागले जनाएको छ।










