काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा निक्षेप उल्लेख्य रूपमा बढ्दै गए पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार भने सुस्ताउँदै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले पछिल्ला चार वर्षदेखि निक्षेपको वृद्धिदर कर्जाको तुलनामा लगातार उच्च रहेको देखाएको छ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप १३.९ प्रतिशतले बढेर ८२ खर्ब ७६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। एक वर्षमा निक्षेप १० खर्ब १३ अर्ब ५ करोड रुपैयाँले बढेको हो। अघिल्लो आर्थिक वर्षमा निक्षेप वृद्धिदर १२.६ प्रतिशत रहेको थियो।
तर, निक्षेपको तुलनामा कर्जा विस्तार भने निकै कमजोर देखिएको छ। गत आवमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले मात्रै बढेर ५८ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा निजी क्षेत्रतर्फको कर्जा वृद्धिदर ८.४ प्रतिशत थियो। यसरी एक वर्षमै कर्जा वृद्धिदर १.९ प्रतिशत बिन्दुले घटेको छ।
निक्षेप बढ्दै, कर्जा माग कमजोर
पछिल्ला चार वर्षको तथ्यांक हेर्दा बैंकिङ प्रणालीमा निक्षेपको वृद्धि कर्जाको तुलनामा निरन्तर उच्च रहँदै आएको छ। बैंकमा स्रोत थपिँदै गए पनि निजी क्षेत्रबाट कर्जाको माग अपेक्षाकृत कमजोर हुँदा उपलब्ध वित्तीय स्रोतको पूर्ण परिचालन हुन नसकेको देखिन्छ।
यसले बैंक तथा वित्तीय संस्थामा तरलता बढाउने र त्यसको व्यवस्थापन चुनौतीपूर्ण बनाउने अवस्था सिर्जना गरेको छ। कर्जा विस्तार बढ्न नसके बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलताले वित्तीय क्षेत्रमा दबाब बढाउन सक्ने देखिन्छ।
बचत निक्षेपको हिस्सा बढ्यो
राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म कुल निक्षेपमा बचत निक्षेपको हिस्सा ४७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष बचत निक्षेपको हिस्सा ३६.८ प्रतिशत थियो।

त्यस्तै, चल्ती निक्षेपको हिस्सा ८.१ प्रतिशत रहेको छ। मुद्दती निक्षेपको हिस्सा भने घटेको छ। अघिल्लो वर्ष ४८.३ प्रतिशत रहेको मुद्दती निक्षेपको हिस्सा गत आवमा ३५.३ प्रतिशतमा झरेको छ। ब्याजदरमा आएको गिरावटका कारण मुद्दती निक्षेपप्रतिको आकर्षण घटेको देखिन्छ।
तरलता व्यवस्थापनमा राष्ट्र बैंकलाई दबाब
बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ठूलो मात्रामा तरलता प्रशोचन गरेको छ।
राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा निक्षेप संकलन बोलकबोलमार्फत ३६ खर्ब २० अर्ब ३० करोड रुपैयाँ, स्थायी निक्षेप सुविधामार्फत ३८ हजार ४ सय ९५ अर्ब रुपैयाँ तथा नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत ४० खर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको थियो।
यस अवधिमा ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। उपलब्ध तथ्यांकले बैंकिङ प्रणालीमा रहेको स्रोतको ठूलो हिस्सा उत्पादनशील क्षेत्रमा कर्जा विस्तारमार्फत परिचालन हुन नसकेको संकेत गर्छ।
उत्पादनशील क्षेत्रमा कर्जा माग बढाउनुपर्ने
निक्षेप र कर्जाबीच बढ्दै गएको अन्तरलाई कम गर्न उत्पादनशील क्षेत्रमा कर्जाको माग बढाउने वातावरण निर्माण गर्नुपर्ने देखिएको छ। लगानीको विश्वास अभिवृद्धि, निजी क्षेत्रको लगानी विस्तार तथा उपलब्ध वित्तीय स्रोतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलतालाई अर्थतन्त्रको सक्रियतासँग जोड्न सकिने देखिन्छ।
निक्षेप निरन्तर बढ्ने तर कर्जा विस्तार सुस्त रहने अवस्था लामो समय कायम रहेमा बैंक तथा वित्तीय संस्थाको आम्दानी, लगानीको प्रतिफल र समग्र वित्तीय स्रोत परिचालनमा समेत असर पर्न सक्ने जानकारहरूको बुझाइ छ।










