सिन्धुपाल्चोक । नेपाल मानव अधिकार संगठन सिन्धुपाल्चोक जिल्ला शाखाको २८औँ साधारणसभा तथा सातौँ जिल्ला अधिवेशन मेलम्चीमा सुरु भएको छ।
जिल्ला सभापति यज्ञप्रसाद दंगालको अध्यक्षतामा सुरु भएको अधिवेशनको उद्घाटन कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ।
कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष टीका डाँगी, बागमती प्रदेश अध्यक्ष राजु सिग्देल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, संगठनका केन्द्रीय सदस्यहरू, नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका जिल्ला सभापति राजेन्द्रमान ताल्चाभँडेललगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा व्यक्तित्वहरूको उपस्थिति रहेको छ।
अधिवेशनले संगठनको आगामी कार्यदिशा, मानव अधिकार संरक्षण तथा प्रवर्द्धनका विषयमा छलफल गर्नुका साथै नयाँ जिल्ला कार्यसमिति चयन गर्ने बताइएको छ।











