काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा खरिद गरी घरमा ल्याएर पूजा गर्ने परम्पराअनुसार धनतेरस पर्व मनाइँदैछ।
यस वर्ष तिथिको घटबढका कारण पाँच दिन मनाइने तिहार छ दिनसम्म चल्ने भएको छ। कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म मनाइने यो पर्वअन्तर्गत विभिन्न दिनमा काग, कुकुर, गाई, गोरु तथा लक्ष्मीको पूजा गरिन्छ।
पण्डित नारायणप्रसाद दुलालका अनुसार आज बिहान सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी सुरु हुने भएकाले आज धनतेरस मनाउन लागिएको हो। त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।
यस वर्ष त्रयोदशी तिथिमा गरिने कागपूजा र धन्वन्तरी जयन्ती शनिबार परेको छ। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा गर्ने कार्यक्रम रहेको छ। कात्तिक २५ गते भाइटीका मनाइनेछ।
धनतेरसका अवसरमा नयाँ धातुका भाँडाकुँडा, सुनचाँदीका गहना, सिक्का, खरेटो तथा धनियाँ खरिद गर्ने चलन छ। मिथिला क्षेत्रमा भने त्रयोदशीको साँझ दीपमालिका गर्ने परम्परासमेत रहेको छ।
धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले पनि सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ। बबरमहलस्थित राष्ट्र बैंकको कार्यालयबाट बिहीबारदेखि सुरु गरिएको सिक्का बिक्री आज पनि जारी रहनेछ।












