२०८३ कार्तिक २१ शुक्रबार
२०८३ कार्तिक २१ शुक्रबार

जीवन बीमा बजारमा उत्साह, प्रथम बीमाशुल्क संकलन ३३ प्रतिशतभन्दा बढीले बढ्यो

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १४ जीवन बीमा कम्पनीले कुल १२ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ५४ करोड ९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको थियो। यस वर्ष संकलन रकम ३३.६७ प्रतिशतले बढेको हो।

प्रथम बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले असोज मसान्तसम्म ३ अर्ब १५ करोड १२ लाख रुपैयाँ संकलन गरेको छ। गत वर्षको सोही अवधिमा २ अर्ब ७० करोड ७९ लाख रुपैयाँ संकलन गरेको कम्पनीको वृद्धिदर १६.३७ प्रतिशत रहेको छ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले २ अर्ब ११ करोड ३१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। गत वर्षको तुलनामा कम्पनीको संकलन ६०.४६ प्रतिशतले बढेको हो। अर्बभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्ने कम्पनी नेपाल लाइफ र नेशनल लाइफ मात्र रहेका छन्।

तेस्रो स्थानमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८८ करोड ८८ लाख रुपैयाँ संकलन गरेको छ। त्यस्तै, एलआईसी नेपालले ८१ करोड ३९ लाख र सिटिजन लाइफ इन्स्योरेन्सले ७७ करोड २३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।

यसैगरी आईएमई लाइफले ७३ करोड ९४ लाख, हिमालयन लाइफले ६९ करोड १७ लाख, एशियन लाइफले ६७ करोड ३३ लाख र सानिमा रिलायन्स लाइफले ६४ करोड २२ लाख रुपैयाँ संकलन गरेका छन्।

रिलायबल नेपाल लाइफले ६० करोड ९८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दा प्रभु महालक्ष्मी लाइफले ५५ करोड १४ लाख रुपैयाँ संकलन गरेको छ। मेट लाइफले ४६ करोड ९९ लाख र सन नेपाल लाइफले ३३ करोड २० लाख रुपैयाँ संकलन गरेका छन्।

वृद्धिदरका आधारमा भने आईएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको प्रथम बीमाशुल्क संकलन गत वर्षको तुलनामा ७४.१० प्रतिशतले बढेको छ। त्यस्तै, प्रभु महालक्ष्मी लाइफको संकलन ७२.०२ प्रतिशतले बढेको छ। सन नेपाल लाइफले ६८.२१ प्रतिशत र नेशनल लाइफले ६०.४६ प्रतिशतको वृद्धि हासिल गरेका छन्।

यता, राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क संकलन भने घटेको छ। कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३० करोड ३६ लाख रुपैयाँ मात्र संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड ४६ लाख रुपैयाँ संकलन गरेको कम्पनीको आम्दानी ३३.२२ प्रतिशतले घटेको हो।

समीक्षा अवधिमा प्रथम बीमाशुल्क संकलन घट्ने राष्ट्रिय जीवन बीमा कम्पनी एक मात्र रहेको छ। समग्रमा जीवन बीमा बजारमा नयाँ बीमालेख बिक्रीबाट प्राप्त हुने प्रथम बीमाशुल्क संकलनमा सुधार देखिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।