२०८३ आश्विन १७ शनिबार
२०८३ आश्विन १७ शनिबार

३७ वर्ष शिक्षण सेवापछि बद्रीप्रसाद नेपालको भव्य विदाइ, विद्यालयमा कम्प्युटर ल्याब उद्घाटन

चौतारा : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवास्थित भवानी शंकर माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब उद्घाटनसँगै निवर्तमान प्रधानाध्यापक बद्री प्रसाद नेपालको भव्य विदाइ गरिएको छ ।
करिब ३७ वर्ष शिक्षण सेवामा बिताएका नेपाललाई विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले बाजागाजासहित भावुक वातावरणमा विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले विद्यालयमा स्थापना गरिएको कम्प्युटर ल्याबको उद्घाटन गर्दै अवकाशप्राप्त प्रधानाध्यापक नेपाललाई आगामी जीवन सुखद, सफल र सम्मानपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरिन् ।

मनरा फाउन्डेसन, गोर्खाको सहयोगमा विद्यालयलाई १३ थान ल्यापटप उपलब्ध गराइएको हो । आधुनिक प्रविधिको प्रयोगबाट विद्यार्थीको सिकाइ क्षमता तथा शैक्षिक स्तरमा थप सुधार हुने विश्वास सहयोगी संस्थाले लिएको छ ।
सहयोगी संस्थाले विद्यालयमा कार्यरत शिक्षकहरूलाई सफ्टवेयर सञ्चालन तथा सूचना प्रविधिसम्बन्धी सीप विकासका लागि सातदिने प्रशिक्षणसमेत दिने जनाएको छ । विद्यालयको खस्कँदो शैक्षिक अवस्थालाई सुधार गर्न सहयोगी संस्थाले पुर्‍याएको योगदानको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नकुल नेपालले मुक्तकण्ठले प्रशंसा गरे ।

अध्यक्ष नेपालले लामो समय गाउँको शैक्षिक विकासमा योगदान पुर्‍याएका निवर्तमान प्रधानाध्यापक बद्री प्रसाद नेपालको योगदानको स्मरण गर्दै अवकाशपछिको जीवन सुखमय र सफल रहोस् भन्ने शुभकामना दिए ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडाध्यक्ष उद्धव नेपाल, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख बैकुण्ठ सुवेदी, शिक्षक–अभिभावक संघका अध्यक्ष सरोज बोहोरा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दीपक अर्याल तथा पूर्ववडाध्यक्ष शेरबहादुर श्रेष्ठलगायतले अवकाशप्राप्त प्रधानाध्यापक नेपाललाई शुभकामना व्यक्त गरेका थिए ।
स्थानीयवासीको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा विगतमा भवानी शंकर माध्यमिक विद्यालयबाट सरुवा भएका शिक्षक–शिक्षिकालाई समेत सम्मान गरिएको थियो ।

लामो समय विद्यालयको नेतृत्व सम्हाल्दै शैक्षिक क्षेत्रमा योगदान दिएका नेपाललाई कार्यक्रममा उपस्थित शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले आगामी जीवनका लागि शुभकामना दिएका थिए ।
औपचारिक विदाइ कार्यक्रम सम्पन्न भएपछि अवकाशप्राप्त प्रधानाध्यापक नेपाललाई विद्यालयबाट बाजागाजासहित घरसम्म पुर्‍याइएको विद्यालयका निमित्त प्रधानाध्यापक भुपेन्द्रसिंह धामीले जानकारी दिए ।

करिब चार दशक लामो शिक्षण यात्रापछि सेवाबाट अवकाश लिएका नेपाललाई गरिएको सम्मान र विदाइ डडुवाको शैक्षिक समुदायका लागि भावुक तथा स्मरणीय क्षण बनेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।