
चौतारा : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवास्थित भवानी शंकर माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब उद्घाटनसँगै निवर्तमान प्रधानाध्यापक बद्री प्रसाद नेपालको भव्य विदाइ गरिएको छ ।
करिब ३७ वर्ष शिक्षण सेवामा बिताएका नेपाललाई विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले बाजागाजासहित भावुक वातावरणमा विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले विद्यालयमा स्थापना गरिएको कम्प्युटर ल्याबको उद्घाटन गर्दै अवकाशप्राप्त प्रधानाध्यापक नेपाललाई आगामी जीवन सुखद, सफल र सम्मानपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरिन् ।
मनरा फाउन्डेसन, गोर्खाको सहयोगमा विद्यालयलाई १३ थान ल्यापटप उपलब्ध गराइएको हो । आधुनिक प्रविधिको प्रयोगबाट विद्यार्थीको सिकाइ क्षमता तथा शैक्षिक स्तरमा थप सुधार हुने विश्वास सहयोगी संस्थाले लिएको छ ।
सहयोगी संस्थाले विद्यालयमा कार्यरत शिक्षकहरूलाई सफ्टवेयर सञ्चालन तथा सूचना प्रविधिसम्बन्धी सीप विकासका लागि सातदिने प्रशिक्षणसमेत दिने जनाएको छ । विद्यालयको खस्कँदो शैक्षिक अवस्थालाई सुधार गर्न सहयोगी संस्थाले पुर्याएको योगदानको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नकुल नेपालले मुक्तकण्ठले प्रशंसा गरे ।
अध्यक्ष नेपालले लामो समय गाउँको शैक्षिक विकासमा योगदान पुर्याएका निवर्तमान प्रधानाध्यापक बद्री प्रसाद नेपालको योगदानको स्मरण गर्दै अवकाशपछिको जीवन सुखमय र सफल रहोस् भन्ने शुभकामना दिए ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडाध्यक्ष उद्धव नेपाल, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख बैकुण्ठ सुवेदी, शिक्षक–अभिभावक संघका अध्यक्ष सरोज बोहोरा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दीपक अर्याल तथा पूर्ववडाध्यक्ष शेरबहादुर श्रेष्ठलगायतले अवकाशप्राप्त प्रधानाध्यापक नेपाललाई शुभकामना व्यक्त गरेका थिए ।
स्थानीयवासीको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा विगतमा भवानी शंकर माध्यमिक विद्यालयबाट सरुवा भएका शिक्षक–शिक्षिकालाई समेत सम्मान गरिएको थियो ।
लामो समय विद्यालयको नेतृत्व सम्हाल्दै शैक्षिक क्षेत्रमा योगदान दिएका नेपाललाई कार्यक्रममा उपस्थित शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले आगामी जीवनका लागि शुभकामना दिएका थिए ।
औपचारिक विदाइ कार्यक्रम सम्पन्न भएपछि अवकाशप्राप्त प्रधानाध्यापक नेपाललाई विद्यालयबाट बाजागाजासहित घरसम्म पुर्याइएको विद्यालयका निमित्त प्रधानाध्यापक भुपेन्द्रसिंह धामीले जानकारी दिए ।
करिब चार दशक लामो शिक्षण यात्रापछि सेवाबाट अवकाश लिएका नेपाललाई गरिएको सम्मान र विदाइ डडुवाको शैक्षिक समुदायका लागि भावुक तथा स्मरणीय क्षण बनेको थियो ।


जिल्लास्तरीय स्वास्थ्य सेवा तथा कार्यक्रम कार्यसम्पादन मूल्यांकनमा सुनकोशी गाउँपालिका प्रथम भएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८२/०८३ को स्वास्थ्य कार्यक्रमहरुको विभिन्न जनस्वास्थ्य सेवाका सुचकहरु तथा कार्यसम्पादनक आधारमा गरेको मूल्यांकनमा सुनकोशी गाउँपालिका प्रथम, पाँचपोखरी थाङपाल गाउँपालिका दोस्रो, त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो र हेलम्बु गाउँपालिका सान्त्वना भएको हो ।
जनस्वास्थ्य कार्यालयको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम समापनको अवसरमा आयोजित कार्यक्रममा आज स्वास्थ्य कार्यक्रमको कार्यसम्पादन, सेवा प्रवाह तथा स्वास्थ्य क्षेत्रका विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनबाट उत्कृष्ट पालिकाहरू छनोट गरिएको जनाइएको छ ।
जनस्वास्थ्य कार्यालयका तथ्यांक सहायक अस्मिता श्रेष्ठका अनुसार स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम तथा सूचकमा प्राप्त उपलब्धिका आधारमा पालिकाहरूको मूल्यांकन गरिएको हो ।
उत्कृष्ट स्थान हासिल गर्ने पालिकालाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, निमित्त प्रमुख जिल्ला अधिकारी श्रीकृष्णप्रसाद शर्मा, समन्वय अधिकारी राजेन्द्र अर्याल, चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विवेक भण्डारी, जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईं तथा स्वास्थ्य निर्देशनालय बागमतीका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेल लगायतले सम्मान गर्नुभएको जनस्वास्थ्य अधिकृत निसान सापकोटाले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नियमित सेवा प्रवाह र तथ्यांक व्यवस्थापनलगायतका क्षेत्रमा पालिकाहरूले गरेको कार्यसम्पादनलाई मूल्यांकनको आधार बनाइएको जनाइएको छ ।
यस उपलब्धिले पालिकास्तरमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा स्वास्थ्य कार्यक्रमको कार्यान्वयनमा प्रतिस्पर्धात्मक र सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






