काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्न थालेको छ । आज बिहान ५ बजे गरिएको मापनअनुसार जलाशयमा पानीको सतह १५२५.११ मिटर पुगेको छ ।
कूल १५३० मिटर जल भण्डारण क्षमता रहेको यस जलाशयमा पानीको चाप बढेसँगै हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ ।
लगातारको भारी वर्षाले गर्दा अघिल्ला दिनहरूको तुलनामा अहिले जलाशयमा पानीको सतह निकै द्रुत गतिमा भरिँदै गएको छ । पानीको सतह थपिँदै गएर १५२७ मिटर पुगेपछि जोखिमको सङ्केत स्वरूप पहिलो साइरन बजाइनेछ ।
सम्बन्धित निकायका अनुसार पानीको सतह बढ्ने क्रम जारी रहेमा क्रमशः तीन पटक साइरन बजाइनेछ । तीन पटक साइरन बज्नुको अर्थ जलाशयमा पानीको सतह पूर्ण क्षमता अर्थात् १५३० मिटर पुगेको हुनेछ । त्यसपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिस्तारै ड्याम (बाँध) का मुख्य ढोकाहरू खोलिनेछन् ।

Post Views: 16











