२०८३ आश्विन ११ आईतवार
२०८३ आश्विन ११ आईतवार

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट दुर्गाबहादुर तामाङ (च्याङ्वा) ले केन्द्रीय महाधिवेशन प्रतिनिधि (समावेशीतर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
इन्द्रावती गाउँपालिका–५ का पूर्ववडा अध्यक्षसमेत रहेका तामाङले कांग्रेस संगठनलाई थप समावेशी, लोकतान्त्रिक र जनमुखी बनाउने प्रतिबद्धतासहित उम्मेदवारी दिएको बताएका छन्।
उनले संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा तथा समावेशी लोकतन्त्रको आधार निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाएको उल्लेख गरेका छन्।
तामाङले क्षेत्र नं. २ अन्तर्गतका ४९ वटै वडाका वडा सभापति, क्षेत्रीय प्रतिनिधि, अग्रज नेतागण तथा पार्टीका शुभेच्छुकहरूसँग सहयोग र समर्थनका लागि अपिल गरेका छन्। उनले आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रहसमेत गरेका छन्।

काठमाडौं । तीन कारोबार दिनमा सीमित यो साता शेयर बजारको प्रमुख परिसूचक नेप्से १७.४१ अंकले घटेको छ। बजारमा नीतिगत सुधारका विभिन्न पहल अघि बढिरहे पनि साप्ताहिक कारोबारको अन्त्यमा नेप्से २६२९.८१ विन्दुमा झरेको हो।

गत साताको अन्तिम कारोबार दिन नेप्से २६४७.२२ विन्दुमा थियो। यसअनुसार एक सातामा नेप्से ०.६६ प्रतिशतले घटेको छ।

साप्ताहिक बजारको मुख्य तथ्यांक
सूचक गत साता यस साता परिवर्तन
नेप्से परिसूचक २६४७.२२ २६२९.८१ १७.४१ अंक घट्यो
दैनिक औसत कारोबार रकम रु. ६ अर्ब १२ करोड रु. ६ अर्ब २८ करोड २.६५% वृद्धि
दैनिक औसत कारोबार भएको शेयर संख्या — — २२.९८% वृद्धि
कारोबार संख्या — — ०.३४% वृद्धि
कुल बजार पूँजीकरण रु. ४५ खर्ब ५३ अर्ब रु. ४५ खर्ब २३ अर्ब करिब रु. २९ अर्ब कमी

नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। गत साता दैनिक औसत ६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएकोमा यस साता यो बढेर ६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। अर्थात् दैनिक औसत कारोबार रकममा १६ करोड रुपैयाँले वृद्धि भएको छ।

त्यसैगरी, दैनिक औसत कारोबार भएको शेयर संख्यामा २२.९८ प्रतिशत र कारोबार संख्यामा ०.३४ प्रतिशत वृद्धि भएको छ।

बजार पूँजीकरण २९ अर्ब घट्यो

नेप्से परिसूचकमा आएको गिरावटसँगै कुल बजार पूँजीकरण पनि घटेको छ।

गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ४५ खर्ब ५३ अर्ब रुपैयाँ थियो। यस साता यो रकम घटेर ४५ खर्ब २३ अर्ब रुपैयाँमा आएको छ।

यसअनुसार एक सातामा कुल बजार पूँजीकरणमा करिब २९ अर्ब रुपैयाँको कमी आएको छ।

नेप्सेको पछिल्लो कारोबार तथ्यांकअनुसार २४ सेप्टेम्बरमा कुल बजार पूँजीकरण रु. ४५ खर्ब २३ अर्ब ६१ करोडभन्दा बढी रहेको थियो। सो दिन नेप्से २६२९.८१ विन्दुमा बन्द भएको थियो।

अन्य प्रमुख सूचक पनि घटे

यस साता नेप्सेसँगै अन्य प्रमुख सूचकमा पनि गिरावट आएको छ।

फ्लोट इण्डेक्स : २.०६ अंकले घट्यो।
सेन्सेटिभ इण्डेक्स : १.२८ अंकले घट्यो।
सेन्सेटिभ फ्लोट इण्डेक्स : ०.९६ अंकले घट्यो।

यसले समग्र बजार परिसूचकसँगै ठूला तथा छनोट गरिएका कम्पनीलाई समेट्ने सूचकहरूमा पनि साप्ताहिक गिरावट देखिएको स्पष्ट गर्छ।

१३ उपसमूहमध्ये अधिकांश घटे

यो साता नेप्सेका १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधनबाहेक अधिकांश उपसमूहको परिसूचक घटेको छ। एउटा उपसमूह भने स्थिर रहेको छ।

उत्पादन तथा प्रशोधन उपसमूह भने सकारात्मक रह्यो। अघिल्लो साता १० हजार ७१२.६६ विन्दुमा रहेको उक्त उपसमूहको परिसूचक यस साता १२०.७८ अंक बढेर १० हजार ८३३.४४ विन्दुमा पुगेको छ। प्रतिशतमा यसको वृद्धि १.१३ प्रतिशत हो।

यसको विपरीत जलविद्युत उपसमूहमा प्रतिशतका आधारमा सबैभन्दा ठूलो गिरावट आएको छ।

उपसमूह गत साता यस साता परिवर्तन
उत्पादन तथा प्रशोधन १०,७१२.६६ १०,८३३.४४ १२०.७८ अंक बढ्यो
जलविद्युत ३,६६५.०८ ३,६०३.४१ १.६८% घट्यो
निर्जीवन बीमा — — १६४.३७ अंक घट्यो

जलविद्युत उपसमूहको परिसूचक ६१.६७ अंकले घटेको हो। प्रतिशतका आधारमा यसको गिरावट १.६८ प्रतिशत रहेको छ।

अंकका आधारमा भने निर्जीवन बीमा उपसमूहको परिसूचक १६४.३७ अंकले घटेको छ।

नीतिगत सुधारका पहल जारी

शेयर बजार तथा वित्तीय क्षेत्रमा सुधारका लागि यस अवधिमा विभिन्न नीतिगत पहल अघि बढाइएका छन्। अर्थ मन्त्रालयले शेयर बजारसहित वित्तीय क्षेत्र सुधारका लागि २१ बुँदे राहत तथा सुधार प्याकेज अघि सारेको छ।

त्यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई सम्बोधन गर्ने तथा पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा परिवर्तन गर्ने निर्णय भएका छन्।

नेपाल राष्ट्र बैंकले शेयर बजारसँग सम्बन्धित केही नीतिगत व्यवस्थामा लचकता अपनाएको छ। नेपाल धितोपत्र बोर्डले पनि बजार सुधार तथा नियमनसँग सम्बन्धित विभिन्न प्रक्रिया अघि बढाएको छ।

यद्यपि, यी सुधारका पहल भइरहेकै अवधिमा यस साता नेप्से परिसूचक ०.६६ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ।

लाभांश घोषणा र वित्तीय विवरण सार्वजनिक हुने क्रम

यसैबीच सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम जारी छ। कम्पनीहरूले वित्तीय विवरण सार्वजनिकसँगै लाभांशसम्बन्धी निर्णय पनि सार्वजनिक गर्न थालेका छन्।

यस अवधिमा कम्पनीहरूको वित्तीय अवस्था, लाभांश तथा अन्य कर्पोरेट गतिविधिसम्बन्धी सूचना शेयर बजारमा थपिने क्रम रहेको छ।

४२ लाखभन्दा बढी कित्ता धितोपत्र सूचीकृत

यस साता नेपाल स्टक एक्सचेञ्जमा ४२ लाख ९ हजार ८६२.५० कित्ता धितोपत्र सूचीकृत भएका छन्।

सूचीकृत धितोपत्रमा ७ प्रतिशत लक्ष्मी सनराइज बैंक डिबेञ्चर २०९२ तथा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस शेयर रहेका छन्।

समग्रमा हेर्दा, यस साता नेप्से १७.४१ अंकले घटेर २६२९.८१ विन्दुमा बन्द भएको छ। सूचक र बजार पूँजीकरणमा कमी आए पनि दैनिक औसत कारोबार रकम २.६५ प्रतिशत, कारोबार भएको शेयर संख्या २२.९८ प्रतिशत र कारोबार संख्या ०.३४ प्रतिशतले बढेको छ। यसरी साप्ताहिक बजार तथ्यांकमा सूचक र कारोबार गतिविधि फरक दिशामा देखिएका छन्।

काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्न थालेको छ । आज बिहान ५ बजे गरिएको मापनअनुसार जलाशयमा पानीको सतह १५२५.११ मिटर पुगेको छ ।

कूल १५३० मिटर जल भण्डारण क्षमता रहेको यस जलाशयमा पानीको चाप बढेसँगै हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ ।

लगातारको भारी वर्षाले गर्दा अघिल्ला दिनहरूको तुलनामा अहिले जलाशयमा पानीको सतह निकै द्रुत गतिमा भरिँदै गएको छ । पानीको सतह थपिँदै गएर १५२७ मिटर पुगेपछि जोखिमको सङ्केत स्वरूप पहिलो साइरन बजाइनेछ ।

सम्बन्धित निकायका अनुसार पानीको सतह बढ्ने क्रम जारी रहेमा क्रमशः तीन पटक साइरन बजाइनेछ । तीन पटक साइरन बज्नुको अर्थ जलाशयमा पानीको सतह पूर्ण क्षमता अर्थात् १५३० मिटर पुगेको हुनेछ । त्यसपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिस्तारै ड्याम (बाँध) का मुख्य ढोकाहरू खोलिनेछन् ।

नारायण नदीले खतराको तह पार गरेको छ।

राष्ट्रिय विपद् जोखिम जोखिम न्यूनीकरण प्राधिकरणले आज (आइतबार) बिहान सूचना जारी गरी नारायणी नदीले खतराको तह पार गरेको जानकारी दिएको हो।

यसैले चितवन, नवलपरासीपूर्व र नवलपरासीपश्चिम जिल्लालगायत उक्त नदी आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न प्राधिकरणले सुझाव दिएको छ।

सिन्धुपाल्चोक। नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनको संघारमा सिन्धुपाल्चोकमा चुनावी सरगर्मी तीव्र बनेको छ। यसै क्रममा पार्टीका युवा तथा प्रभावशाली नेता सागरकुमार श्रेष्ठले सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट खुल्ला पदतर्फ ‘केन्द्रीय महाधिवेशन प्रतिनिधि’ पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

“वैचारिक नेतृत्व, गतिशील संगठन” भन्ने मुख्य नाराका साथ उहाँ आगामी १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको रूपमा चुनावी मैदानमा उत्रिनुभएको हो।

लामो समयदेखि पार्टी संगठन निर्माणका साथै सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आउनुभएका श्रेष्ठ सिन्धुपाल्चोकमा विकासप्रेमी र संकटका सच्चा साथीका रूपमा परिचित हुनुहुन्छ। बाढीका कारण खण्डहर बनेको मेलम्ची क्षेत्रलाई पुनरुत्थान गर्दै समग्र मेलम्चीको पुनर्निर्माण र पुनर्जागरणमा उहाँले अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। यसका साथै, आजभन्दा करिब २० वर्ष अगाडि सिन्धुपाल्चोकको साबिक २ नम्बर क्षेत्रलाई लोडसेडिङ मुक्त गराउने ऐतिहासिक अभियानको सुत्रधार र नेतृत्वकर्ताका रूपमा समेत उहाँले महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ।

विनाशकारी भूकम्पका बेला खुल्ला आकाशमुनि रहेका पीडितहरूका लागि गाउँ-गाउँमा पुगी राहत सामग्री, आर्थिक सहयोगका साथै विद्यालयहरूमा न्यानो कपडा र अस्थायी शिक्षण केन्द्र (TLC) निर्माणमा श्रेष्ठ निरन्तर सक्रिय रहनुभएको थियो। कोरोना महामारीका कठिन दिनहरूमा पनि उहाँले आफ्नै जीवनको पर्वाह नगरी वडा-वडामा अक्सिजन सिलिन्डर, मास्क तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री पुर्‍याउन ठूलो योगदान पुर्‍याउनुभयो।

विचार र विकासको अडानलाई सधैँ प्राथमिकतामा राख्दै आउनुभएका श्रेष्ठले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमार्फत पार्टीलाई अझ सुदृढ, सशक्त र गतिशील बनाउनका लागि सम्पूर्ण क्षेत्रीय प्रतिनिधि तथा नेता-कार्यकर्ताहरूसँग अमूल्य सहयोग र मतको अपिल गर्नुभएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।