काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबारदेखि खाना पकाउने एलपी ग्यास पुरानै मूल्यमा बिक्री हुने भएको छ।
कृष्णभीरमा वैकल्पिक सडक निर्माण गरी दुईतर्फी यातायात सञ्चालनमा आएपछि ग्यास ढुवानी सहज भएसँगै नेपाल आयल निगमले ग्यासको मूल्य पुरानै दरमा कायम गर्ने तयारी गरेको हो।
कृष्णभीर सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपरेकाले उद्योगीहरूले प्रतिसिलिन्डर रु. १०५.३८ अतिरिक्त लागत जोडेर बिक्री गर्दै आएका थिए।
अब भने साविककै प्रतिसिलिन्डर रु. २ हजार ६० मा ग्यास बिक्री हुने बताइएको छ। ग्यास उद्योगीहरूले समेत आफ्ना डिलर तथा डिस्ट्रिब्युटरलाई पुरानै मूल्यमा बिक्री गर्न निर्देशन दिने तयारी गरेका छन्।
नेपाल ग्यासका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टका अनुसार कृष्णभीरको सडक खुलेपछि ढुवानी सहज भएकाले शुक्रबारदेखि ग्यास पुरानै मूल्यमा उपलब्ध हुनेछ।
उनका अनुसार पछिल्लो समय कृष्णभीर सडक अवरुद्ध हुनु तथा हाफ सिलिन्डरसम्बन्धी अन्योलका कारण बजारमा ग्यासको आपूर्तिमा केही दबाब परेको थियो। नियमित रूपमा ग्यास बुलेट आउन थालेपछि १० देखि १५ दिनभित्र बजारमा ग्यासको आपूर्ति पूर्ण रूपमा सहज हुने अपेक्षा गरिएको छ।
गत भदौमा आएको बाढी र नदी कटानका कारण कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि उपत्यकातर्फ आउने ग्यास बुलेटसहित अत्यावश्यक वस्तु बोकेका ठूला सवारी प्रभावित भएका थिए।
क्षतिग्रस्त सडक नजिकैको ढिस्को काटेर वैकल्पिक ट्र्याक निर्माण गरिएपछि बिहीबारदेखि कृष्णभीरमा दुईतर्फी यातायात नियमित भएको हो।












