काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुँदैछ। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये १५औँ महाधिवेशनमा सहभागी हुन इच्छुक नेताहरूलाई विशेष महाधिवेशनबाट निर्वाचित हुने नयाँ केन्द्रीय समितिमा समायोजन गर्ने निर्णयपछि कांग्रेसको यो पहिलो केन्द्रीय समिति बैठक हो।
बैठकमा यसअघि संस्थापन इतर समूहमा रहेका नेताहरूको समेत सहभागिता देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा तथा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट केही नेताहरू सभापति गगन थापासँग सहमति गरेर बैठकमा सहभागी हुन सानेपा पुगेका छन्।
त्यस्तै, डा. शेखर कोइरालानिकट केही नेताहरू पनि बैठकमा सहभागी हुने बताइएको छ।
बैठकमा सहभागी हुन देउवा समूहमा रहेका महालक्ष्मी डिना उपाध्याय, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, ज्ञानेन्द्रबहादुर कार्की, मदनकृष्ण श्रेष्ठ, रामहरि खतिवडा, राधा घले, नैनसिंह महर, गोविन्द भट्टराई, जिपछिरिङ लामा, इश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति बिक परियार र गणेश लामा सानेपा पुगिसकेका छन्।
यसैगरी, डा. शेखर कोइराला समूहमा रहेकी किरण यादव पनि बैठकमा सहभागी हुन सानेपा पुगेकी छन्।
कांग्रेसभित्र महाधिवेशन र नयाँ केन्द्रीय समिति गठनको तयारी चलिरहेका बेला विभिन्न समूहमा रहेका नेताहरूको बैठकमा सहभागितालाई चासोका साथ हेरिएको छ।












