
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको औपचारिक निमन्त्रणामा तीन दिने भ्रमणका लागि आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी बिहान ७:३५ बजेको उडानमार्फत काठमाडौंबाट प्रस्थान गरेका हुन्।
भ्रमणका क्रममा नेपाल र भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्धका विभिन्न आयाममा सहकार्य गर्ने मुख्य उद्देश्य रहेको छ। विशेषगरी विपद्पछिको पुनर्निर्माण लगायतका विषयमा दुई देशबीच महत्वपूर्ण छलफल हुनेछ।
अर्थमन्त्री वाग्लेको यस उच्चस्तरीय भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।
के-के छन् कार्यक्रम ?
अर्थमन्त्री वाग्लेले बिहीबार अर्थात आज साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
यस्तै शुक्रबार बिहान ९:०० बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता र साँझ ५:०० बजे: भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्।
राति ७:३० बजे भने भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागि हुनेछन् ।
यसैगरी शनिबार बिहान ९:३० बजे: भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने।
बिहान ११:३० बजे: दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउने कार्यक्रम रहेकाे छ।
शनिबार साँझ ४:०० बजे अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता हुनेछन्।
सिन्धुपाल्चोक । नेपाल तरुण दल जुगल गाउँपालिका अध्यक्ष सागर तामाङले गाउँपालिका तथा वडा अधिवेशनमा सक्रिय सहभागिता जनाउँदै विवादरहित र सक्षम नेतृत्व चयन गर्न तरुण साथीहरूलाई अपिल गरेका छन्।
अध्यक्ष तामाङले जुगल गाउँपालिकाका सातवटै वडाका तरुणहरूलाई आ–आफ्नो वडा तथा गाउँपालिका अधिवेशनमा उपस्थित भई अधिवेशनलाई सभ्य, मर्यादित र लोकतान्त्रिक ढंगले सम्पन्न गर्न आग्रह गरेका हुन्।
उनले अधिवेशनका क्रममा आपसी एकता, सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै सक्षम नेतृत्व चयन गर्न तथा समन्वयकारी भूमिका निर्वाह गर्न सबै तरुण साथीहरूलाई आग्रह गरेका छन्।
अधिवेशनलाई विवादरहित रूपमा सम्पन्न गर्न सबैको सकारात्मक भूमिका आवश्यक रहेको बताउँदै तामाङले तरुणहरूको सक्रिय सहभागिताले संगठनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेस क्षेत्र नं. २ सिन्धुपाल्चोकका क्षेत्रीय सभापति आइतमान तामाङले पार्टीको १५औँ महाधिवेशनमा गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा पार्टीलाई सशक्त, जिम्मेवार र गतिशील बनाउने नेतृत्व चयन गर्नु सबै क्रियाशील सदस्यको जिम्मेवारी रहेको तामाङले बताएका छन्।
उनले पार्टी सञ्चालनको मेरुदण्डका रूपमा रहेको वडा तहदेखि नै जिम्मेवार, लगनशील, कर्तव्यनिष्ठ र उत्तरदायी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्। मुलुक संकटमा रहेको अवस्थामा लोकतान्त्रिक पार्टी गुट–उपगुटको जञ्जालमा फस्न नहुने उनको भनाइ छ।
‘गुट बनाएर होइन, इमानदार कार्यकर्तालाई नेतृत्वमा पुर्याएर मात्रै पार्टी सशक्त बन्न सक्छ,’ तामाङले भनेका छन्, ‘त्यसैले गुट–उपगुटको झमेलामा नलागी सकेसम्म सर्वसम्मत र नभए पार्टी विधानले निर्देश गरेअनुरूप लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्नुपर्छ।’
क्षेत्र नं. २ मा पार्टीलाई हालको अवस्थासम्म ल्याउन अग्रज तथा समकालीन साथीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले झण्डै ग्राउन्ड जिरोको अवस्थाबाट स्थानीय तह, प्रदेश र संघमा सम्मानजनक मत आउने अवस्था सिर्जना हुनुमा कार्यकर्ताको मेहनत र समर्पण प्रमुख कारण रहेको बताएका छन्।
अब पार्टीलाई अझ सशक्त, जुझारु र चलायमान बनाउने जिम्मेवारी सबै क्रियाशील सदस्यको हातमा आएको उनको भनाइ छ। यसपटकको अधिवेशनमा पार्टीलाई सशक्त बनाउन सक्ने सक्रिय, जिम्मेवार र संगठनप्रति प्रतिबद्ध व्यक्तिलाई नेतृत्वमा पुग्ने अवसर दिन उनले आग्रह गरेका छन्।
विगतका अभ्यासमा नेतृत्वमा पुगेका कतिपय व्यक्तिहरू निष्क्रिय रहने, विदेश पलायन हुने तथा संगठन निर्माणमा पर्याप्त ध्यान नदिने अवस्था देखिएको उल्लेख गर्दै तामाङले यसपटक नेतृत्व चयन गर्दा सक्रियता, इमानदारी र संगठनप्रतिको प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
यसैगरी, उनले क्रियाशील सदस्यता शुल्क बुझाउन बाँकी रहेका तथा सदस्यता अध्यावधिक गरेका सदस्यहरूलाई क्यूआरमार्फत र अन्य सदस्यहरूलाई नगद वा बैंक भौचरमार्फत सदस्यता शुल्क बुझाउन आग्रह गरेका छन्।
वडा तथा पालिका कार्यसमितिलाई सदस्यता शुल्क बुझाउने कार्यमा आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्नसमेत उनले आग्रह गरेका छन्।






