२०८३ भाद्र २९ सोमबार
२०८३ भाद्र २९ सोमबार

काठमाडौं । एसियाली खेलकुदमा सहभागी हुने नेपाली टेबल टेनिस टोलीका व्यवस्थापकको नाम अन्तिम सूचीबाट हटाइएको भन्दै नेपाल टेबल टेनिस संघले असन्तुष्टि जनाएको छ।

संघले एसियाली खेलकुदका लागि तयार गरिएको प्रारम्भिक सूचीमा समावेश व्यवस्थापकको नाम अन्तिम समयमा हटाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

संघका अनुसार सम्बन्धित व्यवस्थापकको नाम टोलीको व्यवस्थापकीय जिम्मेवारीका लागि प्रस्ताव गरिएको थियो। तर अन्तिम सूची सार्वजनिक हुँदा उनको नाम समावेश नभएपछि संघले यसप्रति आपत्ति जनाएको छ।

संघले खेलाडी तथा टोली व्यवस्थापनसँग सम्बन्धित विषयमा सम्बन्धित निकायबीच आवश्यक समन्वय र स्पष्टता हुनुपर्नेमा जोड दिएको छ।

अन्तिम सूचीमा भएको परिवर्तनबारे संघले असन्तुष्टि व्यक्त गर्दै निर्णय प्रक्रियाप्रति प्रश्नसमेत उठाएको छ।

संघले खेलाडीको सहभागितासँगै टोली व्यवस्थापन पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको महत्वपूर्ण पक्ष भएकाले व्यवस्थापकको भूमिकालाई उचित रूपमा सम्बोधन गर्नुपर्ने बताएको छ।

एसियाली खेलकुदमा नेपाली टोलीको सहभागिताका लागि अन्तिम तयारी भइरहेका बेला व्यवस्थापकको नाम हटाइएको विषयले खेलकुद क्षेत्रको ध्यान तानेको छ।

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको वित्तीय जोखिम बढ्न सक्ने देखिएपछि कम्पनीको साख मूल्याङ्कन घटाइएको छ।

इक्रा नेपालले नेपाल पुनर्बिमा कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘आईसीआरए एनपी–आईआर ए’ बाट घटाएर ‘आईसीआरए एनपी–आईआर ए माइनस’ कायम गरेको हो। कम्पनीमाथि रहेको ‘नकारात्मक प्रभावसहित निगरानी’ अवस्थालाई समेत निरन्तरता दिइएको छ।

इक्रा नेपालका अनुसार ‘ए’ श्रेणीले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका लागि पर्याप्त स्तरको सुरक्षा रहेको जनाउँछ। तर ‘माइनस’ थपिनुले सोही श्रेणीभित्र कम्पनीको तुलनात्मक अवस्था कमजोर बनेको संकेत गर्छ।

बाढीको ठूलो दाबी मुख्य कारण

कम्पनीको साख घटाउनुको मुख्य कारण २६ अगस्ट २०२६ मा आएको विनाशकारी आकस्मिक बाढीबाट सिर्जना हुन सक्ने ठूलो क्षतिपूर्ति दाबी रहेको इक्रा नेपालले जनाएको छ।

बाढीबाट नदी बेसिन क्षेत्रमा रहेका करिब ७०० मेगावाट जडित क्षमताका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। त्यस्तै, भन्सार जाँच तथा निकासीको प्रतीक्षामा रहेका निजी तथा व्यावसायिक सवारीसाधनसहित ठूलो संख्यामा सवारीसाधन बगाएको तथा अन्य बीमायोग्य सम्पत्तिमा समेत क्षति पुगेको जनाइएको छ।

यसका कारण समग्र बीमा दाबी उल्लेख्य रूपमा बढ्ने र त्यसको प्रत्यक्ष असर नेपाल पुनर्बिमा कम्पनीले व्यहोर्नुपर्ने क्षतिपूर्तिमा पर्ने जोखिम रहेको इक्रा नेपालको आकलन छ।

आफ्नै स्रोतबाट ठूलो रकम व्यहोर्नुपर्ने जोखिम

सम्भावित रूपमा बढ्ने क्षतिपूर्ति दाबी धान्न कम्पनीले विपद्का लागि गरेको जोखिम संरक्षण पर्याप्त नहुन सक्ने इक्रा नेपालको अनुमान छ।

जोखिम संरक्षण अपर्याप्त भएमा कम्पनीले आफ्नै स्रोतबाट ठूलो रकम व्यहोर्नुपर्ने अवस्था आउन सक्छ। त्यसले यसअघि नै दबाबमा रहेको कम्पनीको खुद सम्पत्तिमा थप असर पार्न सक्ने जोखिम देखिएको छ।

नेपाल पुनर्बिमा कम्पनीको खुद सम्पत्तिमा यसअघि नै सेप्टेम्बर २०२५ मा भएका दंगासम्बन्धी क्षतिपूर्ति दाबीका कारण दबाब परेको थियो। त्यसमाथि बाढीबाट उत्पन्न हुने ठूलो दाबी थपिए कम्पनीको वित्तीय तथा तरलता अवस्था थप कमजोर बन्न सक्ने देखिएको छ।

यद्यपि बाढीबाट उत्पन्न हुने कुल क्षतिपूर्ति दाबी र त्यसमा नेपाल पुनर्बिमा कम्पनीले व्यहोर्नुपर्ने वास्तविक हिस्सा भने अहिलेसम्म निश्चित भइसकेको छैन।

अब इक्राको मुख्य निगरानी दाबीमा

इक्रा नेपालका अनुसार आगामी दिनमा बाढीबाट उत्पन्न हुने क्षतिपूर्तिको अन्तिम रकम र त्यसमा कम्पनीको वास्तविक दायित्व नै मुख्य निगरानीको विषय हुनेछ।

दाबीको अन्तिम परिमाणले कम्पनीको वित्तीय अवस्था, तरलता र भविष्यको साख मूल्याङ्कनमा महत्वपूर्ण प्रभाव पार्नेछ।

नेपाल पुनर्बिमा कम्पनी सन् २००३ मा स्थापना गरिएको ‘बीमा पुल’को उत्तराधिकारी संस्था हो। कम्पनी ऐन, २०६३ अन्तर्गत ७ नोभेम्बर २०१४ मा नेपाल पुनर्बिमा कम्पनी स्थापना भएको थियो भने डिसेम्बर २०१४ देखि कारोबार सुरु गरेको थियो।

यो नेपालमा स्थापना भएको पहिलो नेपाली पुनर्बिमा कम्पनी हो।

मध्य जुलाई २०२५ सम्म कम्पनीको चुक्ता पुँजी करिब १३ अर्ब ४२ करोड २० लाख रुपैयाँ र खुद सम्पत्ति करिब २० अर्ब ५२ करोड ७० लाख रुपैयाँ रहेको थियो। कम्पनीको सेयर स्वामित्व प्रवर्द्धक तथा सर्वसाधारणबीच ८४ः१६ को अनुपातमा रहेको छ।

कम्पनीमा नेपाल सरकारको करिब ४४ प्रतिशत, निर्जीवन बीमा कम्पनीहरूको करिब २७ प्रतिशत, जीवन बीमा कम्पनीहरूको करिब ६ प्रतिशत, सार्वजनिक सीमित कम्पनीहरूको करिब ७ प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत सेयर स्वामित्व रहेको छ।

काठमाडौं । खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरबाट हुँदै आएको ग्यासको प्रत्यक्ष बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।

नेपाल आयल निगमसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले विगत तीन दिनदेखि कार्यालय परिसरमै ग्यास विक्रेतामार्फत ग्यास ल्याएर प्रत्यक्ष बिक्री गर्दै आएको थियो।

सार्वजनिक बिदाका दिन विशेषगरी डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका महिलालाई प्राथमिकता दिँदै ग्यास बिक्रीको व्यवस्था गरिएको थियो।

तर, भदौ २९ गते सोमबारदेखि कार्यालयको नियमित कामसँगै रसुवा बाढीपीडितका लागि राहत व्यवस्थापन तथा बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका शवको व्यवस्थापनमा समेत कार्यालय केन्द्रित हुनुपर्ने भएकाले कार्यालय परिसरबाट ग्यास बिक्री स्थगित गरिएको प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले जानकारी दिए।

कार्यालयका अनुसार ग्यासको बिक्री वितरण भने पूर्णरूपमा बन्द गरिएको होइन। सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत ग्यासको बिक्री वितरण नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

त्यसैले उपभोक्ताले अब कार्यालय परिसरमा नभई सम्बन्धित ग्यास डिलर तथा खुद्रा विक्रेतामार्फत ग्यास खरिद गर्नुपर्नेछ।

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका महासचिव जयराम रमेशले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको द्विपक्षीय भेटवार्तालाई लिएर सरकारसँग चार महत्वपूर्ण प्रश्न गरेका छन्।

कंग्रेस महासचिव रमेशले सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गर्दै भारत–चीन सम्बन्ध सामान्य बनाउनु आवश्यक भए पनि सरकारको व्यवहार चीनप्रति अत्यधिक नरम देखिएको टिप्पणी गरेका छन्।

उनले विशेषगरी ‘अपरेसन सिन्दूर’, गलवान उपत्यका, लद्दाख–अरुणाचल प्रदेशमा चीनको गतिविधि तथा भारत–चीन व्यापार घाटाका विषयमा प्रधानमन्त्री मोदीसँग जवाफ मागेका हुन्।

‘अपरेसन सिन्दूरमा चीनको भूमिकाबारे सरकारको अडान के हो?’

रमेशले अपरेसन सिन्दूरका क्रममा पाकिस्तानलाई चीनले गरेको सैन्य सहयोगबारे सरकारको पछिल्लो अडान स्पष्ट हुनुपर्ने बताएका छन्।

उनका अनुसार ४ जुलाई २०२५ मा भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल राहुल सिंहले अपरेसन सिन्दूरका क्रममा पाकिस्तानलाई चीनले गरेको सहयोगलाई गम्भीर र महत्वपूर्ण बताएका थिए।

त्यसैले अपरेसन सिन्दूरमा चीनको वास्तविक भूमिकाबारे सरकार र सुरक्षा प्रतिष्ठानको मूल्यांकन के हो तथा पछिल्ला अभिव्यक्तिका पछाडि कुनै कूटनीतिक रणनीति छ कि छैन भन्ने विषयमा देशले जान्न पाउनुपर्ने रमेशको भनाइ छ।

गलवानबारे मोदीसँग प्रश्न

रमेशले सन् २०२० को गलवान उपत्यका झडपपछि चीनलाई दिइएको भनिएको ‘क्लिन चिट’ ले भारतको वार्ता र कूटनीतिक स्थिति कमजोर बनाएको हो कि होइन भन्ने प्रश्न गरेका छन्।

उनले गलवान घटनामा २० भारतीय सैनिकले ज्यान गुमाएको उल्लेख गर्दै त्यसपछि भारतको सीमामा कोही नआएको र कुनै घुसपैठ नभएको भन्ने अभिव्यक्ति अझै फिर्ता नलिइएको बताएका छन्।

उनका अनुसार यस्तो अभिव्यक्तिले चीनसँगको पछिल्लो वार्तामा भारतको स्थिति कमजोर बनाएको छ।

लद्दाख र अरुणाचलमा चीनको गतिविधि किन?

कंग्रेस महासचिव रमेशले लद्दाख र अरुणाचल प्रदेशमा चीनको क्षेत्रीय गतिविधि तथा लाभलाई सरकारले किन रोक्न नसकेको भन्ने प्रश्न पनि उठाएका छन्।

भारतको सुरक्षा र क्षेत्रीय अखण्डतासँग जोडिएका यी विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने उनको माग छ।

चीनसँग बढ्दो व्यापार घाटामाथि पनि प्रश्न

रमेशले भारत–चीन व्यापार सम्बन्धलाई पनि प्रश्नको घेरामा राखेका छन्।

उनका अनुसार चीनसँग भारतको व्यापार घाटा रेकर्ड स्तरमा पुगेको छ। यस्तो अवस्थामा भारतको व्यापार घाटा किन निरन्तर बढिरहेको छ भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनले बताएका छन्।

भारत–चीन सम्बन्ध सामान्य बनाउनु आवश्यक हुन सक्ने भए पनि सरकारले चीनप्रति अपनाएको व्यवहार अत्यधिक नरम देखिएको उनको आरोप छ।

यसैबीच, दिल्लीमा आयोजित ब्रिक्स सम्मेलनका क्रममा शनिबार भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता भएको थियो। सम्मेलनमा सहभागी भएर सी आइतबार चीन फर्किएका छन्।

काठमाडौं । साविक विजेता आर्सनलले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ।

लाइट रंगशालामा शनिबार राति भएकाे खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको सन्डरल्यान्डविरुद्ध २–० गाेलको सहज जित निकालेको हो। पाहुना टोली आर्सनललाई जित दिलाउन ब्रुनो गुइमारेस र बुकायो साकाले एक–एक गोल गरेका छन् । खेलको ५६औँं मिनेटमा एन्जो ले फे पेनाल्टीमा चुक्दा सन्डरल्यान्डले अग्रता लिने अवसर गुमाएको थियो । उनको प्रहारलाई आर्सनलका गोलकिपर डेविड रायाले बिफल पारेका छन्।

त्यसको दुई मिनेटपछि नै गुइमारेसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा डिफेन्डर रेइनिल्डो मान्डाभाले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेपछि सन्डरल्यान्ड १० खेलाडीमा समेटिएको थियो । इन्जुरी टाइममै साकाले पेनाल्टीमार्फत आर्सनलाका लागि दोस्रो गोल गरेका हुन् । याे जितसँगै चार खेलबाट १२ अंक जोडेको आर्सनल शीर्ष स्थानमा रहेकाे छ । पराजित सन्डरल्यान्ड समान खेलबाट चार अंकका साथ १४औँ स्थानमा रहेकाे हाे ।

शनिबारै सम्पन्न अन्य खेलमा इप्सवीच टाउनले क्रिस्टल प्यालेसलाई ३-२ र नटिङघम फरेस्टले एस्टन भिल्लालाई २–१ गाेलले पराजित गरेका छन् । त्यसैगरी, लिभरपुल फुहलम तथा टोटनहम एभरटनसँग गोलरहित र बर्नमाउथ ब्रेन्टफोर्ड तथा चेल्सीले हल सिटीसँग २-२ गाेलको बराबरी खेलेका थिए।

एजेन्सी । इरान र अमेरिकाबीच रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’लाई लिएर तनाव बढिरहेका बेला आइतबार उक्त क्षेत्रमा एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको इरानी अधिकारीले बताएका छन् ।

केश्म सहरका गभर्नर अमिर तेमुरीका अनुसार हेङ्गाम र केश्म टापुको तटीय क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ५ः०० बजे जहाजमाथि आक्रमण भएको थियो ।

“एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भयो र अन्य तीन जना घाइते भए”, तेमुरीले सरकारी टेलिभिजनमार्फत बताउनुभयो । आक्रमण कसले वा कुन पक्षले गरेको भन्नेबारे भने उहाँले स्पष्ट जानकारी दिनुभएन ।स्ट्रेट अफ होर्मुजको सबैभन्दा ठूलो टापु केश्म वरपर रातभरि धेरै विस्फोट भएको खबरसमेत प्राप्त भएको थियो ।

विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज हाल अवरुद्ध अवस्थामा रहेको छ । यसै विषयमा छलफल गर्न इरान र खाडी मुलुकहरूबीच ओमानमा बैठक बस्नुभन्दा एक दिनअघि उक्त घातक घटना भएको हो ।

इरान र अमेरिकाबीच करिब छ महिनादेखि जारी द्वन्द्वमा स्ट्रेट अफ होर्मुजमाथिको नियन्त्रण प्रमुख विवादको विषय बनेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको सैन्य कारबाहीपछि जवाफमा इरानले जलसन्धि अवरुद्ध गरेको बताइएको छ । त्यसअघि यो जलमार्गबाट जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गर्दै आएका थिए ।

इरानले सुरक्षा र सार्वभौमिकताको कारण देखाउँदै होर्मुजबाट आवतजावत गर्ने जहाजले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । साथै, जहाजबाट सेवा शुल्क लिने संयन्त्रबारे पनि विचार गरिरहेको बताइएको छ ।

इरानी नियम पालना नगर्ने जहाजहरूलाई आक्रमणको जोखिम हुने गरेको छ भने अमेरिकाले पनि होर्मुजमाथि तेहरानको नियन्त्रणलाई चुनौती दिने उद्देश्यले इरानी तटीय क्षेत्रमा छिटपुट हवाई आक्रमण गर्दै आएको छ ।

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएकाे छ।

सिराहामा शनिबार उहाँ सहभागी कार्यक्रममा होहल्लासँगै आक्रोश प्रकट भएपछि मन्त्री पोखरेलले सम्बोधन रोकेर कार्यक्रमस्थलबाट बाहिरिनुभएकाे हाे । अन्तरक्रियामा धेरैको आवाज सुन्ने प्रयत्नमा रहेको र केही व्यक्तिले होहल्ला गरेको विषयलाई लिएर भ्रम छर्न खोजिएको मन्त्री पोखरेलको भनाइ छ।

उहाँले भन्नुभयाे,-‘शनिबार सिराहा र सप्तरीमा १ सय जना भन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरै भन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौं । लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ। तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन।’

शिक्षामन्त्री पोखरेलले घटनाको एक मिनेट भन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बंग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास दावी गर्नुभयाे। घटनापछि पनि सिराहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको उहाँकाे जिकिर छ।

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता अर्थात ए.आइ., व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि पाँचवटा महत्वपूर्ण प्रस्ताव पेश गर्नुभएको छ ।

भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनको आज दोस्रो दिन उहाँले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्ने भएकाले व्यवहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्ने बताउनुभएकाे छ ।

यसैगरिे उदीयमान बजारमा आधारित तथा ग्लोबल साउथसँग निकट रूपमा जोडिएको आफ्नो विशेषतालाई सम्मेलनले प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेममा पनि उहाँले जोड दिनुभयो ।

औद्योगिक तथा आपूर्ति शृंखलालाई स्थिर र निर्बाध राख्दै एकीकृत बजारको विकासलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै सी ले विस्तारित ब्रिक्सले नवप्रवर्तनका लागि इन्क्युबेटर स्थापना गर्ने, परम्परागत उद्योगको स्तरोन्नति गर्ने, उदीयमान उद्योगको विकास गर्ने तथा भविष्यका उद्योगका लागि दूरदर्शी योजना निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूले अब केन्द्रीय सदस्यकै हैसियत पाउने भएका छन्।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन केन्द्रीय समितिका सदस्यहरूलाई केन्द्रीय सदस्यको हैसियत प्रदान गर्ने निर्णय गरेको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार यसका लागि पार्टी विधानबमोजिम आवश्यक व्यवस्था गरिनेछ।

उनले तत्कालीन केन्द्रीय समितिमा रहेका नेताहरूलाई केन्द्रीय सदस्यको हैसियतमा ल्याउन विधानअनुसार आवश्यक प्रबन्ध गर्ने निर्णय भएको जानकारी दिए।

यो निर्णयसँगै संस्थापनइतर पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूले पनि केन्द्रीय सदस्यको हैसियत पाउने भएका छन्।

त्यस्तै, बैठकले गत वर्ष पुसमा क्रियाशील सदस्यता नवीकरण गरेका तर हालसम्म अद्यावधिक नगरेका सदस्यहरूलाई पनि १५औँ महाधिवेशनमा सहभागी हुन पाउने निर्णय गरेको छ।

कांग्रेसले क्रियाशील सदस्यताको विषयलाई समेत समेट्दै आगामी महाधिवेशनका लागि बाटो सहज बनाउने निर्णय गरेको हो।

काठमाडौं । नेपाल–चीन प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ बाढीका कारण अवरुद्ध भएपछि मुस्ताङको कोरला–लिजी नाका वैकल्पिक व्यापारिक मार्गका रूपमा व्यस्त बन्न थालेको छ।

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवागढी नाका पूर्णरूपमा अवरुद्ध छ। चीनले तातोपानी नाका पनि अस्थायी रूपमा नखोलेपछि चीनबाट नेपालतर्फ आउने वस्तु तथा विद्युतीय सवारीसाधन कोरला नाकाबाट ल्याउन थालिएको हो।

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले कोरला नाकाबाट दैनिक ६० देखि ७० वटा मालवाहक सवारीसाधन जाँचपास भइरहेका छन्।

मुस्ताङ भन्सार प्रमुख बिदुर चुडालका अनुसार अधिकांश कन्टेनरमा दसैँलाई लक्षित गरी ल्याइएका सामग्री छन्। यसबाहेक औद्योगिक कच्चा पदार्थ तथा केही फलफूलसमेत आयात भइरहेको छ।

भन्सार कार्यालयका अनुसार हालसम्म ४८२ वटा कन्टेनर जाँचपास भएका छन्। भदौ १० गतेअघि भने १३३ वटा मात्रै जाँचपास भएका थिए। बाढीपछि मात्रै ३४९ वटा कन्टेनर कोरला नाकाबाट जाँचपास भइसकेका छन्।

कोरला हुँदै सयौँ ईभी नेपाल भित्रिए

रसुवागढी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) समेत कोरला नाकातर्फ मोडिएका छन्।

भन्सार प्रमुख चुडालका अनुसार हालसम्म ७५७ वटा विद्युतीय सवारीसाधन मुस्ताङ भन्सारबाट जाँचपास भइसकेका छन्। भदौ १० गतेअघि १६३ वटा मात्रै जाँचपास भएका थिए भने त्यसपछि ५९४ वटा ईभी जाँचपास भएका छन्।

अझै करिब ३ देखि ४ सय विद्युतीय सवारीसाधन नाकामै रहेको र तीमध्ये केहीको भन्सार घोषणा हुन बाँकी रहेको भन्सार कार्यालयले जनाएको छ।

तातोपानी नाका पनि सञ्चालनमा नआएको अवस्थामा आगामी दिनमा कोरला नाकाबाट ईभीसहित अन्य वस्तुको आयात अझ बढ्न सक्ने अनुमान गरिएको छ।

दुई महिनामै उठ्यो करिब २ अर्ब राजस्व

रसुवागढी नाका बन्द भएपछि कोरला नाकाबाट व्यापारिक गतिविधि बढेसँगै मुस्ताङ भन्सारको राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ।

भन्सार प्रमुख चुडालका अनुसार शनिबारसम्म १ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। आइतबार थप करिब १३ करोड रुपैयाँ संकलन भएपछि कुल राजस्व करिब २ अर्ब रुपैयाँ पुगेको छ।

जबकि भदौ १० गतेसम्म मुस्ताङ भन्सारबाट जम्मा ५३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

गत आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङ भन्सारबाट ७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारले ९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

रसुवागढी नाका अवरुद्ध भएपछि वैकल्पिक व्यापारिक नाकाका रूपमा कोरला प्रयोग बढ्दा दुई महिना नपुग्दै लक्ष्यको करिब एक चौथाइ राजस्व संकलन भएको हो।

बढ्यो जनशक्ति, पूर्वाधार निर्माणमा चुनौती

व्यापारिक गतिविधि बढेपछि मुस्ताङ भन्सार कार्यालयमा जनशक्ति थप गरिएको छ। भदौ १० गतेअघि १०–११ कर्मचारीबाट सञ्चालन हुँदै आएको कार्यालयमा अहिले थप ६ जना कर्मचारी पठाइएको छ।

व्यापार बढे पनि उच्च हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार र श्रमिकको अभाव चुनौती बनेको छ। नेचुङमा भन्सार कर्मचारीका लागि अस्थायी आवास निर्माणको कामसमेत सुरु गरिएको छ।

प्रिफ्याब प्रविधिबाट आवास निर्माण भइरहेको भए पनि आवश्यक श्रमिक पाउन कठिन भइरहेको भन्सार कार्यालयले जनाएको छ।

उच्च हिमाली क्षेत्रमा बाहिरी क्षेत्रबाट आएका श्रमिकलाई काम गर्न कठिन हुने भएकाले स्थानीय सीमित श्रमिकमै भर पर्नुपर्ने अवस्था रहेको भन्सार प्रमुख चुडालले बताए।

रसुवागढी नाका कहिले पूर्णरूपमा सञ्चालनमा आउने भन्ने टुंगो नलागेको अवस्थामा कोरला नाका नेपाल–चीन व्यापारको महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा थप सक्रिय हुने संकेत देखिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।