२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

​रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको पीडामा मलम लगाउन प्रगति अंग्रेजी माध्यमिक विद्यालयको नेतृत्वमा सिन्धुपाल्चोकका विद्यालयहरूले अनुकरणीय तत्परता देखाएका छन्। ‘विपत्तिमा कसैलाई एक्लो हुन नदिने’ भावना जगाउँदै विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनको सामूहिक प्रयासमा १ लाख ९१ हजार ११ रुपैयाँ राहत रकम संकलन गरी हस्तान्तरण गरिएको छ।
​सहयोग संकलनको विवरण:
​प्रगति अंग्रेजी माध्यमिक विद्यालय: रु १,५१,००० (विद्यार्थी, शिक्षक र व्यवस्थापन टोली)
​न्युटन बोर्डिङ स्कुल (मेलम्ची–१२): रु २०,००१
​सुनकोशी बोर्डिङ स्कुल (मेलम्ची–४): रु २०,००१
​तीनवटै विद्यालयबाट संकलित उक्त रकम बाढीपहिरोका मृतकहरूप्रति आयोजित श्रद्धाञ्जली सभाका बीच प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धिप्रसाद आचार्यलाई हस्तान्तरण गरिएको हो।
​किताबी ज्ञानभन्दा माथि सामाजिक उत्तरदायित्व


कार्यक्रममा प्रगति अंग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषि नेपालले शिक्षा कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र सीमित नभई विपत्तिमा मानवीय संवेदना प्रदर्शन गर्नु पनि यसको मुख्य पक्ष भएको बताउनुभयो। “दुःखमा परेका मानिसको पीडा बुझ्न र समाजप्रति उत्तरदायी बन्न सिकाउनु नै सच्चा शिक्षा हो,” उहाँले भन्नुभयो।
​श्रद्धाञ्जली सभामा प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धिप्रसाद आचार्य, प्रगति अंग्रेजी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विजयकृष्ण श्रेष्ठ र रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले शोक वक्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले संकटको समयमा राज्यका निकायसँगै शैक्षिक क्षेत्र र नागरिक समाजको यस्तै ऐक्यबद्धताले बाढीपीडित परिवारलाई पुनर्जीवनको आशा र राहत दिने विश्वास व्यक्त गरे।

काठमाडौं । मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएसँगै यी दुवै कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ।
मुक्तिनाथ विकास बैंकले सोमबार जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने उद्देश्यसहित प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको थियो। उक्त खबर सार्वजनिक भएपछि सेयर बजारमा दुवै कम्पनीको मूल्यमा तीव्र गिरावट देखिएको हो।
कारोबार सुरु भएलगत्तै जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमा नकारात्मक सर्किट लागेको थियो। कारोबारको अन्त्यसम्म जानकी फाइनान्सको सेयर मूल्य १४.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३१३ रुपैयाँ कायम भएको छ। त्यस्तै, सिन्धु विकास बैंकको सेयर मूल्य १५ प्रतिशतले घटेर प्रतिकित्ता ४९७ रुपैयाँ मा झरेको छ।
किन घट्यो सेयर मूल्य?
बजार विश्लेषकहरूका अनुसार पछिल्लो समय यी दुवै संस्थाको सेयर मूल्य उनीहरूको वित्तीय अवस्थाको तुलनामा उच्च तहमा पुगेको थियो। विशेषगरी कम चुक्ता पुँजी अर्थात् ‘लो क्याप’ भएका कम्पनीहरूमा बजारको माग र आपूर्तिको असन्तुलनका कारण सेयर मूल्य तीव्र रूपमा बढ्ने गरेको देखिन्छ।
अब भने यी संस्थाहरू बलियो वित्तीय अवस्था भएको मुक्तिनाथ विकास बैंकसँग प्राप्ति हुने प्रक्रियामा प्रवेश गरेपछि लगानीकर्ताको ध्यान सेयर स्वाप रेसियोतर्फ केन्द्रित भएको छ।
ठूलो र तुलनात्मक रूपमा सबल संस्थाले कमजोर वित्तीय अवस्था भएका संस्थालाई प्राप्ति गर्दा प्राप्ति हुने कम्पनीका सेयरधनीले पाउने सेयरको अनुपात अर्थात् स्वाप रेसियो बजारका लागि महत्वपूर्ण हुन्छ। स्वाप रेसियो कम हुने अपेक्षा बनेमा प्राप्ति हुन लागेको संस्थाको बजार मूल्यमा दबाब पर्न सक्छ।
यही कारण जानकी फाइनान्स र सिन्धु विकास बैंकका लगानीकर्तामा बेच्ने दबाब बढेको बजार विश्लेषकहरूको भनाइ छ।
लगानीकर्ताको चासो स्वाप रेसियोमा
अब यी दुई संस्थाको सेयर मूल्य आगामी दिनमा कता जाने भन्ने विषय स्वाप रेसियो, ड्यु डिलिजेन्स रिपोर्ट तथा नियामकीय स्वीकृति लगायतका विषयले निर्धारण गर्नेछ।
मुक्तिनाथ विकास बैंकसँगको प्राप्ति प्रक्रिया अघि बढेसँगै बजारमा यी कम्पनीका लगानीकर्ताले भने अब प्राप्ति प्रक्रियाको मूल्यांकन र सेयर आदानप्रदान अनुपातलाई नजिकबाट नियाल्नुपर्ने अवस्था आएको छ।
यससँगै पछिल्लो समय अत्यधिक बढेको मूल्य भएका लो-क्याप वित्तीय संस्थाको सेयरमा लगानी गर्दा कम्पनीको वास्तविक वित्तीय अवस्था, प्राप्ति वा मर्जरको सम्भावना र सम्भावित स्वाप रेसियोलाई समेत ध्यान दिनुपर्ने देखिएको छ।

सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिकाको आयोजनामा सम्पन्न माध्यमिक विद्यालयस्तरीय डिजिटल हाजिरीजवाफ प्रतियोगितामा श्री कमलादेवी माध्यमिक विद्यालय प्रथम भएको छ।
​प्रतियोगितामा श्री नवलपुर माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गर्दा श्री राजेश्वरी माध्यमिक विद्यालय तृतीय भएको छ। प्रविधिमैत्री शिक्षण-सिकाइलाई प्रोत्साहन गर्ने र विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको थियो।
​कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न विषयसँग सम्बन्धित प्रश्नहरूको डिजिटल माध्यमबाट जवाफ दिँदै आफ्नो ज्ञान, प्रतिभा तथा क्षमता प्रस्तुत गरेका थिए।
​विजयी विद्यालय तथा विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। अध्यक्ष नेपालले विद्यार्थीहरूको बौद्धिक तथा प्रविधिमैत्री क्षमता विकासका लागि आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमहरूलाई गाउँपालिकाले निरन्तरता दिने बताउनुभयो।

सिन्धुपाल्चोक । मिति २०८३/०५/१० गते गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा इन्द्रावती गाउँपालिकाले राष्ट्रिय शोक दिवस मनाएको छ।
नेपाल सरकारले बाढीपहिरोमा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मिति २०८३/०५/२२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेअनुसार गाउँपालिकाले पनि आज शोक दिवस मनाएको हो।
शोक दिवसका अवसरमा गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। साथै बाढीपहिरोमा परी दिवंगत भएका नागरिकहरूको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली तथा शोक व्यक्त गरिएको गाउँपालिकाले जनाएको छ।
इन्द्रावती गाउँपालिकाले यस दुःखद् घडीमा बाढीपहिरोबाट प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुदूरपश्चिम प्रदेशअन्तर्गत आईबीआरडी शाखाले उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान गर्दै अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ।
बीमा व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याउँदै आएका अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान र प्रोत्साहन गर्दै उनीहरूको व्यावसायिक क्षमता, उत्साह तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्रबहादुर बिष्टको विशेष उपस्थिति रहेको थियो। उनले अभिकर्ताहरूलाई व्यावसायिक रूपमा थप सक्रिय भएर काम गर्न प्रेरित गर्दै बीमा क्षेत्रको विकास र विस्तारमा अभिकर्ताको महत्वपूर्ण भूमिकाबारे मार्गदर्शन तथा शुभकामना व्यक्त गरे।
कार्यक्रममा शाखाअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्दै आएका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान तथा प्रोत्साहन गरिएको थियो।
सम्मान तथा उत्प्रेरणा कार्यक्रमले अभिकर्ताहरूमा थप ऊर्जा र उत्साह सिर्जना गर्नुका साथै आगामी दिनमा अझ प्रभावकारी रूपमा बीमा व्यवसाय विस्तार गर्न प्रेरणा मिलेको आयोजकले जनाएको छ।
रिलायबल नेपाल लाइफले यस्ता कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहित गर्दै बीमा पहुँच विस्तार तथा व्यवसायिक क्षमता अभिवृद्धिमा जोड दिँदै आएको छ।

काठमाडौंको बालाजु चोकबाट औद्योगिक क्षेत्रतर्फ सोझिएको साँघुरो सडक सोमबार मध्यान्ह कुनै प्रदर्शनी स्थलजस्तै देखिन्थ्यो—जहाँ मानिसभन्दा धेरै राता फलामका सिलिन्डरहरू लामबद्ध थिए। सडकको कालोपत्रेबाट उम्लिएको तातो राप र टाउकोमाझैँ बलेको घामलाई पन्छाउँदै मानिसहरू आफ्नो पालो कुरिरहेका थिए। त्यो केवल ग्यास किन्ने एउटा लाइन मात्र थिएन, भोको पेट र बन्द चुल्होबिचको निरन्तर सङ्घर्षको लामो फेहरिस्त थियो।
​कहीँ नीलो त कहीँ बुट्टेदार छाताको ओझेल खोज्दै उभिएका सयौँ अनुहारमा एउटै चिन्ता तैरिरहेको थियो—‘के आज साँझ मेरो घरमा भात पाक्ला?’ तीन दिनदेखि चाउचाउ र बिस्कुटको भरमा बाँचिरहेको परिवारको कथा बोकेर आएका एक युवाका आँखामा आँसु मात्र थिएन, राज्यको असक्षमताप्रतिको गहिरो आक्रोश पनि थियो। दिनभरिको काम छाडेर, ज्याला काटिने जोखिम मोल्दै आफ्नै रित्तो सिलिन्डरमाथि थकित शरीर बिसाउनु उनीहरूको रहर थिएन, जीवन धान्ने विवशता थियो।
​औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार अगाडि दृश्य झनै तनावग्रस्त देखिन्थ्यो। नेपाल ग्यास र एसटी ग्यासका रित्ता डब्बाहरू बोकेर टोकन हातमा पार्न तम्सिएका मानिसहरूको हुलमुल नियन्त्रण गर्न सुरक्षाकर्मीहरूलाई हम्मे-हम्मे परिरहेको थियो। ग्यास बोकेको सीमित क्षमताको ट्रक र अनन्तसम्म फैलिएको मानिसहरूको लामबिच एउटा अदृश्य प्रतिस्पर्धा चलिरहेको थियो। कम्पनीका प्रतिनिधिले कापीमा नाम दर्ता गर्दै गर्दा प्रत्येक नागरिकको ढुकढुकी बढ्थ्यो—‘कहीँ मेरो पालो आउनुअघि नै ट्रक रित्तिने त होइन?’
​अनि, घण्टौँको मानसिक र शारीरिक सास्तीपछि जब कसैले १४.२ किलो ग्यास भरिएको भारी सिलिन्डर काँधमा हाल्थ्यो, उसको अनुहारमा छाउने चमक हेर्नलायक हुन्थ्यो। त्यो १५ किलोको फलामको ढाँचा मात्र थिएन, आफ्ना साना बालबच्चालाई तातो भात खुवाउन पाउने एउटा अभिभावकको जीत थियो।
​नागरिकले राज्यलाई कर बुझाएका छन्, ग्यासको पूरा मूल्य बुझाएका छन्। तर, देशकै प्रशासनिक राजधानीमा एक सिलिन्डर इन्धनका लागि सडकमा दिनभर अपमानित हुनुपर्ने र पसिना बगाउनुपर्ने यो दृश्यले सम्पूर्ण आपूर्ति व्यवस्थाको धज्जी उडाएको छ। बालाजुको तातो सडकमा पोखिएको यो कारुणिक दृश्य कुनै नयाँ कथा होइन, यो त निकायहरूको चरम लापरवाही र कालोबजारी अघि गोडा कमाउने फितलो शासन व्यवस्थाको ज्वलन्त उदाहरण हो।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत निरीक्षण गरेका छन्।
बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र प्रभावित क्षेत्रमा भइरहेका पुनरुत्थानका प्रयासबारे प्रत्यक्ष जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन्।
नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा राष्ट्रपति पौडेलले जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित अधिकारीहरूसँग भेट गरेका थिए। भेटका क्रममा उनलाई बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको खोज तथा उद्धार अभियान, राहत वितरण, होल्डिङ सेन्टरको व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनरुत्थानका लागि भइरहेका कामबारे जानकारी गराइएको थियो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार जिल्लाको स्थलगत निरीक्षण तथा आवश्यक जानकारी लिएपछि राष्ट्रपति पौडेल रसुवातर्फ प्रस्थान गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका काम सञ्चालन भइरहेका छन्।
राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रमै पुगेर अवस्थाको जानकारी लिनुका साथै उद्धार तथा राहतका प्रयासबारे सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका हुन्।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।