नुवाकोट — गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका तटीय बस्तीमा ठूलो क्षति पुर्याएपछि नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

ओली धर्मपत्नी राधिका शाक्यसहित बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्। बाढीले घर, सडक, विद्युत् संरचना तथा खानेपानीका मुहानमा क्षति पुर्याएको क्षेत्रमा पुगेर उनले पीडितहरूको अवस्था र क्षतिको वस्तुस्थिति बुझे।
केही दिनअघिसम्म मानिसको चहलपहलले भरिएका बस्ती अहिले हिलो, ढुंगा र भग्नावशेषमा परिणत भएका छन्। बाढीले कतिपय घर पूर्ण रूपमा बगाएको छ भने कतिपय घर लेदो र ढुंगाले पुरिएका छन्। स्थानीयवासीले जीवनभरको कमाइ, घरायसी सामान, अन्नपात तथा अन्य सम्पत्ति क्षणभरमै गुमाउनुपरेको बताएका छन्।
‘अब यही जोखिमपूर्ण स्थानमा बस्ती फर्काउन हुँदैन’
स्थलगत निरीक्षणपछि सञ्चारकर्मी तथा स्थानीय अगुवासँग कुरा गर्दै अध्यक्ष ओलीले विपत्तिलाई सामान्य बाढीका रूपमा मात्र लिन नहुने बताए।
उनले जलवायु संकट र नदी अतिक्रमणका कारण जोखिम बढिरहेको भन्दै बाढी प्रभावित बस्तीलाई पुनः त्यही जोखिमपूर्ण क्षेत्रमा बसाल्न नहुने धारणा राखे।
“अब यी बस्तीहरूलाई फेरि यही जोखिमपूर्ण बगरमा फर्काउन सकिँदैन। भूगर्भविद्हरूको अध्ययनका आधारमा सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरिनुपर्छ,” ओलीले भने।
पीडितको एउटै प्रश्न– ‘अब कहाँ जाने?’

बाढीबाट घरबारविहीन भएका स्थानीयवासीले तत्काल सुरक्षित आवास तथा दीर्घकालीन पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
स्थानीयका अनुसार अस्थायी रूपमा त्रिपालमा बस्नुपर्दा बालबालिका तथा वृद्धवृद्धालाई समस्या भइरहेको छ। चिसो मौसम सुरु हुन लागेकाले तत्काल सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
पीडितहरूले स्थायी पुनर्वाससँगै राहत तथा पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउनुपर्ने बताएका छन्।
बाढीपछि प्रभावित क्षेत्रमा विभिन्न संघसंस्था तथा स्वयंसेवकले उद्धार, सरसफाइ, राहत वितरण र अवरुद्ध सडक खुलाउने काम गरिरहेका छन्।
ओलीले पीडितहरूको समस्या संसद् र सरकारसमक्ष प्राथमिकताका साथ उठाउने तथा आवश्यक राहत र पुनर्स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।










