२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

काठमाडौं । सानिमा बैंकले आफ्नो २२औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले आगामी असोज १२ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित १० प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। त्यस्तै, अग्राधिकार शेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

यसैगरी, सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने प्रस्तावसमेत पेश हुनेछ। साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरिनेछ।

असोज १ गते बुक क्लोज

लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि बैंकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसअनुसार असोज १ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरूले मात्रै बैंकको वार्षिक साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

हाल बैंकको चुक्ता पुँजी करिब ६ अर्ब २ करोड रुपैयाँ रहेको छ। प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी पुग्नेछ।

यद्यपि प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिन बाँकी छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाले प्रस्ताव पारित गर्नुपर्नेछ। साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

गरिमा विकास बैंकको यो प्रस्तावसँगै विकास बैंकहरूबीच शेयरधनीलाई आकर्षक प्रतिफल दिने प्रतिस्पर्धा थप बढेको देखिएको छ। पछिल्लो समय विकास बैंकहरूले मुनाफाबाट शेयरधनीलाई उल्लेख्य लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाउन थालेका छन्।

काठमाडौं । नेपालीको प्रमुख चाड दशैं नजिकिँदै गर्दा चीनबाट आयात गरिएका चाडपर्व लक्षित सामानको आपूर्ति प्रभावित भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग अवरुद्ध बनाएपछि दशैं–तिहारका लागि मगाइएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका हुन्।

व्यवसायीहरूले असार र साउनमै चीनमा अर्डर गरेका रेडिमेड कपडा, जुत्ता–चप्पल, ब्याग, विद्युतीय सामग्री, फलफूललगायतका सामान केरुङदेखि रसुवा भन्सारसम्म विभिन्न चरणमा रोकिएका थिए। केही सामान बाढीमा बगेका छन् भने केही कन्टेनर अझै केरुङमै रोकिएका छन्।

४ सयभन्दा बढी कन्टेनर प्रभावित

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार बाढीमा ४ सयभन्दा बढी कन्टेनर हराएका छन्। तीमध्ये करिब २ सय कन्टेनरमा व्यापारिक सामान रहेको र बाँकी खाली कन्टेनर रहेको उनको भनाइ छ।

बाढीमा बगेका कन्टेनरमा मुख्यतः दशैं–तिहारका लागि ल्याइएका कपडा, जुत्ता–चप्पल, विद्युतीय सामग्री र फलफूल थिए।

कार्कीका अनुसार करिब ७०–७१ वटा कन्टेनरमा रहेको सामानको भन्सार राजस्वबापत १८ करोड रुपैयाँभन्दा बढी रकम बुझाइसकिएको थियो। प्रारम्भिक अनुमानमा बाढीबाट २ अर्ब रुपैयाँभन्दा बढी मूल्यको व्यापारिक सामान क्षति भएको व्यवसायीहरूले बताएका छन्।

यद्यपि क्षतिको यकिन विवरण भने सरकारी निकायबाट सार्वजनिक भइसकेको छैन।

१७६ कन्टेनर अझै केरुङमै

बाढीका कारण सबै सामान नष्ट भएका छैनन्। नेपाली व्यापारीका लागि सामान बोकेका १७६ वटा कन्टेनर अझै केरुङ क्षेत्रमा रोकिएका छन्।

यी सामानलाई वैकल्पिक माध्यमबाट नेपाल ल्याउने प्रयास भइरहेको भए पनि नाका नियमित रूपमा सञ्चालनमा नआएसम्म ठूलो परिमाणमा सामान भित्र्याउन कठिन हुने व्यवसायीहरू बताउँछन्।

दशैंको मुख्य सिजनमै व्यापार प्रभावित

दशैं–तिहार व्यापारीका लागि वर्षकै महत्वपूर्ण बिक्री सिजन हो। यही समयमा चीनसँगको प्रमुख व्यापारिक नाका अवरुद्ध हुँदा व्यापारीको कारोबारसँगै नगद प्रवाहमा समेत दबाब परेको छ।

व्यवसायीहरूले दशैंका लागि सामान खरिद गर्न बैंकको चालु पुँजी कर्जा, आयात कर्जा तथा प्रतितपत्रलगायत वित्तीय स्रोत प्रयोग गरेका हुन्छन्। सामान बिक्री भएपछि प्राप्त रकमबाट ऋण र ब्याज तिर्ने व्यापारिक चक्र चल्ने भए पनि यसपटक सामान बजारसम्म पुग्न नसक्दा समस्या बढेको हो।

यसको असर व्यापारीको लगानीसँगै बैंकिङ क्षेत्रबाट प्रवाह भएको कर्जामा समेत पर्न सक्ने जोखिम देखिएको छ।

तातोपानीबाट पनि तत्काल राहत भएन

रसुवागढी नाका अवरुद्ध भएपछि व्यापारीहरूले तातोपानीलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने अपेक्षा गरेका थिए। तर तातोपानीबाट पनि तत्काल ठूलो परिमाणमा कार्गो भित्र्याउने अवस्था बन्न सकेको छैन।

चिनियाँ पक्षले तातोपानी नाकाबाट कार्गो आवागमन अस्थायी रूपमा रोकेको जानकारी दिएको छ। पुनः कहिलेदेखि नियमित सञ्चालन हुन्छ भन्ने स्पष्ट मिति भने दिइएको छैन।

यससँगै नेपाल–चीन व्यापारका दुई प्रमुख स्थलमार्ग एकैपटक प्रभावित भएका छन्।

कोरला नाकाबाट ल्याउने प्रयास

रसुवागढी र तातोपानीमा समस्या आएपछि सरकारले मुस्ताङको कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा अघि बढाउन थालेको छ।

तर ठूलो परिमाणको आयात तत्काल कोरलाबाट व्यवस्थापन गर्न कठिन हुने विज्ञहरूको भनाइ छ। भन्सार, सडक तथा अन्य पूर्वाधारको क्षमता पर्याप्त नभएकाले रसुवागढीको पूर्ण विकल्प बन्न समय लाग्ने देखिएको छ।

समुद्री मार्गबाट सामान ल्याउन ढिलो

उत्तरी नाकामा पटक–पटक समस्या आउन थालेपछि चीनबाट सामान ल्याउन नेपाली व्यवसायीले समुद्री मार्गको प्रयोग बढाउन थालेका छन्।

तर दशैंको तत्कालीन माग पूरा गर्न यो प्रभावकारी विकल्प बन्न कठिन छ। स्थलमार्गबाट काठमाडौंसम्म सामान ल्याउन सामान्य अवस्थामा करिब १२–१३ दिन लाग्ने भए पनि समुद्री मार्गबाट ल्याउँदा ५५ देखि ६५ दिनसम्म लाग्न सक्छ।

सामानको मूल्य बढ्ने जोखिम

चीनबाट आउने सामानको आपूर्ति घट्नु र वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढ्नुले बजारभाउमा समेत असर पर्न सक्ने देखिएको छ।

व्यवसायीहरूका अनुसार सामान्य अवस्थामा करिब डेढदेखि दुई लाख रुपैयाँ लाग्ने कन्टेनर ढुवानी खर्च अहिले तीनदेखि चार लाख रुपैयाँसम्म पुगेको छ।

आपूर्ति घट्ने र ढुवानी खर्च बढ्ने हो भने केही वस्तुको मूल्य १० देखि २० प्रतिशतसम्म बढ्न सक्ने जोखिम रहेको व्यवसायीहरूले बताएका छन्।

दशैं नजिकिँदै गर्दा चीनबाट मगाइएका चाडपर्व लक्षित सामानको ठूलो हिस्सा अझै आपूर्ति शृंखलामै अड्किएको छ। केही सामान बाढीले बगाएको, केही केरुङमा रोकिएको र केहीलाई वैकल्पिक नाकाबाट नेपाल ल्याउने प्रयास भइरहेकाले यस वर्षको दशैं बजारमा सामानको अभाव, मूल्यवृद्धि र व्यापारीको नगद प्रवाहमा दबाब पर्ने जोखिम बढेको छ।

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।

कम्पनीले संस्थापक समूहअन्तर्गतको २ लाख २ हजार ७९८ कित्ता शेयर बिक्री गर्न लागेको हो। हाललाई उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

आवेदन रिलायबल नेपाल लाइफको शेयर रजिस्ट्रार रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको बालुवाटारस्थित कार्यालय वा कम्पनीको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ।

तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि समेत बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

के तपाईंलाई यो शेयर खरिदको मौका मिल्न सक्छ?

हालको चरणमा विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउने भएकाले सर्वसाधारण लगानीकर्ताले तत्काल आवेदन दिन पाउने अवस्था छैन। संस्थापकबाट आवेदन नपरेपछि मात्रै अन्य लगानीकर्ताका लागि बिक्री खुला हुन सक्नेछ।

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रबिन सिजापति नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले सिजापतिलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल बिहीबार समाप्त भएपछि बैंकले शुक्रबार नै नयाँ सीईओ नियुक्त गरेको हो। नवनियुक्त सीईओ सिजापतिलाई बैंकको उच्च व्यवस्थापन टोलीले शुक्रबार नै कार्यालयमा स्वागत गरेको छ।

सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) मा वरिष्ठ नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए। डेपुटी सीईओसरहको जिम्मेवारीमा रहेका उनले यही असार मसान्तदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए।

सिजापति सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकहरूमध्ये एकसमेत हुन्। बैंकमा संस्थापक लगानीकर्ताका रूपमा जोडिएका सिजापतिले अब आगामी चार वर्ष बैंकको व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन्।

बैंकको नेतृत्वमा अनुभवी सिजापतिको आगमनसँगै सांग्रिलाको आगामी व्यावसायिक रणनीति, सेवा विस्तार तथा संस्थागत सुदृढीकरणमा नयाँ गति आउने अपेक्षा गरिएको छ।

नुवाकोट — गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका तटीय बस्तीमा ठूलो क्षति पुर्‍याएपछि नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

ओली धर्मपत्नी राधिका शाक्यसहित बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्। बाढीले घर, सडक, विद्युत् संरचना तथा खानेपानीका मुहानमा क्षति पुर्‍याएको क्षेत्रमा पुगेर उनले पीडितहरूको अवस्था र क्षतिको वस्तुस्थिति बुझे।

केही दिनअघिसम्म मानिसको चहलपहलले भरिएका बस्ती अहिले हिलो, ढुंगा र भग्नावशेषमा परिणत भएका छन्। बाढीले कतिपय घर पूर्ण रूपमा बगाएको छ भने कतिपय घर लेदो र ढुंगाले पुरिएका छन्। स्थानीयवासीले जीवनभरको कमाइ, घरायसी सामान, अन्नपात तथा अन्य सम्पत्ति क्षणभरमै गुमाउनुपरेको बताएका छन्।

‘अब यही जोखिमपूर्ण स्थानमा बस्ती फर्काउन हुँदैन’

स्थलगत निरीक्षणपछि सञ्चारकर्मी तथा स्थानीय अगुवासँग कुरा गर्दै अध्यक्ष ओलीले विपत्तिलाई सामान्य बाढीका रूपमा मात्र लिन नहुने बताए।

उनले जलवायु संकट र नदी अतिक्रमणका कारण जोखिम बढिरहेको भन्दै बाढी प्रभावित बस्तीलाई पुनः त्यही जोखिमपूर्ण क्षेत्रमा बसाल्न नहुने धारणा राखे।

“अब यी बस्तीहरूलाई फेरि यही जोखिमपूर्ण बगरमा फर्काउन सकिँदैन। भूगर्भविद्हरूको अध्ययनका आधारमा सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरिनुपर्छ,” ओलीले भने।

पीडितको एउटै प्रश्न– ‘अब कहाँ जाने?’

बाढीबाट घरबारविहीन भएका स्थानीयवासीले तत्काल सुरक्षित आवास तथा दीर्घकालीन पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

स्थानीयका अनुसार अस्थायी रूपमा त्रिपालमा बस्नुपर्दा बालबालिका तथा वृद्धवृद्धालाई समस्या भइरहेको छ। चिसो मौसम सुरु हुन लागेकाले तत्काल सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

पीडितहरूले स्थायी पुनर्वाससँगै राहत तथा पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउनुपर्ने बताएका छन्।

बाढीपछि प्रभावित क्षेत्रमा विभिन्न संघसंस्था तथा स्वयंसेवकले उद्धार, सरसफाइ, राहत वितरण र अवरुद्ध सडक खुलाउने काम गरिरहेका छन्।

ओलीले पीडितहरूको समस्या संसद् र सरकारसमक्ष प्राथमिकताका साथ उठाउने तथा आवश्यक राहत र पुनर्स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौं — रसुवाको भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनदेखि फसेका ललितपुरका कविर महर्जनको शुक्रबार सकुशल जीवितै उद्धार गरिएको छ।

भदौ १० गते आएको बाढीपछि सुरुङभित्र फसेका महर्जनलाई नेपाली सेनासहित विज्ञ तथा प्राविधिकको टोलीले शुक्रबार बिहान सकुशल उद्धार गरेको हो। उद्धारपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

हाल महर्जनको सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा उपचार भइरहेको छ। उनको अवस्था चिकित्सकको निगरानीमा रहेको परिवारले जनाएको छ।

श्रीमानलाई भेट्न सैनिक अस्पताल पुगेकी उनकी श्रीमती हिराशोभा महर्जनले कविर जीवितै फर्किएपछि परिवारमा खुसीको सीमा नरहेको बताइन्।

उनका अनुसार कविरले सुरुमा आफूलाई समेत चिन्न सकेका थिएनन्। अहिले भने अलिअलि बोल्न थालेका छन्। उनको खुट्टामा सामान्य चोट लागेको छ भने शरीर पहेँलो देखिएको कारण चिकित्सकको निगरानीमा राखिएको परिवारले जनाएको छ।

हिराशोभाले भनिन्, “उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन। उहाँ फर्किँदा हामी एकदमै खुशी छौँ। परिवारमा सबै खुशी हुनुभएको छ। उहाँको जीवन बचाइदिनुभएकोमा नेपाली सेनालाई धन्यवाद।”

कविर महर्जन त्रिशूली–३ ‘ए’ आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन्।

१० दिनसम्म सुरुङभित्र जीवन र मृत्युको दोसाँधमा रहेका महर्जनको जीवितै उद्धार भएपछि परिवारसँगै उद्धारमा खटिएको टोली र शुभेच्छुकमा समेत खुसी छाएको छ।

दार्चुला — दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा पहिरो जाँदा चमेलिया नदी आधा थुनिएको छ।

शुक्रबार गएको पहिरोका कारण नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ। पहिरो जाने क्रम अझै नरोकिएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन्।

पहिरो निरन्तर खसिरहेकाले चमेलिया नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। नदी पूर्ण रूपमा थुनिएर एक्कासि पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले सूचना जारी गर्दै चमेलिया नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रशासनले नदीको अवस्था र पहिरोको जोखिमलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। सम्भावित जोखिमबाट धनजनको क्षति न्यूनीकरण गर्न तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन तथा आवश्यक परे सुरक्षित स्थानतर्फ जान तयार रहन आग्रह गरिएको छ।

प्रशासनको आग्रह: चमेलिया नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्नेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।