काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र त्यसमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी क्षेत्रका बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

रसुवाको भोटेकोशीमा गत भदौ १० गते बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
कुल सहयोग रकममध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्स संस्थागत रूपमा २५ लाख रुपैयाँ र कम्पनीमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबरको ८ लाख ५३ हजार १८ रुपैयाँ योगदान गरेका छन्।
उक्त आर्थिक सहयोगले विपद्को यस घडीमा प्रभावित परिवारलाई तत्काल राहत पुर्याउनुका साथै सरकारले सञ्चालन गर्ने पुनर्स्थापना कार्यक्रममा ठूलो सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत (COO) राजकुमार खड्काले बीमा कम्पनीको भूमिका जोखिम हस्तान्तरण र वित्तीय सुरक्षा प्रदान गर्नेमा मात्र सीमित नरहेको बताए। उनले संकटका बेला समुदायप्रतिको जिम्मेवारी निर्वाह गर्नु संस्थागत दायित्वको अभिन्न हिस्सा भएको उल्लेख गरे।
कम्पनीले आगामी दिनहरूमा पनि आवश्यकता र सम्भाव्यताका आधारमा विपद्बाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका पहलहरूमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।











