२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

सिन्धुपाल्चोक — रसुवाको भोटेकोसी बाढीका कारण चीनको केरुङ क्षेत्रमा अलपत्र परेका ११४ जना नेपाली नागरिक तातोपानी नाका हुँदै बिहीबार स्वदेश फर्किएका छन्। बाढीले रसुवागढी नाका र पासाङल्हामु राजमार्ग अवरुद्ध बनाएपछि केरुङ पुगेर रोकिएका नेपालीहरूलाई चिनियाँ पक्षको सहजीकरणमा तातोपानी नाका ल्याएर नेपाली अधिकारीको जिम्मा लगाइएको हो।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ अधिकारीहरूले सुरक्षित रहेका नेपालीलाई राहदानी नम्बरलगायतका विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर हस्तान्तरण गरेका छन्। स्वदेश फर्किएकाहरूमा अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका नागरिक छन्।

केरुङमा अझै १६ सय नेपाली, ८ सयले गराए नाम दर्ता

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार रसुवागढी नाकाबाट केरुङ क्षेत्रसम्म सामान लोड–अनलोड गर्न, सवारी साधन चलाउन तथा होटल र रेस्टुराँमा काम गर्न जाने नेपालीहरूलाई भिसाको आवश्यकता पर्दैन। अस्थायी अनुमति (पास) लिएर तिब्बत प्रवेश गरेका नेपालीलाई अहिले चीन सरकारले तातोपानी नाकासम्म पुर्‍याउन सहजीकरण गरिरहेको छ।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार:

केरुङमा रहेका नेपाली: केरुङ क्षेत्रमा अझै करिब १,६०० नेपाली रहेको अनुमान छ।

फर्किन इच्छुक: तीमध्ये नेपाल फर्किन चाहने करिब ८०० जनाले नाम दर्ता गराइसकेका छन्।

आवतजावत सीमा: अस्थायी अनुमतिमा तिब्बत जाने नेपालीहरूलाई सीमाबाट करिब ३० किलोमिटरभित्रसम्म मात्र आवतजावतको अनुमति दिइन्छ।

बाढीपछि राहदानी वा भिसा नभएको अवस्थामा तिब्बतमा रोकिएका नेपालीलाई सहज रूपमा स्वदेश फर्काउन चीन सरकारले निरन्तर सहयोग गरिरहेको महावाणिज्य दूतावासले जनाएको छ।

सिन्धुपाल्चोकका २३९ जना अझै अज्ञात

भोटेकोसी बाढीका कारण भएको विनाशपछि केही नेपाली अझै सम्पर्कविहीन छन्। प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकका मात्रै २३९ जना नागरिकको अवस्था अझै अज्ञात रहेको छ। उनीहरूको खोजी तथा उद्धारका लागि पहल जारी राखिएको छ।

काठमाडौं, भदौ १८ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेका नागरिकहरूको खोज तथा उद्धारमा सरकार पूर्ण रूपमा असफल र गम्भीर भएको आरोप लगाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले बाढीका कारण प्रभावित सातवटा जलविद्युत् आयोजनाका टनेलमध्ये दुईवटा मात्रै खोलिएको र बाँकी पाँचवटा टनेलमा अझै पनि खोजी तथा उद्धारको काम सुरु नभएको बताएका हुन्।

‘बाढीका कारण सबै टनेलको मुख बन्द छैन, केही टनेलका मुख खुल्लै छन्,’ शाहीले भने, ‘टनेल पूर्ण रूपमा बन्दै थिए भने जुम्लाका लालवीर बुढा र रमेश बुढाहरू कसरी जीवित बाहिर आए त? ती टनेलभित्र पसेर खोजी गर्ने काम नै भएको छैन।’ उनले पाँचवटा टनेलमा तत्काल प्रवेश गरेर खोजी गर्न सरकारसँग जोडदार माग गरे।

थुनिएका टनेलबारे विज्ञ र इन्जिनियरहरूसँग पर्याप्त छलफल नगरिएको उनको आरोप छ। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङसँग समेत सरकारले समयमै संवाद नगरेको भन्दै उनले बाढी आएको लामो समयपछि मात्र भेटघाटको प्रयास हुनु लज्जास्पद भएको बताए।

रसुवा र नुवाकोटका विभिन्न टनेलमा अझै पनि जुम्लाका मात्रै १०१ जना नागरिक रहेको दाबी गर्दै शाहीले सरकारको तयारीमाथि कडा प्रश्न उठाए। टनेलभित्रको हिलो हटाउन मेसिन छैन भन्ने प्रधानमन्त्रीको भनाइको खण्डन गर्दै उनले भने, ‘हामीसँग महावीर पुनजस्ता वैज्ञानिक मन्त्री छन्, तर हिलो तान्न लगिएको मेसिन तीन दिनदेखि सडकमा (नौकुण्ड गाउँपालिकामा) अड्किएको छ। त्यसलाई हेलिकप्टरबाट किन समयमै लगिएन?’

संकटमा परेका नागरिकको उद्धारको माग गर्नु कुनै अपराध नभएको स्पष्ट पार्दै सांसद शाहीले भने, ‘यदि नागरिकको उद्धार गरिदिनुस् भन्नु अपराध हो भने देश र जनताका लागि म हजार पटक अपराध गर्न तयार छु। मैले कसैसँग भिख मागेको होइन, संकटमा परेका नागरिकको जीवन रक्षाको अपिल गरेको हुँ।’

सेना परिचालन गर्ने वा ठूलो बजेट चलाउने कार्यकारी अधिकार आफूहरूसँग नभएको उल्लेख गर्दै उनले उद्धारको सम्पूर्ण जिम्मेवारी सरकारको भएको बताए। रास्वपा सभापति रवि लामिछानेसँग पनि त्यस्तो अधिकार नरहेको उनको भनाइ थियो।

सोही क्रममा उनले विगतका र हालैका घटनाहरूप्रति रोष प्रकट गर्दै राजनीतिक दलका कार्यकर्ताबाटै संकटको बेला आक्रमण र दुर्व्यवहार हुने गरेको गुनासो गरे। नख्खु घटनामा उद्धारको अपिल गर्दा आक्रमण भएको स्मरण गर्दै उनले अहिले टनेलमा फसेका श्रीमानको खोजी गरिदिने रुँदै आग्रह गर्ने एक महिलामाथि सामाजिक सञ्जालमा विभिन्न समूहबाट गालीगलौज र दुर्व्यवहार भइरहेकोप्रति कडा आपत्ति जनाए।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको ‘पल्सर स्पोर्टस् अवार्ड २०८२’ मा करातेकी एरिका गुरुङ र चन्द्रबहादुर थापा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्। काठमाडौँमा बिहीबार आयोजित विशेष समारोहका बीच २०८२ सालको उत्कृष्ट प्रदर्शनका आधारमा दुवैलाई वर्ष पुरुष तथा महिला खेलाडीको उपाधि प्रदान गरिएको हो।

करातेकी एरिका गुरुङले लगातार तेस्रो पटक वर्ष महिला खेलाडीको अवार्ड जित्दै ऐतिहासिक ‘ह्याट्रिक’ पूरा गरेकी छन्। पल्सर स्पोर्टस् अवार्डको इतिहासमा महिलातर्फ यो सफलता हासिल गर्ने उनी पहिलो खेलाडी बनेकी हुन्। वर्षभरि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको निरन्तर उत्कृष्ट प्रदर्शनका कारण उनी विजेता चुनिएकी हुन्।

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ का विजेताहरू:

वर्ष पुरुष खेलाडी: चन्द्रबहादुर थापा

वर्ष महिला खेलाडी: एरिका गुरुङ (कराते) — लगातार तेस्रो पटक (ह्याट्रिक)

पिपुल्स च्वाइस अवार्ड: मिना सुनार (भलिबल) — २९.०४% मत प्राप्त

वर्ष उत्कृष्ट प्रशिक्षक: कुशल श्रेष्ठ (कराते)

वर्ष युवा खेलाडी: मनिषा बोहोरा (कराते)

पारा एथलिट अफ द इयर: सुष्मा तामाङ (दृष्टिविहीन क्रिकेट)

स्पेशल अवार्ड: ध्रुव विक्रम मल्ल (कराते प्रशिक्षक)

लाइफ टाइम अचिभमेन्ट अवार्ड: कुमार मोहन बहादुर शाही (पूर्व ब्याडमिन्टन तथा टेनिस खेलाडी)

एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड: सभानायकन (भारत)

वर्ष महिला खेलाडी बनेकी एरिकाले मोरक्कोमा आयोजित कराते वान प्रिमियर लिगमा कास्य, टर्की र चीनमा भएका डब्लूकेएफ प्रिमियर लिगमा रजत, तथा मलेसियाको डब्लूकेएफ सिरिज र थाइल्यान्ड ओपनमा स्वर्ण पदक जितेकी थिइन्। उनलाई पछि पार्दै विधाको मनोनयनमा सानुमाया थिङ, सविना श्रेष्ठ, सन्तोषी श्रेष्ठ र सावित्रा भण्डारी परेका थिए।

यस्तै, सर्वाधिक समर्थकको भोटबाट छनोट हुने ‘पिपुल्स च्वाइस अवार्ड’ भलिबलकी मिना सुनारले २४.५३ प्रतिशत मत ल्याएका मिक्स मार्सल आर्टस्का रविन्द्र ढाँटलाई पछि पार्दै हात पारिन्।

वर्षको उत्कृष्ट प्रशिक्षक बनेका कुशल श्रेष्ठको प्रशिक्षणमा एरिका गुरुङ, मनिषा बोहोरा, रेहान जाबेद, सविना श्रेष्ठ र पुष्पकला लामाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि ऐतिहासिक पदकहरू दिलाएका थिए।

नेपाली खेलकुद क्षेत्रमा लामो समय योगदान पुर्‍याएका ८३ वर्षीय पूर्व ब्याडमिन्टन तथा टेनिस खेलाडी कुमार मोहन बहादुर शाहीलाई मञ्चले यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ।

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि अझै चार हजार २१६ जना सम्पर्कविहीन रहेका छन् ।

बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना रहेका छन् ।

यसैगरी, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाका करिब ८६५ जना सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार नुवाकोटका एक हजार ५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका १६४ जना नेपाली पनि सम्पर्कविहीन छन् । जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह तथा मातहतका कर्मचारी ३२ र निजी विद्यालयका एक शिक्षक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । खोज तथा उद्धारमा नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना सुरक्षाकर्मी खटिएका छन् ।

पाँच हजारभन्दा बढीको उपचार
बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार १३५ जनाको उपचार गरिएको प्रधिकरणले जनाएको छ । विभिन्न अस्पतालमा ३०१, नेपाली सेनाबाट तीन हजार २०६ र सशस्त्र प्रहरी बल नेपालबाट एक हजार ६२८ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन् ।हाल तीन हजार ९४८ जना ‘होल्डिङ सेन्टर’मा राखिएको प्राधिकरणले जनाएको छ । बाढीमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार २५२ पुगेको छ । प्राधिकरणका प्रवक्ता महतका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, तनहुँमा ३८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ ।

हवाई उद्धारलाई उच्च प्राथमिकता

दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । सेनाले हालसम्म चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको जनाएको छ । खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ७१५ पटक हवाई उडान गरेको छ । बुधबार मात्रै सेनाले २५ वटा हवाई उडान सञ्चालन गरेको प्राधिकरणले जनाएको छ । निजी क्षेत्रबाट पनि हालसम्म १२९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग पुगेको छ ।

सडक सम्पर्कविच्छेद भएका र दुर्गम क्षेत्रमा हवाई माध्यमबाट उद्धारसँगै राहत सामग्री पुर्‍याउने काम जारी रहेको प्राधिकरणले जनाएको छ । भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि राज्यका सुरक्षा निकाय, स्थानीय तह र विभिन्न सरकारी तथा गैरसरकारी निकाय निरन्तर उद्धार, उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् । अझै चार हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धारलाई थप तीव्र बनाइएको प्राधिकरणले जनाएको छ ।

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र त्यसमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी क्षेत्रका बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

रसुवाको भोटेकोशीमा गत भदौ १० गते बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

कुल सहयोग रकममध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्स संस्थागत रूपमा २५ लाख रुपैयाँ र कम्पनीमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबरको ८ लाख ५३ हजार १८ रुपैयाँ योगदान गरेका छन्।

उक्त आर्थिक सहयोगले विपद्को यस घडीमा प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनुका साथै सरकारले सञ्चालन गर्ने पुनर्स्थापना कार्यक्रममा ठूलो सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत (COO) राजकुमार खड्काले बीमा कम्पनीको भूमिका जोखिम हस्तान्तरण र वित्तीय सुरक्षा प्रदान गर्नेमा मात्र सीमित नरहेको बताए। उनले संकटका बेला समुदायप्रतिको जिम्मेवारी निर्वाह गर्नु संस्थागत दायित्वको अभिन्न हिस्सा भएको उल्लेख गरे।

कम्पनीले आगामी दिनहरूमा पनि आवश्यकता र सम्भाव्यताका आधारमा विपद्‌बाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका पहलहरूमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालका निर्जीवन बीमा कम्पनीहरुको व्यापारमा उच्च वृद्धि देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकहरुले साउन महिनाभित्रै ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्।अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनमा कम्पनीहरुले ४ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्जीवन बीमा क्षेत्रको समग्र व्यापार २३.३९ प्रतिशतले बढेको छ।प्राधिकरणका अनुसार समीक्षा अवधिमा १४ वटा निर्जीवन बीमकहरुले कुल २ लाख २९ हजार ५९९ वटा बीमालेख जारी गरेका छन्, जुन अघिल्लो वर्षको साउन (२ लाख १५ हजार २८५ वटा) को तुलनामा उल्लेख्य वृद्धि हो।व्यापारमा हिमालयन एभरेष्ट शीर्ष स्थानमा, वृद्धिदरमा एनएलजी अगाडिचालु आवको साउनमा सबै १४ वटै निर्जीवन बीमा कम्पनीहरुको व्यापार बढेको छ। सर्वाधिक व्यापार भित्र्याउने सूचीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा रहन सफल भएको छ भने व्यापार वृद्धिको हिसाबले एनएलजी इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ।हिमालयन एभरेष्ट इन्स्योरेन्स: साउन महिनामा ५६ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै शीर्ष स्थान कब्जा गरेको छ। अघिल्लो वर्ष ३६ करोड ५२ लाख रुपैयाँ कमाएको यस कम्पनीको व्यापार ५४.०१ प्रतिशतले बढेको छ।सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको): ५५ करोड ३२ लाख रुपैयाँ आर्जन गर्दै दोस्रो स्थानमा परेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार २१.४९ प्रतिशतले बढेको हो।एनएलजी इन्स्योरेन्स: ५३ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरी तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष ३४ करोड ४१ लाख रुपैयाँ कमाएको यस कम्पनीले ५५.३७ प्रतिशतको उच्च व्यापार वृद्धि हासिल गरेको छ।कुन कम्पनीको व्यापार कति? (कम्पनीगत विवरण)चालु आर्थिक वर्षको साउन महिनामा विभिन्न निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्क तथा वृद्धिदर:क्र.सं.बीमा कम्पनीको नामचालु आव साउन (रु.)अघिल्लो आव साउन (रु.)वृद्धिदर (%)१हिमालयन एभरेष्ट इन्स्योरेन्स५६ करोड २५ लाख३६ करोड ५२ लाख५४.०१%२सगरमाथा लुम्बिनी इन्स्योरेन्स५५ करोड ३२ लाख४५ करोड ५४ लाख२१.४९%३एनएलजी इन्स्योरेन्स५३ करोड ४६ लाख३४ करोड ४१ लाख५५.३७%४शिखर इन्स्योरेन्स५१ करोड २० लाख४१ करोड ५५ लाख२३.२३%५सिद्धार्थ प्रिमियर इन्स्योरेन्स४६ करोड ७६ लाख४१ करोड ७९ लाख११.८९%६आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स४४ करोड ७१ लाख३३ करोड ८२ लाख३२.२१%७ओरिएन्टल इन्स्योरेन्स४४ करोड ३७ लाख४१ करोड ३७ लाख७.२५%८नेको इन्स्योरेन्स३८ करोड ८ लाख३२ करोड १ लाख१८.९७%९युनाइटेड अजोड इन्स्योरेन्स३३ करोड २३ लाख-वृद्धि१०नेसनल इन्स्योरेन्स२७ करोड २ लाख-वृद्धि११नेपाल इन्स्योरेन्स२५ करोड २७ लाख-वृद्धि१२सानिमा जीआईसी इन्स्योरेन्स२४ करोड ३ लाख-वृद्धि१३राष्ट्रिय बीमा कम्पनी१९ करोड २ लाख-वृद्धि१४प्रभु इन्स्योरेन्स१४ करोड ६ लाख-वृद्धिसमग्रमा, आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै निर्जीवन बीमा व्यवसायमा आएको यो २३.३९ प्रतिशतको दोहोरो अंकको वृद्धिले बीमा क्षेत्रमा सकारात्मक लय फर्किएको संकेत गरेको छ।

काठमाडौँ — नेपालका वाणिज्य बैंकहरूले जलविद्युत् तथा ऊर्जा क्षेत्रमा आफ्नो लगानीलाई तीव्र गतिमा विस्तार गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ (असार मसान्त) को तथ्याङ्क अनुसार २० वाणिज्य बैंकको कुल लगानी ५ खर्ब ३ अर्ब ८५ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
​यो लगानी अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १६.५७ प्रतिशत ले बढी हो। एकै वर्षको अवधिमा बैंकहरूले ऊर्जा क्षेत्रमा थप ७१ अर्ब ६१ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
​शीर्ष स्थानमा नबिल र कुमारी बैंकको प्रतिस्पर्धा
​ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गर्ने मामलामा नबिल बैंक पहिलो स्थानमा कायमै छ। नबिलले यस क्षेत्रमा ५३ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.१८ प्रतिशतको वृद्धि हो।
​त्यस्तै, कुमारी बैंक ले ४९.५९ प्रतिशतको आक्रामक वृद्धिसहित ५२ अर्ब ६० करोड रुपैयाँ पुर्‍याएर नबिललाई पछ्याइरहेको छ।
​कुन बैंकको लगानी कति? (असार मसान्त २०८३ सम्म)
​२० अर्बभन्दा बढी लगानी गर्ने १२ बैंक:
​नबिल बैंक: रु ५३ अर्ब ५३ करोड २१ लाख
​कुमारी बैंक: रु ५२ अर्ब ६० करोड १३ लाख
​नेपाल इन्भेस्टमेन्ट मेगा बैंक: रु ३६ अर्ब ४८ करोड २० लाख
​लक्ष्मी सनराइज बैंक: रु ३४ अर्ब ११ करोड ९६ लाख
​ग्लोबल आइएमई बैंक: रु ३२ अर्ब ९२ करोड ५८ लाख
​एनएमबी बैंक: रु ३० अर्ब ६७ करोड ९५ लाख
​सानिमा बैंक: रु ३० अर्ब ४४ करोड ७४ लाख
​एभरेस्ट बैंक: रु २७ अर्ब ६७ करोड ४८ लाख
​राष्ट्रिय वाणिज्य बैंक: रु २७ अर्ब ३९ करोड ५४ लाख
​प्राइम कमर्सियल बैंक: रु २६ अर्ब ८७ करोड ३८ लाख
​सिटिजन्स बैंक: रु २४ अर्ब १६ करोड ४३ लाख
​सिद्धार्थ बैंक: रु २२ अर्ब ३८ करोड ६९ लाख
​१० अर्बदेखि २० अर्बसम्म लगानी गर्ने ६ बैंक:
​प्रभु बैंक: रु १९ अर्ब ८७ करोड ८१ लाख
​हिमालयन बैंक: रु १८ अर्ब २४ करोड ५८ लाख
​नेपाल बैंक: रु १७ अर्ब ४६ करोड ८३ लाख
​माछापुच्छ्रे बैंक: रु १६ अर्ब ३१ करोड ७० लाख
​कृषि विकास बैंक: रु १३ अर्ब ७६ करोड ३८ लाख
​नेपाल एसबिआई बैंक: रु ११ अर्ब ७२ करोड ४६ लाख
​१० अर्बभन्दा कम लगानी गर्ने २ बैंक:
​स्ट्यान्डर्ड चार्टर्ड बैंक: रु ५ अर्ब ७५ करोड ४७ लाख
​एनआईसी एसिया बैंक: रु २ अर्ब २५ करोड ३० लाख
​एनआईसी एसियाको लगानीमा भारी गिरावट
​सबैभन्दा कम लगानी गर्ने बैंकमा एनआईसी एसिया बैंक रहेको छ। समीक्षा अवधिमा यस बैंकको ऊर्जा क्षेत्रको लगानी ६३.३६ प्रतिशतले घट्दै २ अर्ब २५ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ।

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः ठूलो रकम खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ तान्न लागेको हो।
राष्ट्र बैंकले आज भदौ १८ गते निक्षेप संकलन उपकरणको बोलकबोल गर्दैछ। बोलकबोल ब्याजदरमा प्रतिस्पर्धात्मक रूपमा हुनेछ। बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा समेत बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। बोलकबोल आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ।
निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल गरिएको रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।
राष्ट्र बैंकका अनुसार यो ९० दिने निक्षेप संकलन उपकरण हो। यसअन्तर्गत संकलन गरिएको साँवा तथा ब्याज आगामी मंसिर १६ गते भुक्तानी गरिनेछ।
बैंकिङ प्रणालीमा कर्जा प्रवाहको तुलनामा निक्षेप बढ्दै गएपछि उत्पन्न अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पटक–पटक पैसा खिच्दै आएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।