२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार

नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँमा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक रुट खोजिँदै

काठमाडौँ । चीनतर्फबाट आएको बाढीका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक उपाय खोजिएको छ।
मुख्य राजमार्ग अवरुद्ध हुँदा ग्यास बुलेटमार्फत नियमित आपूर्ति हुन नसकेपछि काठमाडौँ बाहिरका ग्यास उद्योगमा सिलिन्डर भरेर वैकल्पिक सडकमार्गबाट उपत्यका ल्याउने तयारी गरिएको हो।
यस विषयमा मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ। छलफलमा प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी उपरीक्षक (एसपी), सडक डिभिजनका प्रतिनिधि, नारायणी ट्रक व्यवसायी समितिका पदाधिकारी तथा एलपी ग्यास व्यवसायीहरूको सहभागिता रहेको थियो।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहका अनुसार मुख्य राजमार्ग बन्द भएपछि उपत्यकामा ग्यासको समस्या देखिन थालेकाले वैकल्पिक माध्यमबाट आपूर्ति गर्ने तयारी अघि बढाइएको हो।
उनका अनुसार काठमाडौँ बाहिर रहेका ग्यास उद्योगमा सिलिन्डर भरेर ट्रकमार्फत उपत्यकामा पठाउने योजना बनाइएको छ। कान्तिराजपथ, त्रिभुवन राजपथलगायत सम्भावित वैकल्पिक सडकमार्ग प्रयोग गरी ग्यास ढुवानी गर्ने विषयमा छलफल भएको हो।
यसैबीच, मंगलबार काठमाडौँ बाहिर बोटलिङ गरिएका करिब ४ हजार सिलिन्डर ग्यास उपत्यकामा ल्याइएको शाहले जानकारी दिएका छन्।
बाढीका कारण मुख्य सडक कहिले सञ्चालनमा आउँछ भन्ने निश्चित नभएकाले उपभोक्तालाई ग्यास अभाव हुन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय, ट्रक व्यवसायी र ग्यास उद्योगीबीच समन्वय गरी आपूर्ति व्यवस्थापन गर्न लागिएको हो।
बैठकले वैकल्पिक सडकमार्गबाट ग्यास ढुवानी गर्दा आवश्यक सुरक्षा व्यवस्था तथा सडकको अवस्था हेरेर आवागमन सहज बनाउने विषयमा निर्णय गर्ने बताइएको छ।
यसअघि मुख्य राजमार्ग हुँदै ग्यास बुलेटमार्फत हुँदै आएको आपूर्ति प्रभावित भएपछि उपत्यकामा ग्यासको अभाव हुन सक्ने चिन्ता बढेको थियो। वैकल्पिक रुटबाट सिलिन्डर ढुवानी सुरु भएमा तत्कालका लागि उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।