काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोमा बेपत्ताहरूको खोजी तथा उद्धारमा सघाउन भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपाल आएका छन्।

बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदार तथा अन्य नागरिकको उद्धारमा सहयोग गर्न ती देशबाट विशेषज्ञ टोली आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाली सुरक्षा तथा अन्य निकायका एकीकृत टोलीले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी रूपमा अघि बढाइरहेको जानकारी दिए।
उनका अनुसार सुरुङ उद्धारका लागि भारतबाट आएका ११ जना, चीनका ९ जना तथा दक्षिण कोरियाका विशेष प्राविधिक टोलीसँग नेपाली टोलीले समन्वय गरी काम गरिरहेका छन्।
त्यस्तै, बाढीमा मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि भारत र चीनबाट एयरटाइट ब्याग प्राप्त भएको तथा थप ब्यागसमेत आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ।
बेपत्ताको पहिचानका लागि भारतबाट डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेका १८ जना फरेन्सिक विशेषज्ञको टोलीसमेत नेपाल आइपुगेको छ।
नेपाल प्रहरीका अनुसार बाढी–पहिरोमा हालसम्म ७८८ जनाको शव फेला परेको छ भने ३ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता छन्। उद्धार गरिएका व्यक्तिको संख्या ८ हजारभन्दा बढी पुगेको प्रहरीले जनाएको छ।











