
काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै बैंकले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने जनाएको छ।
बैंकका अनुसार बाढीले टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली र देवीघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम उद्धार कोषमा प्रदान गरेको जनाएको छ।
बैंकले बाढीमा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि छिमेकी मुलुक भारत र चीनले सहयोग बढाएका छन्। दुवै देशले राहत सामग्रीसँगै उद्धार तथा विपद् व्यवस्थापनमा आवश्यक प्राविधिक जनशक्ति र उपकरण नेपाल पठाएका हुन्।
भारतबाट चौथो चरणको सहायता
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार करिब ११ टन राहत सामग्री बोकेको चौथो विमान प्राविधिक टोलीसहित नेपालका लागि उडेको छ। नेपालमा जारी उद्धार तथा राहत अभियानमा भारतको सहयोग निरन्तर रहने उनले बताएका छन्।
भारतीय वायुसेनाको सी–१३० विमानमार्फत खोजी तथा उद्धारमा प्रयोग हुने उपकरणसहित सुरुङ उद्धारका लागि प्राविधिक टोली काठमाडौं आइपुगेको भारतीय दूतावासले जनाएको छ।
त्यस्तै, बेपत्ता तथा मृतकको पहिचानमा सहयोग पुर्याउन डीएनए परीक्षणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोलीसमेत नेपाल आएको छ।
भारतबाट पछिल्लो पटक पठाइएको राहत सामग्रीमा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइका सामग्रीलगायत छन्।
बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि यातायात पूर्वाधार पुनः सञ्चालनमा सहयोग गर्न भारतले पुल निर्माणका सामग्रीसमेत पठाएको छ।
जयशंकरका अनुसार २३० फिट लामो एक लेनको मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक सामग्री बोकेका १६ वटा ट्रक नेपाल पठाइसकिएको छ। थप सातवटा बेली ब्रिज निर्माणका उपकरण तथा जडानका लागि आवश्यक प्राविधिक टोलीसमेत नेपाल आउने तयारीमा छन्।
भारतका अनुसार हालसम्म हवाई माध्यमबाट ६८.५ टन राहत सामग्री काठमाडौं ल्याइसकिएको छ। यसअघि औषधि, पोर्टेबल जेनेरेटर, तयारी खाना, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा विपद् व्यवस्थापनका विभिन्न उपकरण नेपाल पठाइसकिएको छ।
चीनबाट ५० टन राहत सामग्री
यसैबीच चीनले पनि बाढीपहिरो प्रभावितका लागि करिब ५० टन आपत्कालीन राहत सामग्री नेपाल पठाएको छ।
आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० विमान राहत सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उपकरणसहित नेपाल आएका छन्।
विमानस्थलमा आयोजित कार्यक्रममा चीनले ल्याएको राहत सामग्री नेपाललाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी थिए।
चिनियाँ पक्षका अनुसार दुवै विमान चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएका हुन्। दुवै विमानमा गरी करिब ५० टन तौलका १३ हजार २०० थान आपत्कालीन सामग्री ल्याइएको छ।
ती सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट तथा प्राथमिक उपचारका किटलगायत छन्।
बाढीपहिरोबाट नेपाल–चीन सीमा क्षेत्रसहित विभिन्न स्थानमा ठूलो क्षति भएपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले चीनले राहत सामग्री र विशेषज्ञ टोली पठाएको जनाएको छ।
विपद्को कठिन अवस्थामा भारत र चीनबाट प्राप्त राहत, उद्धार सामग्री तथा प्राविधिक सहयोगले प्रभावितको खोजी, उद्धार र पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोमा बेपत्ताहरूको खोजी तथा उद्धारमा सघाउन भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपाल आएका छन्।
बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदार तथा अन्य नागरिकको उद्धारमा सहयोग गर्न ती देशबाट विशेषज्ञ टोली आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाली सुरक्षा तथा अन्य निकायका एकीकृत टोलीले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी रूपमा अघि बढाइरहेको जानकारी दिए।
उनका अनुसार सुरुङ उद्धारका लागि भारतबाट आएका ११ जना, चीनका ९ जना तथा दक्षिण कोरियाका विशेष प्राविधिक टोलीसँग नेपाली टोलीले समन्वय गरी काम गरिरहेका छन्।
त्यस्तै, बाढीमा मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि भारत र चीनबाट एयरटाइट ब्याग प्राप्त भएको तथा थप ब्यागसमेत आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ।
बेपत्ताको पहिचानका लागि भारतबाट डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेका १८ जना फरेन्सिक विशेषज्ञको टोलीसमेत नेपाल आइपुगेको छ।
नेपाल प्रहरीका अनुसार बाढी–पहिरोमा हालसम्म ७८८ जनाको शव फेला परेको छ भने ३ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता छन्। उद्धार गरिएका व्यक्तिको संख्या ८ हजारभन्दा बढी पुगेको प्रहरीले जनाएको छ।
बेत्रावती । नुवाकोटको आकाशमा छिनछिनमै हेलिकप्टर उडिरहेका छन् । भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत भएपछि उद्धार तथा राहतका लागि हेलिकप्टरको आवतजावत बढेको हो ।
सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा अहिले आफैंमा चुनौतीपूर्ण बनेको छ । नुवाकोट र रसुवालाई जोड्ने त्रिशूली नदी आसपासको महत्वपूर्ण संगमस्थल बेत्रावती पाँच दिनअघिसम्म मानिस तथा सवारीसाधनको चहलपहलले भरिएको व्यस्त बजार थियो ।
तर केही मिनेटमै आएको भीषण बाढीले बेत्रावतीको परिचित दृश्य नै बदलिदिएको छ ।
जहाँ घर तथा पसल थिए, त्यहाँ अहिले ढुंगा, माटो, गेग्रान र भग्नावशेषको थुप्रो छ । कतै घर तथा संरचना आधा ढलेका छन् भने कतै बाढीले अन्यत्रबाट बगाएर ल्याएका घरका सामान, काठ र निर्माण सामग्री थुप्रिएका छन् ।
बाढीले सडक, पुल तथा आसपासका संरचनामा समेत ठूलो क्षति पुर्याएपछि बेत्रावतीको जनजीवन अस्तव्यस्त बनेको छ । केही दिनअघिसम्म चहलपहल हुने बजार अहिले सुनसान र त्रासदीपूर्ण देखिन्छ ।
उद्धार तथा राहतका लागि सुरक्षाकर्मी र विभिन्न निकाय परिचालन भए पनि क्षतविक्षत सडक र जोखिमपूर्ण भूगोलका कारण प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ ।
बेत्रावतीमा अहिले बाढीले पुर्याएको क्षतिको दृश्य मात्र होइन, आफ्नो घर, पसल र वर्षौँको कमाइ गुमाएका स्थानीयको पीडा पनि उत्तिकै भयावह देखिन्छ ।
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि सरकारले अपनाएको नीति उचित नभएको बताउनुभएको छ।
आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले शव पहिचान नगरी जमिनमुनि व्यवस्थापन गर्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउनुभयो। डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने गरी शव व्यवस्थापन गरिएको भए पनि यसबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उहाँको भनाइ छ।
‘शव पहिचानको सन्दर्भमा सरकारले जे नीति बनायो, यो अत्यन्त बेठीक भएको छ,’ पोखरेलले भन्नुभयो, ‘डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने हिसाबले शव व्यवस्थापन गरिएको अवस्था छ। तर पीडितहरूको दृष्टिकोणबाट हेर्दा उनीहरूलाई चित्त बुझेको अवस्था छैन। त्यसैले शव व्यवस्थापनका विषयमा सरकारले अलिकति ध्यान दिनुपर्ने अवस्था देखिन्छ।’
महासचिव पोखरेलले रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि एमालेले पार्टी पंक्तिबाट सहयोग संकलन गर्न प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो।
उहाँका अनुसार पार्टीका तर्फबाट संकलन हुने सहयोग केन्द्रीय राहत कोषमा जम्मा गरिनेछ।
पोखरेलले बाढी प्रभावित जिल्लामा पार्टी केन्द्रसँग समन्वय गर्न फोकल पर्सन तोकेर अघि बढ्नुपर्ने बताउनुभयो। सम्बन्धित जिल्लामा तोकिने फोकल पर्सनले प्रभावित क्षेत्रका सूचना संकलन गरी पार्टीले सञ्चालन गर्ने राहत तथा उद्धारका गतिविधिमा समन्वय गर्ने उहाँले जानकारी दिनुभयो।
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको पाँच दिन बितिसक्दा पनि सुरुङ तथा पावरहाउसमा फसेका सयौँ श्रमिक र प्राविधिकको अवस्था अझै अज्ञात छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनाका गरी ८९८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । तीमध्ये ठूलो संख्या सुरुङ तथा पावरहाउसमा फसेको अनुमान गरिएको छ ।
बाढी आएको सय घण्टाभन्दा बढी समय बितिसक्दा पनि आवश्यक जनशक्ति, आधुनिक उपकरण, भौगोलिक जटिलता तथा पूर्वाधारको अभावका कारण उद्धारमा अपेक्षित गति आउन सकेको छैन ।
माथिल्लो त्रिशूली–१ मा मात्रै करिब ३०० जना सुरुङभित्र
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा मात्रै ठूलो संख्यामा श्रमिक सम्पर्कविहीन छन् । आयोजनाका अनुसार कुल ५७६ जना सम्पर्कविहीन भएकोमा हालसम्म २५४ जनाको उद्धार गरिएको छ भने करिब ३०० जना सुरुङभित्र फसेको अनुमान गरिएको छ ।
त्यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा २५ जना श्रमिक अझै फसेका छन् । ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ४२ जना सुरुङभित्र रहेको अनुमान गरिएको छ ।
सुरुङभित्र अक्सिजनको अभाव र बढ्दो चिसोका कारण फसेका श्रमिकको अवस्था थप जोखिमपूर्ण बन्दै गएको आयोजनाका प्रतिनिधिहरूले बताएका छन् ।
लाङटाङ आयोजनाका प्रवर्द्धक विजयमान भट्टराईले चार दिनसम्म ठोस उद्धार प्रयास सुरु हुन नसकेको भन्दै गुनासो गरेका छन् ।
आफन्तको एउटै प्रश्न–‘सास पाउने कि लास?’
रसुवाको धुन्चेमा आफ्ना आफन्तको उद्धारको प्रतीक्षामा बसेका परिवारको अवस्था निकै मर्मस्पर्शी बनेको छ ।
म्याग्दीबाट बेपत्ता बुवाको खोजीमा आएका एक बालकका मामा जसिन्द्र रसाइलीले आफ्नो गाउँ र छिमेकी जिल्लाबाट मात्रै २० जनाभन्दा बढी मानिस बेपत्ता रहेको बताएका छन् ।
उनका अनुसार सुरुङभित्र फसेकाहरू जीवितै रहेको परिवारको विश्वास छ । तर उद्धारमा ढिलाइ हुँदा आफन्तमा चिन्ता र आक्रोश बढ्दै गएको छ ।
विदेशी विशेषज्ञ परिचालन गरिएको सरकारको दाबी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले उद्धार कार्यलाई तीव्रता दिन भारतीय तथा चिनियाँ विशेषज्ञ टोलीसहित आधुनिक प्रविधि परिचालन गरिएको बताएका छन् ।
उनका अनुसार जोखिमयुक्त क्षेत्रमा स्क्यान गर्ने अत्याधुनिक उपकरण पठाइएको छ । उक्त प्रविधिबाट सुरुङभित्र जीवित वा मृत अवस्थामा रहेका व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको छ ।
भौगोलिक रूपमा निकै जटिल क्षेत्रमा उद्धार गर्नुपर्ने भएकाले केही समय लागिरहेको उनको भनाइ छ ।
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा भने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली उद्धारमा खटिएको छ ।
नेपाली सेनाका ६६, सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको टोलीले सुरुङको क्राउन हेडमा करिब २–३ फिटको प्वाल बनाएर भित्र प्रवेश गर्ने प्रयास गरेको छ ।
डोरीको सहायताले सुरुङभित्र झरेर आवाज दिँदा कुनै प्रतिक्रिया नआएको बताइएको छ । अब प्वाल फराकिलो बनाउन ब्लास्टिङलगायतका विकल्पबाट भित्र प्रवेश गर्ने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ ।
तर माथिल्लो त्रिशूली–१ र लाङटाङजस्ता दुर्गम क्षेत्रमा रहेका आयोजनामा भने प्रभावकारी उद्धार अझै सुरु हुन सकेको छैन ।
विदेशी प्राविधिकलाई अनुमति नदिएको इप्पानको आरोप
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले माथिल्लो त्रिशूली–१ का कोरियन प्राविधिकहरूले उद्धारको जिम्मेवारी लिन खोज्दा सरकारले अनुमति नदिएको आरोप लगाएका छन् ।
उनले विपद्को समयमा राष्ट्रियता वा प्रक्रियागत जटिलताभन्दा नागरिकको ज्यान बचाउनु प्राथमिकता हुनुपर्ने बताएका छन् ।
‘सुरुङमा फसेकाहरूलाई जति छिटो निकाल्यो, उति नै जीवित पाउने सम्भावना रहन्छ,’ डाँगीको भनाइ छ ।
निजी क्षेत्रलाई आफ्नै स्रोतबाट उद्धार गर्न दिन माग
नेपाल इन्जिनियर्स एसोसिएसन, इप्पान र नेपाल टनेलिङ एसोसिएसनलगायत संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै उद्धारमा निजी तथा सरकारी सबै स्रोत–साधन परिचालन गर्न माग गरेका छन् ।
उनीहरूले निजी क्षेत्रका प्रवर्द्धकलाई आफ्नै खर्चमा हेलिकप्टर प्रयोग गर्न दिन तथा आवश्यक प्रशासनिक प्रक्रिया सहज बनाउन सरकारसँग आग्रह गरेका छन् ।
सुरुङ उद्धारका लागि विशेष उपकरणसहितको दक्ष टोली तत्काल परिचालन गर्नुपर्ने उनीहरूको माग छ ।
३६१ जनाको जीवित उद्धार
इप्पानका अनुसार बाढीबाट प्रभावित जलविद्युत् आयोजनाबाट हालसम्म ३६१ जनाको जीवित उद्धार गरिएको छ ।
माथिल्लो त्रिशूली–१ बाट २५४ जना, लाङटाङ आयोजनाबाट १८ जना र माथिल्लो त्रिशूली–३ ‘बी’ बाट ९१ जनाको उद्धार भएको छ ।
तर अझै ठूलो संख्यामा श्रमिक सम्पर्कविहीन रहेकाले उनीहरूको अवस्था तत्काल पत्ता लगाएर उद्धार गर्नुपर्ने दबाब बढेको छ ।
बाढी आएको पाँच दिन बितिसक्दा पनि सुरुङभित्र कति अक्सिजन बाँकी छ, कति श्रमिक जीवित छन् र उनीहरूलाई तत्काल कसरी बाहिर निकाल्ने भन्ने विषयमा स्पष्ट जानकारी आउन सकेको छैन । आफन्तहरू भने आफ्ना मान्छेको ‘सास पाउने कि लास?’ भन्ने पीडादायी प्रतीक्षामा छन् ।
काठमाडौं, भदौ १४ । रसुवा क्षेत्रमा पुनः बाढी आएको सूचना प्राप्त भएपछि प्रहरीले नदी तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं–मुग्लिन सडकखण्ड तथा नारायणगढबाट पोखरा जाने र पोखराबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्म पूर्णरूपमा बन्द गरिएको चितवन प्रहरीले जनाएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
प्रहरीले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त स्थानबाट टाढा रहन तथा आवश्यक सुरक्षा सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।






