काठमाडौं । क्यान्सर उपचारको क्षेत्रमा ठूलो सफलता हात परेको छ। मडर्ना र मर्क कम्पनीले संयुक्त रूपमा विकास गरिरहेको व्यक्तिगतकृत एमआरएनए क्यान्सर खोपले मेलानोमा अर्थात् छालाको क्यान्सरसम्बन्धी अन्तिम चरणको क्लिनिकल परीक्षणमा आफ्नो मुख्य लक्ष्य पूरा गरेको छ।

एक हजारभन्दा बढी प्रारम्भिक चरणका मेलानोमा बिरामीमा गरिएको परीक्षणमा खोपले शल्यक्रियापछि क्यान्सर पुनः देखा पर्ने तथा शरीरका अन्य भागमा फैलिने जोखिम घटाउन सफल भएको प्रारम्भिक नतिजाले देखाएको छ।
यो खोप प्रत्येक बिरामीको ट्युमरमा देखिएका विशिष्ट आनुवंशिक उत्परिवर्तन पहिचान गरी त्यसअनुसार तयार गरिन्छ। एमआरएनए प्रविधिमार्फत बिरामीको क्यान्सरका विभिन्न लक्षहरू प्रतिरक्षा प्रणालीलाई ‘चिनाउने’ र क्यान्सर कोषविरुद्ध आक्रमण गर्न टी–कोषलाई प्रशिक्षित गर्ने यसको मुख्य उद्देश्य हो।
मडर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफेन बान्सेलले परीक्षणको सकारात्मक नतिजाको खबरलाई कम्पनीका लागि कोभिड–१९ खोपको सफल परीक्षणको समयजस्तै महत्वपूर्ण क्षण भएको बताएका छन्।
मडर्ना र मर्कले सन् २०१६ देखि क्यान्सर खोप विकासमा सहकार्य गर्दै आएका छन्। यस परियोजनामा मर्कले प्रारम्भिक चरणमा २० करोड अमेरिकी डलर तथा सन् २०२२ मा थप २५ करोड डलर लगानी गरेको थियो। परियोजनाको लागत र मुनाफा दुवै कम्पनीले बराबरी रूपमा बाँड्ने सहमति गरेका छन्।
यो खोपलाई मर्कको चर्चित क्यान्सर औषधि ‘कीट्रुडा’सँग संयोजन गरिएको छ। कीट्रुडाले शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोषविरुद्ध सक्रिय हुन सहयोग गर्छ भने नयाँ एमआरएनए खोपले बिरामीको ट्युमरका विशिष्ट लक्ष्यहरू प्रतिरक्षा प्रणालीलाई पहिचान गराउने काम गर्छ।
कम्पनीहरूले मेलानोमा क्यान्सरलाई प्रारम्भिक परीक्षणका लागि छनोट गर्नुको मुख्य कारण यसमा अन्य धेरै क्यान्सरको तुलनामा आनुवंशिक उत्परिवर्तनको संख्या बढी हुनु र प्रतिरक्षा उपचारमा यसको तुलनात्मक रूपमा राम्रो प्रतिक्रिया देखिनु हो।
वैज्ञानिकहरूका अनुसार पुराना क्यान्सर खोपहरूले सीमित संख्याका ट्युमर उत्परिवर्तनलाई मात्र लक्षित गर्ने प्रयास गरेका थिए। नयाँ प्रविधिले भने एउटै बिरामीका दर्जनौं विशिष्ट क्यान्सर लक्ष्यलाई एकैपटक लक्षित गर्न सक्ने भएकाले उपचार प्रभावकारी हुने सम्भावना बढेको छ।

यद्यपि, परीक्षणको विस्तृत तथ्यांक अझै सार्वजनिक हुन बाँकी छ। नियामक स्वीकृति प्राप्त भएपछि मात्रै यो खोप व्यापक रूपमा प्रयोगमा आउनेछ। कम्पनीहरूले आगामी चरणमा फोक्सो, मिर्गौला र प्यान्क्रियाजका क्यान्सरमा समेत यही प्रविधि प्रभावकारी हुन्छ कि हुँदैन भन्ने परीक्षण गर्ने तयारी गरेका छन्।
क्यान्सरविरुद्धको उपचारमा व्यक्तिगतकृत एमआरएनए प्रविधिले सफलता पाएमा बिरामीको आफ्नै क्यान्सरको आनुवंशिक विशेषताअनुसार उपचार विकास गर्ने नयाँ युग सुरु हुन सक्ने वैज्ञानिकहरूको अपेक्षा छ।
मडर्नाका प्रमुख कार्यकारी अधिकृत बान्सेलले यो खोप अन्तिम संस्करण नभएको र आगामी दिनमा यसको अझ उन्नत संस्करण विकास हुने विश्वास व्यक्त गरेका छन्।









