२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवार र समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

क्यानले शनिबार जारी गरेको विज्ञप्तिमार्फत विपद्बाट प्रभावित नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको हो।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै क्यानले विपद्को समयमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि सदैव प्रतिबद्ध रहने जनाएको छ।

साथै, प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन क्यानले सम्बन्धित सबै पक्षलाई सहकार्य र सहयोगका लागि आह्वान गरेको छ।

काठमाडौँ । गत वर्षको बाढी तथा भदौको आन्दोलनबाट प्रभावित निर्जीवन बीमा कम्पनीहरूले फेरि ठूलो आर्थिक दायित्व व्यहोर्नुपर्ने देखिएको छ। रसुवामा हालै आएको विनाशकारी बाढीले पूर्वाधार, सम्पत्ति तथा उत्पादन क्षेत्रमा व्यापक क्षति पुर्‍याएपछि बीमा क्षेत्रमा अहिलेसम्मकै ठूलो दाबी पर्ने अनुमान गरिएको छ।

विगतका विपद्को तुलनामा यसपटक बीमा गरिएका संरचना तथा सम्पत्तिमा ठूलो क्षति पुगेकाले निर्जीवन बीमा कम्पनीमाथि दाबी भुक्तानीको वित्तीय दबाब बढ्ने देखिएको हो।

बाढीले रसुवामा सयौँ सवारीसाधन, आयातित सामग्री, निजी घर, बैंकका शाखा कार्यालय तथा कन्टेनरमा क्षति पुर्‍याएको छ। सञ्चालनमा रहेका १२ तथा निर्माणाधीन १५ गरी कुल २७ वटा जलविद्युत् आयोजनामा समेत गम्भीर क्षति पुगेको छ। ती आयोजनाको कुल क्षमता करिब ९०० मेगावाट रहेको बताइएको छ।

भन्सार यार्डमा राखिएका तथा सडकमा गुडिरहेका सयौँ सवारीसाधनसमेत बाढीको चपेटामा परेका छन्। विगतमा भूकम्प तथा जेनजी आन्दोलनका क्रममा क्षति पुगेका धेरैजसो सरकारी वा व्यक्तिगत सम्पत्तिको बीमा नभएकाले बीमा कम्पनीहरूको दायित्व तुलनात्मक रूपमा कम थियो।

तर रसुवा र नुवाकोटमा यसपटक क्षति पुगेका अधिकांश संरचना तथा सम्पत्ति बीमित रहेकाले दाबी भुक्तानीको चाप उल्लेख्य रूपमा बढ्ने सम्बन्धित क्षेत्रका अधिकारीहरूको भनाइ छ।

क्षतिको पूर्ण विवरण आउन बाँकी

बाढीबाट भएको क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने देखिएको छ। विशेषगरी जलविद्युत् आयोजनामा पुगेको वास्तविक क्षति तथा बैंकका शाखामा रहेका नगद, सुनलगायत बहुमूल्य सम्पत्तिको क्षतिको यकिन विवरण आउन बाँकी छ।

बाढी प्रभावित क्षेत्रमा पुगेर क्षतिको वास्तविक मूल्याङ्कन गर्नु बीमा कम्पनीहरूका लागि अर्को चुनौती बनेको छ। कम्पनीपिच्छे जोखिम बहन गर्ने क्षमता फरक हुने भएकाले सम्भावित ठूलो दाबी व्यवस्थापनका लागि उनीहरूले छुट्टै रणनीति बनाउनुपर्ने अवस्था आएको छ।

पुनर्बीमा कम्पनीमा जानेछ ठूलो जोखिम

जलविद्युत् आयोजनाको जोखिम नेपाली बीमा कम्पनीहरूले ठूलो मात्रामा आफैँ धारण नगर्ने भएकाले दाबीको उल्लेख्य हिस्सा पुनर्बीमा कम्पनीतर्फ जाने देखिएको छ।

तर बीमा क्षेत्रमा दक्ष जनशक्तिको सीमितताका कारण क्षतिको विवरण संकलन, सर्वेक्षण तथा दाबी मूल्याङ्कनमा समय लाग्न सक्ने देखिएको छ। यसले बीमितले दाबी भुक्तानी पाउने प्रक्रियामा समेत केही ढिलाइ हुन सक्ने जोखिम बढाएको छ।

यसपटकको विपद्बाट बीमा कम्पनीहरूले व्यहोर्नुपर्ने वास्तविक दायित्व भने क्षतिको विस्तृत मूल्याङ्कन र दाबी प्रक्रिया अघि बढेपछि मात्रै स्पष्ट हुनेछ।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्राकृतिक विपद्पछिको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोग माग गरेको बताउनुभएको छ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले विशेषगरी फरेन्सिक क्षमता अभिवृद्धि तथा विकट क्षेत्रमा राहत सामग्री पुर्‍याउन आधुनिक प्रविधिको आवश्यकता देखिएको बताउनुभयो।

उहाँका अनुसार रसुवालगायतका जिल्लामा पहिचान हुन नसकेका शवहरूको सनाखत गर्न नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त छैन। त्यसका लागि डीएनए परीक्षण तथा रिपोर्टिङमा सहयोग गर्न विदेशी सरकारहरूसँग आग्रह गरिएको उहाँले जानकारी दिनुभयो।

बाढी र पहिरोका कारण ४० भन्दा बढी पुल तथा सडक सञ्जालमा क्षति पुगेपछि राहत सामग्री ढुवानीमा समेत गम्भीर चुनौती देखिएको मन्त्री खनालले बताउनुभयो। विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै उहाँले पुनर्निर्माण तथा पुनःस्थापनामा अर्बौँ डलर खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो।

हालसम्मको प्रारम्भिक तथ्याङ्कअनुसार करिब १५ हजार निजी घर र ४२ वटा पुलमा क्षति पुगेको छ। यद्यपि, ‘हानी तथा नोक्सानी’ को विस्तृत अध्ययन सम्पन्न भएपछि मात्रै क्षतिको यकिन विवरण सार्वजनिक हुने उहाँले स्पष्ट पार्नुभयो।

विदेशी टोली तथा निजी हेलिकप्टर परिचालनका विषयमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले विपद्का बेला हुने सबै उडानलाई ‘एकीकृत कमाण्ड’ मार्फत सञ्चालन गरिएको बताउनुभयो।

भौगोलिक जटिलता र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नागरिक उड्डयन प्राधिकरण तथा सुरक्षा निकायको समन्वयमा विदेशी नागरिक र उद्धार टोलीलाई अनुमति दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो।

मन्त्री खनालले दुर्गम क्षेत्रमा औषधि तथा खाद्यान्न पुर्‍याउन ठूलो तौल बोक्न सक्ने ‘हेभी लोड लिफ्ट’ ड्रोनको सहयोग माग गरिएको पनि बताउनुभयो।

उहाँले भन्नुभयो, “दुर्गम क्षेत्रमा औषधि र खाद्यान्न पुर्‍याउन हामीले ठूलो तौल बोक्न सक्ने (हेभी लोड लिफ्ट) ड्रोनहरूको सहयोग माग गरेका छौँ। स्थलगत टोली र सुरक्षा निकायको सुझावका आधारमा हामीले विशिष्ट प्रकारका सहयोगका लागि वैदेशिक नियोगहरूसँग समन्वय गरिरहेका छौँ।”

सरकारको तत्कालीन प्राथमिकता उद्धार रहेको र त्यसपछि राहत तथा पुनर्निर्माणको चरणमा प्रवेश गर्ने मन्त्री खनालले बताउनुभयो।

२०७२ सालको भूकम्पपछिको अनुभव तथा संस्थागत स्मृतिलाई उपयोग गर्दै विपद्बाट प्रभावित परिवारलाई आवासलगायत आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उहाँले दोहोर्‍याउनुभयो।

काठमाडौं । क्यान्सर उपचारको क्षेत्रमा ठूलो सफलता हात परेको छ। मडर्ना र मर्क कम्पनीले संयुक्त रूपमा विकास गरिरहेको व्यक्तिगतकृत एमआरएनए क्यान्सर खोपले मेलानोमा अर्थात् छालाको क्यान्सरसम्बन्धी अन्तिम चरणको क्लिनिकल परीक्षणमा आफ्नो मुख्य लक्ष्य पूरा गरेको छ।

एक हजारभन्दा बढी प्रारम्भिक चरणका मेलानोमा बिरामीमा गरिएको परीक्षणमा खोपले शल्यक्रियापछि क्यान्सर पुनः देखा पर्ने तथा शरीरका अन्य भागमा फैलिने जोखिम घटाउन सफल भएको प्रारम्भिक नतिजाले देखाएको छ।

यो खोप प्रत्येक बिरामीको ट्युमरमा देखिएका विशिष्ट आनुवंशिक उत्परिवर्तन पहिचान गरी त्यसअनुसार तयार गरिन्छ। एमआरएनए प्रविधिमार्फत बिरामीको क्यान्सरका विभिन्न लक्षहरू प्रतिरक्षा प्रणालीलाई ‘चिनाउने’ र क्यान्सर कोषविरुद्ध आक्रमण गर्न टी–कोषलाई प्रशिक्षित गर्ने यसको मुख्य उद्देश्य हो।

मडर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफेन बान्सेलले परीक्षणको सकारात्मक नतिजाको खबरलाई कम्पनीका लागि कोभिड–१९ खोपको सफल परीक्षणको समयजस्तै महत्वपूर्ण क्षण भएको बताएका छन्।

मडर्ना र मर्कले सन् २०१६ देखि क्यान्सर खोप विकासमा सहकार्य गर्दै आएका छन्। यस परियोजनामा मर्कले प्रारम्भिक चरणमा २० करोड अमेरिकी डलर तथा सन् २०२२ मा थप २५ करोड डलर लगानी गरेको थियो। परियोजनाको लागत र मुनाफा दुवै कम्पनीले बराबरी रूपमा बाँड्ने सहमति गरेका छन्।

यो खोपलाई मर्कको चर्चित क्यान्सर औषधि ‘कीट्रुडा’सँग संयोजन गरिएको छ। कीट्रुडाले शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोषविरुद्ध सक्रिय हुन सहयोग गर्छ भने नयाँ एमआरएनए खोपले बिरामीको ट्युमरका विशिष्ट लक्ष्यहरू प्रतिरक्षा प्रणालीलाई पहिचान गराउने काम गर्छ।

कम्पनीहरूले मेलानोमा क्यान्सरलाई प्रारम्भिक परीक्षणका लागि छनोट गर्नुको मुख्य कारण यसमा अन्य धेरै क्यान्सरको तुलनामा आनुवंशिक उत्परिवर्तनको संख्या बढी हुनु र प्रतिरक्षा उपचारमा यसको तुलनात्मक रूपमा राम्रो प्रतिक्रिया देखिनु हो।

वैज्ञानिकहरूका अनुसार पुराना क्यान्सर खोपहरूले सीमित संख्याका ट्युमर उत्परिवर्तनलाई मात्र लक्षित गर्ने प्रयास गरेका थिए। नयाँ प्रविधिले भने एउटै बिरामीका दर्जनौं विशिष्ट क्यान्सर लक्ष्यलाई एकैपटक लक्षित गर्न सक्ने भएकाले उपचार प्रभावकारी हुने सम्भावना बढेको छ।

यद्यपि, परीक्षणको विस्तृत तथ्यांक अझै सार्वजनिक हुन बाँकी छ। नियामक स्वीकृति प्राप्त भएपछि मात्रै यो खोप व्यापक रूपमा प्रयोगमा आउनेछ। कम्पनीहरूले आगामी चरणमा फोक्सो, मिर्गौला र प्यान्क्रियाजका क्यान्सरमा समेत यही प्रविधि प्रभावकारी हुन्छ कि हुँदैन भन्ने परीक्षण गर्ने तयारी गरेका छन्।

क्यान्सरविरुद्धको उपचारमा व्यक्तिगतकृत एमआरएनए प्रविधिले सफलता पाएमा बिरामीको आफ्नै क्यान्सरको आनुवंशिक विशेषताअनुसार उपचार विकास गर्ने नयाँ युग सुरु हुन सक्ने वैज्ञानिकहरूको अपेक्षा छ।

मडर्नाका प्रमुख कार्यकारी अधिकृत बान्सेलले यो खोप अन्तिम संस्करण नभएको र आगामी दिनमा यसको अझ उन्नत संस्करण विकास हुने विश्वास व्यक्त गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।