काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा सवा ८६ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्।

हालै प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार १४ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा कुल ८६ अर्ब ३० करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी कम्पनीहरूले ७८ अर्ब ७२ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए। यसअनुसार समीक्षा वर्षमा जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी ९.६४ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ९ वटा कम्पनीको दाबी भुक्तानी बढेको छ भने ५ वटा कम्पनीको घटेको छ। रकमका आधारमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने कम्पनी नेपाल लाइफ रहेको छ भने वृद्धिदरका आधारमा नेसनल लाइफ अगाडि रहेको छ।
नेपाल लाइफले गत आर्थिक वर्षमा २१ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १९ अर्ब १९ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको थियो। यसरी कम्पनीको दाबी भुक्तानी १२.४१ प्रतिशतले बढेको हो।
त्यस्तै, नेसनल लाइफले १३ अर्ब ९६ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष ११ अर्ब ७ करोड १२ लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीको दाबी भुक्तानी समीक्षा वर्षमा २६.१५ प्रतिशतले बढेको हो। यो वृद्धि जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा उच्च हो।
तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)ले गत आर्थिक वर्षमा १३ अर्ब ६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले १२ अर्ब ५९ करोड २ लाख रुपैयाँ भुक्तानी गरेको थियो। समीक्षा वर्षमा कम्पनीको दाबी भुक्तानी ३.७६ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा नेपाल लाइफ, नेसनल लाइफ, एलआईसी नेपालसँगै राष्ट्रिय जीवन बीमा कम्पनी, हिमालयन लाइफ, मेटलाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र आईएमई लाइफको दाबी भुक्तानी बढेको छ।
यसैगरी एसियन लाइफ, सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ, सन नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफको दाबी भुक्तानी भने अघिल्लो वर्षको तुलनामा घटेको छ।

गत आर्थिक वर्षमा सबैभन्दा कम दाबी भुक्तानी गर्ने कम्पनी प्रभु महालक्ष्मी लाइफ रहेको छ। कम्पनीले १ अर्ब ५ करोड १० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.६६ प्रतिशतले कम हो।
यसरी हेर्दा जीवन बीमा कम्पनीहरूको कुल दाबी भुक्तानीमा उल्लेख्य वृद्धि भएको देखिए पनि कम्पनीअनुसार दाबी भुक्तानीको वृद्धिदरमा भने फरक देखिएको छ।










