काठमाडौँ। वित्तीय विवरणहरूमा वाणिज्य बैंकहरूको नाफा सन्तोषजनक देखिए पनि त्यसको भित्री चित्र भने गम्भीर संकटतर्फ ढल्किएको छ। विगत केही वर्षयता सुस्ताएको देशको समग्र अर्थतन्त्र, खुम्चिएको व्यापार-व्यवसाय र बजारमा माग घट्दा बैंकहरूको लगानी (साँवा-ब्याज) समयमै उठ्न छाडेको छ।

व्यापार बढेपछि ऋण तिरौँला भनेर बसेका ऋणीहरू किस्ता तिर्न नसक्ने अवस्थामा पुगेका छन्। अर्कोतर्फ, बैंकहरूले उठाएको धितो लिलामी गर्दा समेत खरिदकर्ता नभेटिँदा ती सम्पत्तिहरू अचल बनेका छन्। बैंकका भल्टमा पैसा थुप्रिए पनि सुरक्षित लगानीको वातावरण नहुँदा तरलता बोझ बनेको छ भने नयाँ कर्जाको माग ठप्प छ।
औसत निष्कृय कर्जा ५.४४ प्रतिशत पुग्यो
विगतमा १ देखि २ प्रतिशतको सुरक्षित घेराभित्र रहने वाणिज्य बैंकहरूको औसत निष्कृय कर्जा (NPL) अहिले ५.४४ प्रतिशतको जोखिमपूर्ण विन्दुमा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा औसत ४.६० प्रतिशत थियो।
२० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को विवरणअनुसार अधिकांश बैंकको खराब कर्जा बढेको छ।
कुन बैंकको खराब कर्जा (NPL) कति?
अत्यधिक जोखिम (दोहोरो अङ्क नजिक र माथि):
प्रभु बैंक: १५.५५% (सबैभन्दा बढी, अघिल्लो वर्ष ७.०१%)

एनआईसी एशिया बैंक: ९.२६%
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: ८.६६%
हिमालयन बैंक: ७.९६%
कुमारी बैंक: ७.४६%
औसतभन्दा माथि रहेका बैंकहरू:
प्राइम कमर्सियल बैंक: ६.६९%
सिटिजन्स बैंक: ५.८८%
औसतको हाराहारी र नियन्त्रण उन्मुख:
लक्ष्मी सनराइज बैंक: ५.२३%
ग्लोबल आईएमई बैंक: ४.९६%
एनएमबी बैंक: ४.८९%
नबिल बैंक: ४.२०% (घटेको)
नेपाल बैंक: ४.१८% (घटेको)
कृषि विकास बैंक: ४.०७%
सापेक्षिक रूपमा सुरक्षित बैंकहरू:
माछापुच्छ्रे बैंक: ३.९८%
राष्ट्रिय वाणिज्य बैंक: ३.९५%
सिद्धार्थ बैंक: ३.५३%
नेपाल एसबीआई बैंक: २.९२% (घटेको)
सानिमा बैंक: २.८७% (घटेको)
स्ट्यान्डर्ड चार्टर्ड बैंक: २.०३%
एभरेस्ट बैंक: ०.४९% (सबैभन्दा कम र सुरक्षित)
सम्पत्तिको गुणस्तर घट्दो
केही बैंकहरूले खराब कर्जा घटाउन सफल भए पनि अधिकांश बैंकमा खराब कर्जा दोहोरो अङ्कको नजिक वा सोभन्दा माथि पुग्नुले निष्कृय कर्जा व्यवस्थापनमा गम्भीर चुनौती थपेको छ। कागजी रूपमा नाफा देखिए पनि धितो बिक्री नहुनु र कर्जा असुली नहुनुले बैंकहरूको वास्तविक सम्पत्तिको गुणस्तर द्रुत गतिमा खस्कँदै गएको प्रस्ट पार्छ।










