काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिपमा ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्यताका साथ सम्पन्न गरेको छ। कम्पनीको क्लब योजनाअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने बीमा सल्लाहकारहरूलाई सम्मान तथा प्रोत्साहन गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडियाले देशैभरिबाट सहभागी सफल बीमा सल्लाहकारहरूलाई स्वागत गर्दै व्यवसाय विस्तारमा उनीहरूको योगदानको प्रशंसा गरे। यस्तै, प्रमुख कार्यकारी अधिकृत (CEO) शिवनाथ पाण्डेले बीमा सल्लाहकारहरू कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै यस्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। डेपुटी CEO निराजन कँडेलले जीवन बीमा क्षेत्रमा टिमवर्कको महत्वमाथि प्रकाश पारेका थिए।
आर्थिक वर्ष २०८२/८३ को योजनाअन्तर्गत गोधूली, पृथ्वी, अग्नि, आकाश, ग्यालेक्सी र कस्मस क्लबको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूका साथै व्यक्तिगत र टिम व्यवसायमा देशभरबाट उत्कृष्ट तीनभित्र पर्न सफल अभिकर्ताहरूलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो।
सन् २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी र हास्यकलाकार सुन्दर खनालको मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो।
हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा कार्यालयहरू र १७ हजारभन्दा बढी सक्रिय अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको चुक्ता पुँजी रु ५ अर्ब र कुल लगानी रु २७ अर्बभन्दा बढी रहेको छ।











