काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नाफा घटे पनि बीमा व्यवसाय र जीवन बीमा कोषको आकार भने बढेको छ।
कम्पनीले गत आर्थिक वर्षमा ३१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा समीक्षा अवधिमा कम्पनीको नाफा ४१.९० प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोष ८९ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ७६ अर्ब ९४ करोड १५ लाख रुपैयाँ रहेको जीवन बीमा कोष १६.२१ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, कम्पनीले समीक्षा अवधिमा १८ अर्ब ६९ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको १७ अर्ब ६६ करोड ८ लाख रुपैयाँको तुलनामा कुल बीमाशुल्क आर्जन ५.८४ प्रतिशतले बढेको हो।
कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ६.१७ प्रतिशतले बढेर १८ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष खुद बीमाशुल्क आर्जन १७ अर्ब २६ करोड रुपैयाँ थियो।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ४७ करोड २२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड ६४ लाख रुपैयाँ रहेको छ। कम्पनीको अन्य इक्विटी भने २ अर्ब १३ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
हिमालयन लाइफको चुक्ता शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३.४८ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको ५.९८ रुपैयाँको तुलनामा घटेको हो।
कम्पनीको पीई रेसियो ९२.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३.३१ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।












