











नवलपुर, सिन्धुपाल्चोक — नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तहका विद्यार्थीहरूबीच पालिकास्तरीय डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। शनिबार (२०८३ साउन ३० गते) नवलपुरमा आयोजित उक्त प्रतियोगितामा इन्द्रावती गाउँपालिकाभित्र सञ्चालित कक्षा ९ र १० का सबै १२ वटा माध्यमिक विद्यालयका टोलीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
प्रविधिमैत्री वातावरणमा सम्पन्न तीव्र प्रतिस्पर्धाका बीच नवलपुर माध्यमिक विद्यालयले ८५ अंक ल्याएर प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी, ऐसेलुखर्क माध्यमिक विद्यालयले ८० अंक प्राप्त गर्दै द्वितीय र राजेश्वरी माध्यमिक विद्यालयले ६५ अंकसहित तृतीय स्थान हासिल गरेका छन्।
विद्यार्थीहरूको ज्ञान, सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमतालाई डिजिटल प्रविधिसँग जोडेर अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका सहभागी तथा विजेता विद्यालयहरूलाई आयोजकका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रावती गाउँपालिका समितिका अध्यक्ष विष्णुबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। सो समारोहमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल प्रमुख अतिथि तथा संगठनका वागमती प्रदेश समिति सदस्य शारदाप्रसाद सापकोटा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
काठमाडौँ — सुस्त आर्थिक गतिविधि र बजारको उतारचढावका बीच गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका वाणिज्य बैंकहरूले उल्लेख्य वित्तीय सुधार गरेका छन्। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको अपरिष्कृत वित्तीय विवरण अनुसार समग्र बैंकिङ क्षेत्रको नाफा अघिल्लो वर्षको तुलनामा ३२.२७ प्रतिशत (रु १७ अर्ब ४ करोड ८५ लाख) ले बढेर रु ६९ अर्ब ८६ करोड ६० लाख पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूको कुल खुद नाफा रु ५२ अर्ब ८१ करोड ७५ लाखमा सीमित थियो।असार महिनामा उपत्यका लगायत सहरी क्षेत्रमा बढेको घरजग्गा कारोबार, राष्ट्र बैंकले ब्याज असुलीका लागि दिएको अतिरिक्त १५ दिनको सुविधा र खराब ऋण व्यवस्थापनका प्रयासहरूले बैंकिङ क्षेत्रलाई लयमा फर्काउन मद्दत पुर्याएका हुन्।खुद नाफा र वृद्धिदरको प्रमुख परिदृश्यउच्च नाफा कमाउने शीर्ष बैंकहरूनबिल बैंक: रु ७ अर्ब ९० करोड ५७ लाख खुद नाफा कमाउँदै नबिल बैंक उद्योगमै सबैभन्दा अगाडि रहेको छ। नाफा अघिल्लो वर्षभन्दा ३३.५०% ले बढेको छ।कुमारी बैंक: ३०५.९५% को उच्च वृद्धि दरका साथ रु ७ अर्ब ३८ करोड ७१ लाख नाफा कमाउँदै कुमारी बैंकले नबिललाई कडा टक्कर दिएको छ।आक्रामक वृद्धिदर (कमब्याक)हिमालयन बैंक: अघिल्लो वर्ष सामान्य नाफामा खुम्चिएको हिमालयन बैंकले १,०४१% को कीर्तिमानी वृद्धि हासिल गर्दै नाफा रु १ अर्ब ४८ करोड ३ लाख पुर्याएको छ।एनआईसी एशिया बैंक: अघिल्लो वर्ष रु पौने चार अर्ब नोक्सानीमा रहेको एनआईसी एशियाले गत वर्ष रु १८ करोड १७ लाख नाफा कमाउँदै घाटाको खाडलबाट बाहिर निस्कन सफल भएको छ।अन्य उल्लेख्य नाफा वृद्धि गर्ने बैंकहरूसिटिजन्स बैंक: ६३.०५% वृद्धिराष्ट्रिय वाणिज्य बैंक: ६०.६८% वृद्धिनेपाल बैंक: ४६.२०% वृद्धिएनएमबी, सानिमा, प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंक: मजबुत उपस्थिति कायम।केही ठूला बैंकहरूलाई चुनौती र प्रभु बैंक घाटामानाफाको समग्र आँकडा उत्साहजनक भए पनि केही ठूला बैंकहरूको कार्यसम्पादन भने चुनौतीपूर्ण देखिएको छ:बैंकको नामनाफामा आएको परिवर्तन (%) / स्थितिस्ट्याण्डर्ड चार्टर्ड बैंक५.३८% ले नाफा घट्योलक्ष्मी सनराइज बैंक२३.२६% ले नाफा घट्योकृषि विकास बैंक२९.५१% ले नाफा घट्योनेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB)३६.५८% ले नाफा घट्योप्रभु बैंकरु २४ करोड १२ लाख ४३ हजार खुद घाटासमग्रमा, गत आर्थिक वर्षको नतिजाले नेपाली वित्तीय क्षेत्र बिस्तारै पुरानै लयमा फर्कन थालेको सङ्केत गर्छ। यद्यपि, केही बैंकहरूमा देखिएको नाफाको संकुचन र प्रभु बैंकको घाटाले आगामी दिनमा जोखिम व्यवस्थापन र रणनीतिक सुधारको आवश्यकतालाई उजागर गरेको छ।
त्रिशूली । नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा दुई तीर्थयात्रीको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।
दुप्चेश्वर महादेवको दर्शनका लागि तीर्थयात्री लिएर आएको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस सडक छेउमा रोकिएका बेला आफैँ गुडेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको हो। घाइते अवस्थामा उद्धार गरी काठमाडौं पठाइएका उनीहरूको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ की २५ वर्षीया सुजता पोखरेल, काभ्रेको बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ की ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्। उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक बिनोद ढकालका अनुसार बस रोकिएपछि चालक र यात्रुहरू खाजा खान गएको समयमा बस आफैँ गुडेको थियो। अनियन्त्रित बसले अगाडि रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको विद्युतीय भ्यानलाई समेत ठक्कर दिएको थियो।
ठक्करपछि बस र भ्यान सडकबाट करिब ५० मिटर तल पुगेका थिए। दुर्घटनापछि बस चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का सीताराम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ।
शनिबार आयोजित संस्थापनइतर राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले उक्त भेला नयाँ पार्टी गठनका लागि आयोजना नगरिएको बताउनुभयो। समयअनुसार पार्टी र विचारलाई परिमार्जन गर्दै लैजान यस्ता भेला आवश्यक रहेको उहाँको भनाइ छ।
आफू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको स्पष्ट पार्दै कोइरालाले अदालतको निर्णय विपक्षमा आए पनि सबै पक्षबीच छलफल गरेर पार्टीको आगामी नीति तय गरिने बताउनुभयो।
उहाँले नेपाली कांग्रेसको आगामी महाधिवेशन सभापति शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गर्नुभयो। परिस्थिति अपेक्षाअनुसार अघि नबढे सम्बन्धित पक्षसँग थप छलफल गरेर आवश्यक निर्णय लिइने उहाँले बताउनुभयो।
वर्तमान सरकारप्रति टिप्पणी गर्दै नेता कोइरालाले बहुमत हुँदाहुँदै पनि सरकारले ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले वर्तमान सरकारलाई सामान्य ‘कामचलाउ’ सरकारको संज्ञा दिनुभयो।
कोइरालाले वर्तमान सरकार पाँच वर्ष टिक्ने वा बीचमै मध्यावधि निर्वाचनमा जाने सम्भावनालाई समेत राजनीतिमा नकार्न नसकिने बताउनुभयो।
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको भेलामा पार्टीका सबै तहका समितिदेखि महाधिवेशन प्रतिनिधिसम्म कम्तीमा एक तिहाइ महिला र कम्तीमा एक चौथाइ ३० वर्षमुनिका युवाको प्रतिनिधित्व अनिवार्य गर्न प्रस्ताव गरिएको छ।
साङ्गठनिक समितिका संयोजक उमाकान्त चौधरीले पार्टी पुनर्संरचना तथा विधान परिमार्जनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै कांग्रेसलाई युवा र समावेशी चरित्रको पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन्।
प्रस्तावमा कोटा नपुगे सम्बन्धित समिति वा प्रतिनिधित्वको सूचीले वैधता नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ। पार्टीका आन्तरिक निर्वाचनमा केन्द्रका नेताहरूको प्रत्यक्ष प्रभावमा संस्थापन र इतर पक्षका प्यानल घोषणा गरी चुनाव लड्ने प्रवृत्तिले कार्यकर्ताबीच मनमुटाव बढाएको भन्दै यस्तो अभ्यासलाई निरुत्साहित गर्नुपर्ने प्रस्ताव गरिएको छ।
महाधिवेशन प्रतिनिधि बन्न लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्थाका कारण आर्थिक रूपमा कमजोर तर निष्ठावान् कार्यकर्ता पछाडि परेको उल्लेख गर्दै आन्तरिक निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्नेमा जोड दिइएको छ।
प्रस्तावमा महाधिवेशन तथा महासमिति सदस्यको चयन सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण खुला सदस्यको प्रत्यक्ष मतदान र पूर्ण समावेशी पद्धतिबाट गर्नुपर्ने उल्लेख छ।
त्यस्तै, वडा तहका सभापतिका लागि कम्तीमा पाँच वर्ष, अन्य तहका सभापतिका लागि १० वर्ष र केन्द्रीय सभापतिको उम्मेदवार बन्न कम्तीमा १५ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ।
कांग्रेसको टिकट वितरण प्रणालीमा समेत व्यापक सुधार आवश्यक रहेको प्रस्तावमा उल्लेख छ। सीमित शीर्ष नेताहरू सम्मिलित केन्द्रीय संसदीय बोर्डमा उम्मेदवार छनोटको अधिकार केन्द्रित हुँदा तल्लो तहको सिफारिस र जनभावनाविपरीत टिकट वितरण हुने गरेको आरोप लगाइएको छ।
हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको प्रमुख कारणमध्ये केन्द्रीकृत र अपारदर्शी टिकट वितरण प्रणाली पनि रहेको प्रस्तावमा दाबी गरिएको छ।
उम्मेदवार छनोटका लागि ५० प्रतिशत प्राइमरी इलेक्सन र ५० प्रतिशत आन्तरिक मूल्याङ्कनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। स्थानीय तह, प्रदेश तथा संघीय संसद्का उम्मेदवार चयन गर्दा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यबीच गोप्य मतदान गराउने प्रणाली विकास गर्नुपर्ने उल्लेख छ।
प्रारम्भिक निर्वाचन तथा आन्तरिक मूल्याङ्कन समितिको सिफारिसका आधारमा केन्द्रीय संसदीय बोर्डले उम्मेदवार अनुमोदन गर्ने व्यवस्था लागू गर्नुपर्ने प्रस्तावमा भनिएको छ।
प्रस्तावले पार्टीको आन्तरिक लोकतन्त्र, समावेशिता र संगठनात्मक सुधारलाई प्राथमिकतामा राख्दै कांग्रेसलाई पुनः बलियो र विधिसम्मत पार्टीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएको छ। कांग्रेस आफैँभित्र कमजोर र अलमलमा परे लोकतन्त्र तथा संविधानसमेत संकटमा पर्न सक्ने चेतावनीसमेत प्रस्तावमा दिइएको छ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ।
चीनको ग्वाङ्झाउ सहरमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्री वाग्लेले सरकारले नेपालमा लगानीको वातावरण निर्माण गरिरहेको बताउनुभयो।
उहाँले देशमै रोजगारी सिर्जना गर्ने तथा लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत सुधारलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो। विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने रणनीति कार्यान्वयन भइरहेको उहाँको भनाइ छ।
मन्त्री वाग्लेले प्रवासी नेपालीलाई पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो।
“प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्,” उहाँले भन्नुभयो, “सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको छ।”
सरकारले बजेटमार्फत २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीको वातावरण सुधार गर्न काम गरिरहेको मन्त्री वाग्लेले बताउनुभयो। सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ।
सरकारको आम्दानी बढाउन कर प्रणालीमा समेत सुधार गरिएको उल्लेख गर्दै मन्त्री वाग्लेले बजेटमार्फत आर्थिक नीतिमा नयाँ दिशातर्फ अघि बढ्ने प्रयास गरिएको बताउनुभयो। उहाँले पहिलो वर्ष सुधारको सुरुआत भएको र आगामी दिनमा त्यसको परिणाम देखिँदै जाने दाबी गर्नुभयो।
काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास वितरण सुरु गरेको छ।
नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि विभिन्न ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो। टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास बिक्री भइरहेको छ।
निगमका अनुसार बिक्री केन्द्रअनुसार फरक–फरक ब्रान्डका ग्यास उपलब्ध गराइएको छ। ग्यास लिन बिहानैदेखि तोकिएका केन्द्रहरूमा उपभोक्ताको ठूलो भीड लागेको छ। बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता पुगेको निगमका कर्मचारी भीमप्रसाद पौडेलले जानकारी दिएका छन्।
निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने व्यवस्था मिलाएको छ। बबरमहल केन्द्रबाट काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। सो केन्द्रमा करिब १० प्रकारका ग्यास सिलिन्डर उपलब्ध रहेको पौडेलले बताए।
ग्यास अभावको अवस्थालाई सहज बनाउन निगमले ग्यास डिपोसँग समन्वय गरी वितरण व्यवस्थापन गरिरहेको जनाएको छ। साथै, ग्यासको कालोबजारी, लुकाउने तथा अनावश्यक भण्डारण गर्ने कार्यविरुद्ध अनुगमनसमेत तीव्र पारिएको छ।
यद्यपि, तोकिएका स्थानबाट वितरण सुरु भए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। बबरमहलमा लामो समय लाइन बसेर पालो आएपछि पनि वितरण केन्द्रमै ग्यास सकिँदा उपभोक्ताहरू थप समय कुरेर बस्न बाध्य भएका छन्। ग्यास आउने आशामा दिनभर लाइनमै बस्नुपरेको उनीहरूको गुनासो छ।
निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको समय र स्थानमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ।
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नाफा घटे पनि बीमा व्यवसाय र जीवन बीमा कोषको आकार भने बढेको छ।
कम्पनीले गत आर्थिक वर्षमा ३१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा समीक्षा अवधिमा कम्पनीको नाफा ४१.९० प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोष ८९ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ७६ अर्ब ९४ करोड १५ लाख रुपैयाँ रहेको जीवन बीमा कोष १६.२१ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, कम्पनीले समीक्षा अवधिमा १८ अर्ब ६९ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको १७ अर्ब ६६ करोड ८ लाख रुपैयाँको तुलनामा कुल बीमाशुल्क आर्जन ५.८४ प्रतिशतले बढेको हो।
कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ६.१७ प्रतिशतले बढेर १८ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष खुद बीमाशुल्क आर्जन १७ अर्ब २६ करोड रुपैयाँ थियो।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ४७ करोड २२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड ६४ लाख रुपैयाँ रहेको छ। कम्पनीको अन्य इक्विटी भने २ अर्ब १३ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
हिमालयन लाइफको चुक्ता शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३.४८ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको ५.९८ रुपैयाँको तुलनामा घटेको हो।
कम्पनीको पीई रेसियो ९२.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३.३१ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
काठमाडौँ।
नेपाली कांग्रेसले बदलिँदो राजनीतिक, आर्थिक तथा प्रविधिगत परिवेशलाई ध्यानमा राख्दै आफ्नो परम्परागत आर्थिक तथा सामाजिक नीतिमा व्यापक परिमार्जन गर्ने प्रस्ताव अघि सारेको छ। काठमाडौँमा आयोजित पार्टीको इतर पक्षको राष्ट्रिय भेलामा पूर्वअर्थमन्त्री एवं नेता डा. प्रकाशशरण महतले ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ नामक प्रस्ताव प्रस्तुत गर्दै उक्त अवधारणा अघि सार्नुभएको हो।
प्रस्ताव प्रस्तुत गर्दै नेता डा. महतले बीपी कोइरालाद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादको मूल मर्मलाई कायम राख्दै नीतिहरूलाई समयसापेक्ष, व्यावहारिक र गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो।
निजी क्षेत्रलाई नेतृत्वदायी भूमिका, राज्य सहजकर्ता
कांग्रेसको नयाँ नीतिगत प्रस्तावमा समग्र अर्थतन्त्रको विकास र विस्तारमा निजी क्षेत्रलाई प्रमुख (नेतृत्वदायी) भूमिका दिने उल्लेख छ। सरकारलाई भने सहजकर्ता, उत्प्रेरक र नियामक भूमिकामा सीमित गरिनेछ। निजी क्षेत्रको पहुँच नपुग्ने, लगानी हुन नसक्ने वा सर्वसुलभ सेवा उपलब्ध गराउन कठिन हुने क्षेत्रमा मात्र राज्यले प्रत्यक्ष भूमिका निर्वाह गर्ने नीति लिइने दस्ताबेजमा समेटिएको छ।
युवा असन्तोष सम्बोधन र रोजगारी सिर्जना
युवा वर्गमा देखिएको असन्तोष र निराशाको मुख्य कारण रोजगारीको अभाव रहेको निष्कर्ष निकाल्दै कांग्रेसले स्वदेशमै गुणस्तरीय रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।
यसका लागि:
निजी क्षेत्रको लगानीमा बाधा पुर्याउने पुराना कानुनहरूमा सुधार गर्ने।
साना तथा नयाँ उद्यमीका लागि परियोजनामा आधारित कर्जा (Project-based loans) उपलब्ध गराउने।
व्यावसायिक कसुरमा आर्थिक वा वित्तीय जरिवानालाई प्राथमिकता दिने व्यवस्था गर्ने।
कृषि, ऊर्जा र सूचना प्रविधिमा नयाँ रणनीति
कृषि: किसानलाई प्रोत्साहन गर्न अनुदानको रकम सिधै उनीहरूको बैंक खातामा (Direct Benefit Transfer) पठाउने, आयातित कृषि उपजमा भन्सार दर बढाउने र बाँझो जमिनलाई लिजमा दिएर व्यावसायिक तथा कर्पोरेट कृषिलाई प्रवर्द्धन गर्ने।
ऊर्जा: जलाशययुक्त जलविद्युत् आयोजनाहरूमा वैदेशिक लगानी भित्र्याउने, आन्तरिक खपत बढाउने र भारत तथा बंगलादेशमा विद्युत् निर्यात गर्न आवश्यक प्रसारण लाइन निर्माणलाई तीव्रता दिने।
सूचना प्रविधि (IT): शिक्षित युवाका लागि प्रविधिलाई रोजगारीको मुख्य माध्यम बनाउने, कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग बढाउने र डाटा सुरक्षाका लागि कडा कानुनी ढाँचा तयार गर्ने।
पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार
पर्यटन क्षेत्रको विकासका लागि धार्मिक, साहसिक र ‘वेडिङ डेस्टिनेसन’ (Wedding Destination) का रूपमा नेपाललाई प्रवर्द्धन गर्ने प्रस्ताव गरिएको छ। साथै, नेपाल वायुसेवा निगमको सञ्चालनलाई प्रभावकारी बनाउन विदेशी वायुसेवा कम्पनीहरूसँग रणनीतिक साझेदारी गर्ने योजना अघि सारिएको छ।
शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन राज्यले विशेष दायित्व लिनुपर्ने निष्कर्ष निकाल्दै विद्यालयको शैक्षिक नतिजालाई शिक्षकको सेवा-सुविधासँग जोड्ने, खुला प्रतिस्पर्धाबाट शिक्षक चयन गर्ने र नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने नीति लिइने उल्लेख छ।
यसैगरी, वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्र स्वीकार गर्ने र गैरआवासीय नेपाली (NRN) हरूको ज्ञान, सीप र पुँजीलाई मुलुकको विकासमा परिचालन गर्ने नीति कांग्रेसले अघि सारेको छ।
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनी ११ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको थियो। यससँगै एक वर्षको अवधिमा कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ।
गत आर्थिक वर्षमा कम्पनीको स्पेसल रिजर्भ १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, महाविपत्ति कोष ८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ४ लाख ५५ हजार रुपैयाँ र अन्य इक्विटी ९१ करोड ३७ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, कम्पनीको बीमा कोषको आकार पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा वर्षमा बीमा कोष ७ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कोष २ अर्ब ८० करोड १९ लाख रुपैयाँ रहेकोमा १७७.२९ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष २ अर्ब ६० करोड १४ लाख रुपैयाँ रहेको कुल बीमाशुल्क समीक्षा अवधिमा ८.९१ प्रतिशतले बढेको हो।
त्यसैगरी, कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो रकम १ अर्ब २७ करोड ८३ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको खुद बीमाशुल्क आर्जन २४.७९ प्रतिशतले वृद्धि भएको देखिन्छ।
नाफामा भएको सुधार, बीमा कोषको उल्लेख्य वृद्धि तथा बीमाशुल्क आर्जनमा देखिएको बढोत्तरीले ओरिएन्टल इन्स्योरेन्सको समग्र वित्तीय अवस्थामा सुधार आएको देखाएको छ।



