नेपाली कांग्रेसको संस्थापन इतर समूहले असारभित्रै राष्ट्रिय भेला बोलाउने निष्कर्ष निकालेको छ। शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा बसेको बैठकले राष्ट्रिय भेला आयोजना गरी आगामी राजनीतिक रणनीति तय गर्ने निर्णय गरेको हो।

बैठकपछि नेता मीन विश्वकर्माले असार २२ गते महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने जानकारी दिए। उनका अनुसार अब १५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण तयारी र छलफल सोही सम्पर्क कार्यालयबाट सञ्चालन गरिनेछ।
बैठकमा संस्थापन पक्षसँग हालै भएका संवादबारे पनि समीक्षा गरिएको थियो। सहभागी नेताहरूले संस्थापन पक्षसँग भएको वार्ता अपेक्षाअनुसार सार्थक नभएको निष्कर्ष सुनाएका थिए। विश्वकर्माका अनुसार पार्टीभित्र एकता कायम गर्न संस्थापन पक्ष गम्भीर नदेखिएको साझा धारणा बनेपछि अबको राजनीतिक गन्तव्य राष्ट्रिय भेलामार्फत तय गर्ने सहमति भएको हो।
बैठकमा शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय डिना, रमेश लेखक, प्रकाशशरण महत, एनपी साउद, आनन्दप्रसाद ढुङ्गाना, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र श्याम घिमिरेलगायतको सहभागिता रहेको थियो।











